हिजोआज तिजको गीत रोधीघरको ‘झाम्रे’ जस्तै

ठाउँको ठाउँ ढल्ने जस्तो मलाई कति पीर छ ।
की त बुढो त्याग कान्छी की त मलाई बिर्स ।।

Hindu devotees dance and sing at Pashupatinath Temple while celebrating the Teej festival in Kathmandu तीज पर्व नजिकिँदै गर्दा बजारमा अहिले यो गीतको चर्चा चुलिएको छ । गीतको चर्चासँगै गायक तेजश रेग्मी र गायिका शिलु भट्टराईको प्रशंसाले ठाउँ पाएको छ । तीज गीतको मूल मर्मबाट बाहिरिएर तयार पारिएका यस्ता कतिपय गीतले अहिले तीजको मौसमी सङ्गीत बजारमा वर्चश्व जमाएका छन् ।
तीज गीतहरू परम्परागत सौन्दर्य गुमाएर अहिले त कुनै रोधीघरको ‘झाम्रे’ जस्तै हुन थालेका छन् । ऐतिहासिक पर्व गीतको उपमा पाएको तीज गीत मूल मर्मबाट विमुख र छताछुल्ल भएको देख्दा साह्रो गरी चित्त दुखेको छ कला चिन्तकहरूको । विगत पाँच÷छ वर्षदेखि तीज गीतको विषयवस्तु र शैली भड्किलो र मर्मबाहिर पुगेको वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाको बुझाइ छ ।
“तीज गीत त हाम्रो मौलिक सांस्कृतिक धरोहर हो”– कोइराला भन्नुहुन्छ–“तर हिजोआज हामी मूल मर्मतिर छैनौँ किजस्तो लाग्छ, पारिवारिकजस्तो छैन, बरु कतै उट्पट्याङजस्तो ।” तीजको गीत गायनको विधान खल्बलिँदै गएको कोइरालाले बताउनुभयो । तर तीज पर्व सबैको साझा पर्वका रूपमा विकास हुँदै गएकामा भने उहाँ खुसी व्यक्त गर्नुहुन्छ । “तीज व्यापक भएको छ, सहरतिर पनि तीज मनाउने परम्परा विस्तार हुँदै गएको छ, रौनक फेरिएको छ”– कोइरालाले भन्नुभयो–“तर खासमा तीजको मर्म र तीज गीतको सौन्दर्य घट्दै गएको हो कि भन्ने चिन्ता थपिएको छ ।”
तीज गीत जहिले पनि घटनाप्रद हुने हुँदा यस गीतले घटना खोज्ने कोइरालाको तर्क छ । तर हिजोआज घटनाभन्दा पनि क्षणिक र सस्तो रमाइलोका विषयवस्तुहरू हाबी भइरहेकामा उहाँको गुनासो छ । “तीज गीतको पौराणिक मान्यता पनि घटना र विषयवस्तुसँग जोडिएको छ, युग सुहाउँदो, चेतना जागृत गर्ने खालका, समसामयिक विषयवस्तुहरू तीज गीतमा उठान हुनुपर्दछ”– कोइरालाले भन्नुभयो ।
Teej danceकोइरालाले आफू र आफ्नो पुस्ताका गायिकाहरूले २०४६ सालको आन्दोलनपछिको परिवर्तन, २०५८ सालको राजदरबार हत्याकाण्ड र अन्य समाजमा घटित घटनालाई विषयवस्तुमा उठाउने गरेको स्मरण गर्नुभयो । विशेषगरी तीज गीतका लागि नेपाली जनजीवनमा चिरपरिचित गायिका कोइरालाले हालसम्म २१ वटा तीज गीतका एल्बम सार्वजनिक गरिसक्नुभएको छ । सङ्गीत तथा नाट्य प्रतिष्ठानकी प्राज्ञसमेत रहनुभएकी कोइराला तीज गीतले महिलाहरूको सिर्जना क्षमतालाई बढाउने बताउनुहुन्छ ।
“वर्षभरिका आफ्ना दुःख, पीरवेदना र चोटहरू सार्वजनिक गर्ने माध्यम बन्थ्यो तीज गीत”– कोइरालाले भन्नुभयो– “महिलाका कुण्ठित सिर्जनाहरू बाहिर आउँथे, समकालीन नेपाली समाजको अवस्था चित्रित गर्थे तीजका गीतहरूले तर अहिले त्यस्तो छैन । सस्तो र अभद्र मायाप्रेमको विषयले ठाउँ पाएको छ ।” तीजको मौलिकता र शास्त्रीय विधानलाई नछोडी गाउन उहाँ नयाँ पुस्तालाई आग्रह पनि गर्नुहुन्छ । पछि गएर नेपाली सांस्कृतिक परम्परा खल्बलिने र मौलिकता गुम्ने खतरा रहेकोप्रति सबै सचेत हुन आवश्यक रहेको कोइरालाको भनाइ छ ।
