३२० सामुदायिक विद्यालयको नतिजा शून्य तर शिक्षकले राजनीति नछाड्ने

school nepalशिक्षकले धेरै राजनीति गरेका कारण एसएलसी परीक्षामा निकै कमजोर नतिजा आएको आरोप लागे पनि शिक्षकहरूले भने राजनीति गर्न नछाड्ने बताएका छन् । शिक्षकहरूले राजनीति पनि ट्रेड युनियन अधिकारभित्रै पर्ने दाबी गर्दै एसएलसी सुधारका नाममा प्रतिबन्ध लगाउन नपाइने बताएका हुन् ।
आइतबार शिक्षा पत्रकार सञ्जाल इजोनले गरेको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापाले शिक्षकहरूमा राजनीतिक अधिकार रहेको बताए । उनले भने, ‘ट्रेड युनियनको राजनीतिक अधिकारमा कर्मचारीतन्त्रले बाधा पुर्‍याउन खोजे मुद्दा हाल्न पनि सकिन्छ ।’
नेकपा–माओवादीनिकट अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष गुणराज लोहनीले पार्टीको झन्डा बोकेर नहिँडेको र शिक्षाको सुधारकै लागि लागिरहेको दावी गरे । एमाओवादीनिकट अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष रत्नबहादुर वलीले पुरानो शिक्षा प्रणालीले नतिजा खस्केको दाबी गर्दै शिक्षकलाई दोष दिएर राजनीतिमा लाग्नबाट वञ्चित गर्न नहुने बताए ।
शिक्षक युनियनका अध्यक्ष दिलबहादुर जोशीले मन्त्रालयको आचारसंहिता पालना गर्न तयार रहेको तर शिक्षकलाई राजनीतिमा बन्देज लगाउन हुँदैन भने ।
यस वर्षको एसएलसी परीक्षामा निकै कमजोर नतिजा आएपछि शिक्षा मन्त्रालयले सुधार गर्न मातहतका निकायलाई २३ बुँदे निर्देशन दिएको छ । निर्देशनअनुसार राजनीति पार्टीको झन्डा बोकेर हिँड्ने शिक्षकहरू जिल्ला शिक्षा कार्यालयको स्वीकृतिविना मनलागी कुनै पनि कार्यक्रममा जान पाउने छैनन् ।
यसपालीको एसएलसी परीक्षामा ३ सय २० सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ । शून्य नतिजा आउनेमा २५ निजी विद्यालय पनि छन् ।
पनिकाका उपनियन्त्रक प्रल्लाह अर्यालका अनुसार सामुदायिक विद्यालयका ७२ दशमलव ३ प्रतिशत विद्यार्थी फेल भएका छन् । सबैभन्दा बढी उदयपुरमा ३१ सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ ।
उपनियन्त्रक अर्यालका अनुसार काभ्रे, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला जुम्ला, बर्दिया, बझाङ, नवलवरासी, धादिङ, म्याग्दी र गोर्खा जिल्लाबाहेक सबै जिल्लाको विद्यालयको नजिता शून्य आएको छ । यी जिल्लामा कम विद्यार्थी र दुर्गम भएका कारण नजिता शून्य नआएको अर्यालले बताए । एउटा विद्यालय मात्र शून्य रहेको ९ जिल्ला रहेका छन् ।
चितवन, अर्धाखाँची, गुल्मी, तनहुँ, दाङ, कालिकोट, ललितपुर र रूपन्देही जिल्लामा एक सामुदायिक विद्यालयको मात्रै शून्य नतिजा आएको छ । केही विद्यालयको प्राविधिक कारणले पनि शून्य नतिजा आएको उनले बताए ।
‘प्रयोगात्मक विषयको नम्बर नपठाइदिँदा सबै फेल भएर कतिपय विद्यालयको नजिता शून्य आएको छ,’ अर्यालले भने, ‘नम्बर आएकाको हालिरहेका छौँ । केही विद्यालय घट्न सक्छन् ।’
खोटाङ र इलाम १४, पाँचथर र सल्यानका १३, रोल्पा ११ र धनुषामा १० सामुदायिक विद्यालयको नजिता शून्य आएको छ । ८६ दशमलव ६८ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सकेको निजी विद्यालयमा पनि २५ विद्यालयको नतिजा शून्य आएको छ । उपत्यकाका १० र बाहिरका १५ निजी विद्यालयको नजिता शून्य रहेको छ ।
शिक्षाविद् तीर्थ खनियाँले सामुदायिक विद्यालयको पढाइको गुणस्तर कम भएका कारण धेरैको शून्य नतिजा आएको बताए । उनले सामुदायिक विद्यालयका शिक्षक पढाउनेभन्दा पनि जागिर खाने मानसिकताका कारण नतिजा खस्कँदै गएको बताए । तर शिक्षकहरू पठनपाठनमा कम जोड दिने र ज्यादा राजनीतिमा लाग्नाले सामुदायिक विद्यालयको पढाइको गुणस्तर खस्केको आमगुनासो छ ।
यस वर्षको एसएलसीमा ४१ दशमलव ५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । एक्जाम्टेडतर्फ ७ दशमलव ७६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।