हंगेरीमा आप्रवासीहरुको विरोध

आफुहरुलाई यूरोपेली युनियनका अन्य देशमा जानबाट रोक्न मुख्य रेलवे स्टेशन बन्द गरिएकोप्रति हंगेरीको राजधानी hungariaबुडापेष्टमा सयौं आप्रबासीहरुले विरोध जनाएका छन्। आफ्ना यात्राको टिकट किनिसकेका दुई हजार आप्रवासी केलेटी रेलवे स्टेशनमा जम्मा भएका छन्।

त्यहाँबाट रेल चढ्न खोज्ने आप्रवासीहरुको संख्याका कारण हंगेरीको मुख्य अन्तर्राष्ट्रिय रेलवे स्टेशन बन्द गरिएको बीबीसीले जनाएको छ।

दंगा प्रहरीको उपस्थिति रहेकाले त्यहाँ तनावपूर्ण स्थिति रहेको सम्वाददाताहरुले जनाएका छन्।

हंगेरीले आफुले विगतभन्दा भिन्न यस्तो निर्णय लिएकोबारे प्रष्ट पारेको छैन।उसले सीमा नियन्त्रणको कारवाही गरेर आफुले एक इयु सदस्य राष्ट्रको जिम्मा निर्वाह गरेको मात्र बताएको छ।हंगेरीले अख्तियार गरेको कारवाहीबारे कुराकानी गर्न प्रधानमन्त्री भिक्टर ओर्बानले विहिबार इयुका प्रमुखहरुसंग भेट्दै छन्।

डब्लीन रेगुलेशन भनेर चिनिने इयुको नियम अनुसार शरणार्थीहरुले टेक्ने पहिलो इयु देशमा नै शरण लिनुपर्छ। तर यो नियम कार्यान्वयन गर्न कठिन भइरहेको छ, किनकि सीमामा रहेका हंगेरी, इटली तथा ग्रीस जस्ता देशहरुले आप्रबासीको चाप आफुहरुले धान्न नसक्ने बताएका छन्।

जर्मन सरकारले अन्य इयु देशहरुबाट आउने सिरियालीहरुलाई आफ्नो देशमा शरण माग्न स्वीकृति दिने बताएको छ।तर त्यहाँका एक प्रवक्ताले यसलाई डब्लीन रेगुलेशन निलम्बनको अर्थमा नलिन भनेका छन्।

यसबीच गएराती लेजबस टापुबाट ग्रीसमा ४ हजार आप्रबासी आइपुगेका छन्।

दोस्रो विश्वयुद्ध यता सबभन्दा धेरै संख्यामा आप्रबासी ओइरिन थालेपछि उक्त समस्यासंग इयू जुधिरहेको छ।

जुलाई महिनामा मात्र यूरोप प्रवेश गर्ने आप्रबासीहरुको संख्या एक लाख सात हजार नाघेको छ।

यस वर्ष पोहोरभन्दा चार गुणा बढी अर्थात आठ लाख आप्रबासीलाई स्वीकार्ने जर्मनीको भनाई छ।

आप्रबासीहरुको यूरोप यात्रा कत्तिको जोखिमपूर्ण हुन्छ भन्ने त गत साता अष्ट्रियाबाट बुडापेष्टको यात्राका दौरान मरेका ७१ जनाको शब एक लरीभित्र फेला पर्नुले पनि देखाएको छ।

यो संकटलाई सम्बोधन गर्न इयुका आन्तरिक मामिला तथा न्याय मन्त्रीहरु ब्रसेल्समा १४ सेप्टेम्बरमा भेट्दैछन्।