हिन्दु राष्ट्रको माग गर्दै राप्रपा नेपालको रथयात्रा बुटवलमा

हिन्दुराष्ट्र कायम गर्नका लागि धर्म निरपेक्षताका बिरुद्व राप्रपा नेपालद्वारा यहि पुष ९ गते झापाबाट सुरु भएको मेची–काली रथयात्राको रथयात्रा सनिवार ratha yatraबुटवल आईपुगेको छ| रथ यात्राका क्रममा हालसम्म ५५ भन्दा बढी स्थानमा सभाहरु सम्पन्न गरिसकेको राप्रपा नेपालले जनाएको छ |

मेची–काली रथयात्राको क्रममा बुटवलमा सनिवार आयोजित सभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष थापाले धर्म निरपेक्षताले राष्ट्रिय एकतामा खलल आएकोले नेपालीको पहिचान संकटमा परेको बताए | उनले हिन्दु धर्म नेपालीको राष्ट्रियता र पहिचान भएको उल्लेख गर्दै धर्म निरपेक्षताले राष्ट्रियता र पहिचान मेटिने भएकाले त्यसका विरुद्व राप्रपा नेपालले राष्ट्रिय अभियान चलाएको बताए | उनले धर्म निरपेक्षताले सामाजिक तथा सांस्कृतिक सद्भाव खलवलाएको दावी समेत गरे |

८१ प्रतिशत हिन्दु भएको नेपालमा केहि दलको निहित स्वार्थको कारण धर्म निरपेक्ष्ँ राष्ट्र घोषणा गरिएको भन्दै अब बन्ने संविधानमा सनातन हिन्दुराष्ट्र कायम गर्नुको विकल्प नभएको बताए |

देशमा शान्ति र प्रजातन्त्र स्थापित गराउनका लागि हिन्दुराष्ट्र कामय गर्नुपर्ने बताउंदै २०६२/०६३ को जनआन्दोलनमा धर्म निरपेक्षता र संघीयताको कुरै नउठेपनि केही दलको नेताले निहित स्वार्थका लागि धर्म निरपेक्षता र संघीयताको नाममा जातीय राज्य ल्याउन खाजेर राष्ट्रिय एकतामा खलल पुर्याउने काम गरेको आरोप लगाए |

धर्मको नाममा राप्रपा नेपालले राजनीति गर्न नखोजेको बताउंदै उनले नेपालीको राष्ट्रियता र पहिचानको संरक्षण गर्न जनताको घरदैलोमा सहयोग माग्दै हिंडेको स्पष्ट पारे | उनले नेपाललाई हिन्दुराष्ट्र कायम नगर्दासम्म विश्राम नलिने बताए | त्यसै गरी राप्रपा नेपालका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री निराजन थापाले हिन्दु राष्ट्र संकटमा परेकाले हिन्दुराष्ट्र कायम गर्न सम्झौताहिन आन्दोलनलाई निरन्तरता दिने बताए |

बुटवलमा आयोजित सभामा सर्वसाधारणको उल्लेखनिय उपस्थिती रहेको थियो |  रथ यात्रामा हजारौं कार्यकर्ता र जनताको सहभागिता रहेको र जनतामा हिन्दु धर्मको रक्षाप्रति उत्साह देखिएको राप्रपा नेपालका नेताहरुले दाबी गरेका छन् | रथयात्राका क्रममा विभिन्न १ सय ८ स्थानमा सभा गर्ने राप्रपा नेपालको कार्यक्रम रहेको छ |