सोनिया गान्धीको पहिलो प्रेम, फ्रान्कोको दावी

बारम्बार पढिएको छ– भारतीय कंग्रेस अध्यक्ष सोनिया गान्धी र पूर्वप्रधानमन्त्री राजिव गान्धीको प्रेम पहिलो र ‘लभ एट फस्ट साइट’ हो । तर, यो गलत रहेछ । सोनिया राजिवसँग भेट हुनुपहिले पनि प्रेममा रहिछिन् । इटालियन पत्रिका गेन्टेबाट यो खुलासा भएको हो ।

र, उनका पहिलो प्रेमी इटालीका फुटबलर फ्रान्को लुइसनसाग रहेछन् । फ्रान्कोले गेन्टेलाई अन्तर्वार्ता दिँदै भनेका छन्, ‘सोनिया र म चार वर्ष प्रेममा थियौँ । हामीले विवाह गर्ने योजना पनि बनाएका थियौँ ।’

soniya-gandhi's-first-loveसोनियाले बेलायत पढ्न जाने निर्णय गरेपछि उनीहरूको प्रेम छुटेको फ्रान्कोले दाबी गरेका छन् । उनका अनुसार सोनिया १४ वर्षकी हुँदा उनीहरूको पहिलोपटक भेट भएको थियो । त्यतिवेला उनी २६ वर्षका थिए ।

‘हाम्रो भेट समुद्री किनारमा भएको थियो,’ उनले पत्रिकालाई अन्तर्वार्ता दिँदा सम्झेका छन्, ‘त्यसपछि हाम्रो सम्बन्ध रह्यो ।’ उनले सोनियाको घरमा जाँदा सोनियाका बाबुआमा पनि खुसी हुने गरेको बताएका छन् ।

‘सोनिया पनि मेरो घर आउँथिन्,’ उनले भनेका छन्, ‘प्रत्येक आइतबार मेरो गेम सकिएपछि म उनलाई भेट्न जान्थेँ ।’ सोनियालाई फुटबल भने खासै मन नपर्ने उनले बताएका छन् ।

सोनियाले बारम्बार फ्रान्कोलाई विवाह गर्न गरेको आग्रह टारेको पनि अन्तर्वार्तामा उल्लेख छ । ‘उनी त्यतिवेला नै विवाह गर्न चाहन्थिन्,’ उनले भनेका छन्, ‘तर, म त्यतिवेला खेलमा नै केन्द्रित थिएँ ।’ बेलायतबाट फर्केर भारत भ्रमणपछि सोनियाले राजिवसँग विवाह गर्ने फैसला गरेको फ्रान्कोको दाबी छ ।

फ्रान्कोका अनुसार अहिले पनि सोनिया परिवार र उनको आवतजावत कायम छ । वर्षमा दुईपटक उनीहरूबीच भेटघाट हुने र उपहार आदनप्रदान हुने उनले बताएका छन् । – नयाँ पत्रिका