स्विसमा सिमोनको नेपाली लय र हरि दाजुको टोपी

समय र परिस्थिती अनुसार मानिस आ-आफ्नै गन्तव्यको यात्रा गरिरहेका हुन्छन् । यस जीवन यात्रामा अनेक थरिका आरोह-अवरोह आइ पर्छन् । यसै सिलसिलामा भन्नुपर्दा आदरणीय दाजु हरिप्रसाद पौडेलसंगको सानो भेटले मलाइ केहि ज्ञान दिलाएको छ । नवीन अनुभूति भएको छ । हुन त नेपालभन्दा बाहिरी देश घुम्न आउने नेपाली दाजुभाइहरु थुप्रै भेटिए तर दाजु हरिप्रसाद पौडेल संगको भेट सारै अविस्मरणीय रह्यो । देखेको थिएँ बिदेशमा बाउ सरह र हजुरबाबा सरहका आदरणीय व्यक्तिहरुले नेपाली पोशाक लगाएर यात्रामा हिडेको । तर देखेको त के सुनेको पनि थिइन, दाजु हरिप्रसादको जस्तो रोचक यात्रा ।

‘विदेश जाँदा विदेशकै लवाइ खवाई गर्नुपर्छ भन्छन् तर म भने साधारण व्यक्ति । आफ्नैपनको लवाइ खवाई र आफ्नै मातृभूमी झल्काउने उद्देश्यले नेपाली पोशाक लागाएको छु । मेरो शिरमा नेपाली ढाका टोपी, नेपाली पोशाकले मलाइ आनन्दको अनुभूति गराउंछ र म यसैमा रमाउन चाहान्छु’, भन्छन् हरिप्रसाद पौडेल।

रामेछापका हरिप्रसाद पौडेल २ छोराका पिता र सरकारी स्कुलमा नेपाली विषय पढाउने शिक्षक । उनी भन्छन- ‘मैले देश विदेश घुम्न पाउँछु भन्ने कुनै कल्पना नै गरेको थिइन । देश विदेश घुम्न आफु वा आफ्ना छोरा छोरी धनी नै हुनु पर्छ भन्ने सोंच्दथे तर मेरो जीवनमा यो गलत हुन पुग्यो । आफ्नै छोरा नभए पनि छोरा सरह मानेर विदेश घुमाउन मलाइ सिमोन माएर र उनका साथीहरुले मद्दत गरे ।’

विदेश भ्रमणको क्रममा स्विट्जरल्याण्डको ओल्टनमा आइपुगेका थिए- दाजु हरिप्रसाद पौडेल। बिदेशी भूमिमा नेपाली टोपी, नेपाली पोशाक लगाएको व्यक्ति देख्दा जो कोहि नेपाली पनि हाम फ्यालेर बोल्न खोज्नु स्वभाविकै हो । यसै क्रममा मेरा आत्मीय दाजु विदुर संग्रौलाले दौडदै ‘दाजु नमस्कार, कताबाट हो दाजु ?’ भन्दै उहाँ सामु जानु भयो तर दाजु हरिप्रसाद एक छिन मौन रहे । बोल्न सकेनन् ।

विदेशी भूमिमा फिरिङ्गी दुनिया देख्दै र भोग्दै हिँडेका बेला अचानक आफ्नै भाषामा कसैले बोलाउँदा झस्कनु स्वभावतः हुन्छ ।

hari dajuविदेशी भूमिमा टेकेको २४ औं दिनमा सोंच्दै नसोचेको कुरा भयो र आफ्ना नेपाली दाजुभाइहरु भेटिए । हर्षले ठाउँ छैन ! यसै अवसरमा चिसो बिदेशी चिया(बियर) जावोस् । ब्राह्मण भएको कारण घर भित्र चल्दैन तर घर बाहिर त चल्छ नि । यसो भन्दै रमाउँथे हाम्रो त्यो भेटमा 😉 । यसै क्रममा मैले हरि दाजुलाइ एक प्रश्न सोधेँ – ‘दाजु नेपाल र स्विट्जरल्याण्डबीच के भिन्नता पाउनु भो ? तपाइँलाई स्विट्जरल्याण्ड कस्तो लायो ?’ मैले मेरो पुरा प्रश्न सोध्न नपाउँदै हरि दाजुले भन्नु भो – ‘नेपाल र स्विट्जरल्याण्डबीच आकास जमिनको भिन्नता छ । प्रकृतिको कुरा गर्दा नेपालको प्राकृतिक सौन्दर्य आफ्नै किसिमको छ भने स्विट्जरल्याण्डको आफ्नै । नेपाल र स्विट्जरल्याण्ड दुइ देशबीच कुनै हिसाबमा तुलना गर्न सकिँदैन ! बिकासको तुलनामा हेर्ने हो भने हामी धेरै पछाडी छौँ छ तर प्रकृतिको हिसाबमा सायद हामी अगाडि छौँ जस्तो लाग्छ ।’
अचम्म मान्दै मैले फेरि सोधेँ- ‘कसरी दाइ ?’
हरि दाजुले जोसिदै भने -‘भाइ, हाम्रो देशमा प्राकृतिक सौन्दर्यलाइ राम्ररी बचाई सजाएर राख्न सके अवस्य प्राकृतिक सौन्दर्यमा हामी अगाडि हुन्छौं जस्तो लाग्छ !’ यस्तै मिठा कुराहरु सुनाइ रहनु भयो हरि दाजुले र हामी उहाँको कुरामा डुबुल्की मारी रह्यैाँ ।

पढाउन र सामाजिक सहयोग गर्न ६ महिनाका लागि नेपाल गएका सिमोन माएर (स्विस नागरिक ) रामेछापमा रहँदा हरिप्रसाद पौडेलका घरमा बसेका थिए । ६ महिनासम्म नेपाली भाषा मात्र अभ्यास गरेका सिमोनले फरर्र नेपाली भाषा बोलेको सुन्दा जो कोहि पनि चकित हुन्छ ।
अब पालो, हरि दाइको । उनी स्विट्जरल्याण्डको नयाँ संसारमा छन् ।
– निराजन श्रेष्ठ,स्विट्जरल्याण्ड