हेटौंडामा गाडी रेष्टुराँ

स्वदेश र विदेशमा होटलहरूमा काम गरेका हेटौंडाका एक युवाले नाैलो खालको रेस्तो व्यवसाय शुरू गरेकन छन् । जीवन लामा ८ कक्षामा पढ्दादेखि नै होटलमा काम गर्न गर्थे । घरको आर्थिक स्थिति कमजोर भएको हुँदा उनी विहान होटलमा काम गर्थे र दिउँसो पढ्न जान्थे । उनले गरेको कामबाट परिवारलाई केही खर्च जुट्थ्यो ।

काम गर्दै पढ्ने गरेका लामा कक्षा–१० मा पुगेपछि हजुरबुबाको निधन भयो । हजुरबुबाको निधन भएको हुँदा घरको समस्याले उनले एसएलसी दिन पाएनन् । त्यसपछि उनी भारत पलायन भए । भारतमा गएर पनि उनले होटलसम्बन्धि काम गरे र केही सिकेर नेपाल फर्किए । नेपाल फर्किएका उनलाई होटल ब्यवसाय नै प्रिय लाग्न थाल्यो ।

gadi resto hetaudaउनी आफ्नो क्षमता तिखार्न रसियामा होटल तालीम सिक्न र केही पैसा कमाउन गए । दुई वर्ष रसियामा बसेर त्यहाँबाट लागे अफगानिस्तानतिर । त्यहाँ उनी करिब २ वर्ष बसे । विदेशमा गएर अनुभव बटुले र नेपाल फर्किए । यहाँ ‘वाइबा चाउचाउ’ उत्पादन गरी बेच्न थाले । करिब दुई वर्ष चाउचाउ उत्पादन र बिक्री गरेपछि उनलाई आफूले गरेको र अनुभव भएको काम गर्न मन लाग्यो ।

‘होटल व्यवसायसम्बन्धि स्वदेश तथा विदेशमा रहेर लामो अनुभव बटुलेपछि विद्यार्थी तथा मध्यमवर्गीय मानिसलाई लक्षित गरी होटल खोल्ने सोच गरेँ’ उनले होटल व्यवसाय गर्न आफूले खर्च गरी कोठा बनाउन नसक्ने र अरुको घर भाडामा लिँदा पैसा तिर्नुपर्ने भएकाले नयाँ जुक्ति निकाले ।
उनले ठेलाको विकसित स्वरुप निर्माण गरे । यसो गर्न उनले पुरानो गाडीको इन्जिन निकालेर त्यसलाई आफ्नै ढंगबाट नयाँ स्वरुप दिए । र, त्यसवरिपरि बारबेर पारे । उनको त्यो शैलीको ‘होटल’ हेर्दा साँच्चै आकर्षक बन्यो । उनी मनमनै दंग परे ।

ग्राहकलाई गाडी बाहिर कुर्सीमा बस्ने व्यवस्था मिलाएर ‘गाडी रेष्टुराँ’ खोले । त्यसलाई ‘सांघाई एक्स्प्रेस’ नामाकरण गरियो । हेटौंडामा पहिलोपटक उनले भिन्न सजावटसाथ होटल खोले । विदेशबाट फर्किएर हेटौंडामा यस्तो रेष्टुराँ खोल्न सकिन्छ भनेर सोचेका थिएनन् रे उनले । हेटौंडामा मुख्य बजारनजिक मानिसको चहलपहल हुने सडक किनार स्कुलरोडमा उनले आफ्नो व्यवसाय शुरु गरेको चार महिनाजति भयो ।

मांसाहारी र शाकाहारीका लागि काउण्टरदेखि भान्छासम्म छुट्टै व्यवस्थासाथ व्यवसाय शुरु गरिएको उनी बताउँछन् । विद्यार्थी र परिवारसहित खाजा खान रमाउनेहरु उनको होटलमा आउने गर्दछन् । ‘व्यवसाय मैले सोचेअनुरुप चलेको छ,’ उनी खुशी छन् । मूल घर निजगढ भए पनि हेटौंडालाई उनले कर्मथलो बनाएका हुन् ।