सुन्तला, बङ्गुर र कफी कृषकलाई राष्ट्रपति पुरस्कार

पर्वत जिल्लाका तीन कृषकलाई राष्ट्रपति जिल्लास्तरीय कृषक पुरस्कारबाट बुधबार पुरस्कृत गरिएको छ । जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशु सेवा कार्यालयले पुरस्कृत गरेकामा शालिजा गाविसका सुन्तला उत्पादक नरु पाइजा, कुस्मा नगरपालिकाका बङ्गुरपालक प्रेमबहादुर गुरुङ र कार्कीनेटा गाविसका कफी उत्पादक भवानीप्रसाद शर्मा रहेका छन । पुरस्कृत कृषकलाई जनही रु १० हजार, प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको हो ।

पैँतीसौँ विश्व खाद्य दिवसको अवसर पारेर कृषकलाई सम्मान गरिएको हो । जिल्लाका ४९ कृषकले पुरस्कारका लागि आवेदन दिएका थिए ।
यसैगरी विश्व खाद्य दिवसकै अवसरमा आयोजित ‘कृषि र सामाजिक सुरक्षा, गरिबी घटाउने प्रतिबद्धता’ शीर्षकमा आयोजित माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिताका विजयी विद्यार्थीलाई पनि पुरस्कृत गरिएको थियो ।