यता, संस्कृतिविद् तथा साहित्यकार प्रेम छोटाको तर्क पनि उस्तै छ । नेपाली सङ्गीत परम्परा विश्वमै पृथक रहेकाले यसको जगेर्ना गर्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ । महिलाहरूले आफूले झेल्नु परेका सामाजिक बन्धन, पारिवारिक अन्याय र अत्याचारप्रति कटु व्यङ्ग्य तथा विद्रोह गर्दै स्वतन्त्रताका गीतसमेत गाउने गरेको छोटाको अनुभव छ । पछिल्लो समयकालमा नेपाली तीज गीतको मौलिक र शास्त्रीय परम्परामा आएको ह्रासले छोटालाई पनि चिन्तित तुल्याएको छ । “प्रायः गरी नारी वेदनाका भावहरू झल्किने खालका गीतहरू तीजमा गाइनुपर्छ र सँगै मुक्तिकामी महिलाका अभिव्यक्तिहरू मुखरित गरिनुपर्छ”– छोटाले भन्नुभयो । अन्धविश्वास र विसङ्गतपूर्ण व्यवहार तोडेर समानतामूलक समाज निर्माणका लागि तीज गीत सहयोगी बन्न सक्ने हुनुपर्ने उहाँको तर्क छ ।
“पौराणीककालदेखि नै तीज पर्व र गीतको बयान हुँदै आएको छ, यसले नारी मुक्तिको दिनलाई अभिव्यक्त गरेको हुन्छ”–छोटाले भन्नुभयो–“धार्मिक दृष्टिकोणले पनि तीज गीतको आफ्नै महत्व रहेको छ, व्रत उपसनादेखि महिलाहरूले आफू, पति र परिवारको सुख र समृद्धिका लागि पूजाआजा गर्ने चलन छ ।” तीज पर्वका अवसरमा गाइने भएकाले महिलाहरूले मात्र गाइने गीत भनेर चिनिए पनि अहिले भने पुरुषहरूले पनि तीज गीत गाउन थालेका छन् । तीज गीत दोहोरीजस्तो हुन थालेको भन्छन् कतिपय सङ्गीतप्रेमीहरू । “गीत गाउने र चर्चा बटुल्ने नाउँमा अभद्र र छाडा गीतसङ्गीतलाई प्रश्रय दिन हुँदैन”– सङ्गीतकार आशीष अविरल भन्नुहुन्छ ।
बढ्दो व्यावसायिक बजार र प्रतिस्पर्धाले पनि नेपाली सङ्गीतको मौलिकता गुम्दै जान थालेको अविरलको बुझाइ छ । “तीजमा माइतीघर र कर्मघरको बिम्ब जुन रूपमा प्रयोग हुन्थ्यो, त्यो अहिले छैन अहिले युवायवतीको प्रेमको मसलाले गीतहरू बनेका छन्”– अविरलले भन्नुभयो । यता, नयाँ पुस्ताका गायक तेजश रेग्मी भने समयले यस्तै गीतहरू माग गरेको तर्क गर्नुहुन्छ । “बजारमा पनि मायाप्रेम बिक्ने गर्छ र अहिलेको समाजले बढी नै रसिक र ठट्यौली गीत मन पराउने हुँदा हामीहरू पनि त्यस्तै गीत गाउन बाध्य छौँ”– रेग्मीले भन्नुभयो । आफूले गाएको ‘की त बुढो त्याग कान्छी कि त मलाई बिर्स’ बोलको गीतले असङ्ख्य श्रोता कमाएको उहाँको दाबी छ । समयको मागबमोजिम गीतसङ्गीतको बजारमा पनि परिवर्तन आएको रेग्मीको अनुभव छ ।
Teej_danceके, नेपाली समाज पुरानो संस्कृति, मूल्य र मान्यताबाट विमुख हुन थालिसकेको हो त ? तर पूरै तहमा त्यसो नभइसकेको र नेपाली मौलिक संस्कृतिप्रति सर्मपित ठूलो हिस्सा नेपाली समाजमा रहेको संस्कृतिकर्मी छोटाको भनाइ छ ।
छोटाले तीज गीत मात्रै नभएर अन्य सांस्कृतिक धरोहर पनि कमजोर हुने हालतमा रहेकाले त्यसको संरक्षणका लागि लाग्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । आफूले तीन दशकअघि गाएको तीजको गीत सम्झँदै वरिष्ठ गायिका कोइरालाले आफूले जहिले पनि तीजको मौलिकपन जोगाउने प्रयास गरेको बताउनुभयो ।
सुरुताका आफूले गाएको ‘नेपालबाट दाजैले शिरफूल कमाइ पठाए, किन दिन्थिन् भाउजूले राखिन् आफँैले’ बोलको गीतमा कहिएको वेदना आम नेपाली छोरीको वेदना रहेको उहाँ बताउनुहुन्छ । “विकृति, विसङ्गति र अत्याचारको विरोध हुन्थ्यो अनि मुक्तिको आवाज उठाइन्थ्यो”– कोइराला भन्नुहुन्छ–“अनि माइत जान नपाएको गुनासो भरिएको मन साथीसँगीहरूसँग बाँडिन्थ्यो ।” यो वर्ष तीजको मौका छोपेर कोइरालाले ‘सेतै पहिरन चेली देख्दा कस्को मन रुन्न र, विधुवाले रातो लाउन किन हुन्न र’ बोलको गीत सार्वजनिक गर्नुभएको छ ।
आफू जहिले पनि नेपाली लोकसङ्गीतको संरक्षणमा प्रतिबद्ध भएर लाग्ने बताउँदै कोइरालाले तीजको मौलिकता मर्न नदिने उल्लेख गर्नुभयो । नेपाली तीज गीतको मौलिक लोकलय र शास्त्रीय विधान खल्बलिएको चिन्ताबीच कोइरालाले तीज गीतको सौन्दर्य कायम राख्न सबैलाई आह्वान गर्दै पुरानो एउटा गीत सम्झनुभो ।
आँगनीमाथि सिंवाली लाग्यो, वरिलै कदमको छायाँले ।
सातै र समुन्द्र मै तरी आएँ, वरिलै बाबाको मायाले ।।
– रामबहादुर थापा