सिमसिमे पानीमा बेल्जियन राजमार्ग छिचोल्दै, गन्तव्य लक्ष्मी जयन्ती

Dipendra KCअब जाडो वायुमण्डलमा घुलन हुनै आँटे जस्तो सिमसिम पानी परिरहेको थियो । हुन त ६ नोभेम्वरका दिन लुभेनमा लक्ष्मी जयन्ती मनाउने भनेपछि, त्यसमा पनि आफैँ सँलग्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरको आयोजना भएकोले त्यो दिनको पहिलो प्राथमिकतामा थियो- लक्ष्मी जयन्ती । जसै ओस्टेण्डेबाट गाडी स्टार्ट मात्र गरेको थिएँ, ब्रुजबाट पत्रकार मित्र सन्तोष न्यौपानेले फोन गर्नुभयो र सँगै जाने प्रस्ताव गर्नुभयो । एउटा कवि मन कार्यक्रममा थपिने भएपछि म पनि हौंसिँदै व्रुजतर्फ मोडिएँ ।
उहाँलाई लिएर सँगसँगै लुभेनतर्फ हाइवे इ— ४० समातियो, मुसलधारे पानी परिरह्यो । केही राजनैतिक गफ चले, केही साहित्यिक र अन्य समसामयिक । कार्यक्रम तय भएको थियो ३ बजेका लागि, ब्रसेल्स छेउको अत्यासलाग्दो ट्राफिक जामसँगै गफिदैं थियौं । “नेपालीहरुको समयमै कार्यक्रम शुरु नगर्ने चलनलाई कहिलेकाँही यही जामले पनि मन पराउँछ टाढादेखि आउनेलाई“ भन्दै । हुन पनि विहान एकचोटी, मध्यान्ह एकचोटी र अपरान्ह एकचोटी अनेक बहानामा हजारौं गाडीको ताँतीलाई लाइन लगाएर रोक्न मन पराउँछ यो राजमार्ग ।
जेनतेन ३ बजे कार्यक्रमस्थल पुगियो । अनेसास अध्यक्ष विमल गिरी ब्रसेल्सबाट आइपुगिसक्नु भएको रहेछ । कार्यक्रम के शुरु गर्नु ? बल्ल पो प्रतीक्षा भयो सहभागीहरुको । हुन त प्रतीक्षा स्वभाविक थियो । हरेक विहान समयले आफना कार्यक्रम एट्याच गरिदिएको हुन्छ हाम्रो एजेण्डामा कामको शीर्षक तोकेर ।

साढे तीन बजेपछि फाट्ट-फुट्ट निम्तालु, अतिथी र साहित्यका सँगतीहरु आउन थाल्नु भयो । वातावरण केही उत्साहित भयो । केही अनौपचारिक गफगाफमा अनुमानहरु भए- सँविधान सभा चुनावको । केही चर्चाहरु भए- नेपाली जनजीवनका । यस्तै यस्तै चल्दै गर्दा हस्याङ फस्याङ एनआरएन बेल्जियमका महासचिव माधव सापकोटा आइपुग्दा ४.३० हुनै आँटेको थियो । अव औपचारिक कार्यक्रम शुरु गर्ने सुरसार भयो ।
शास्त्रीय पद्धति मै कार्यक्रम शुरु भयो । अध्यक्ष विमल गिरीले सभापतित्व ग्रहण गर्नुभयो, एनआरएन महासचिवले आतिथ्यता र जनसम्पर्क समिति यूरोप महासचिव गँगाधर गौतम, एनडीएफ प्रतिनिधि नारायण अधिकारी, यूरोनेपाल कलाकार सँघका अध्यक्ष पदम गुरुङले मँचमा आसन ग्रहण गरेपछि ताली र मन्तव्यका क्रम शुरु भए । उपाध्यक्ष दीपेन्द्र के.सी.ले स्वागत मन्तव्य व्यक्त गरे, सदस्य पँचम अधिकारीले देवकोटाको जीवनीवारे प्रकाश पारे र मँचमा आसीन अतिथीहरुले देवकोटाको व्यक्तित्व र अनेसासको भूमिकावारे मन्तव्य व्यक्त गरेपछि कविता वाचनको सिलसिला शुरु भयो ।
उद्घोषक एवं महासचिव राजकुमार पुडासैनीले सुत्रधारीय शैलीमा कार्यक्रम अगाडी बढाइरहे, पत्रकार सन्तोष न्यौपानेले रेकर्डिङ टिपोट उठाइरहे ।
कविता वाचन गर्ने पहिलो पालो बोलाइदिए उद्घोषकले सन्तोष न्यौपानेलाई । उनले नेपालबाट हुर्कीवढी आएर यहाँको खुला समाजको यौवनिक रँगीनता र नेपाली मानसिकताको खुला यथार्थ उदाङ्गो पारिदिए । दीपकज्योति पौडेलले विदेशिएका श्रीमानहरुप्रति नेपाल रहेका श्रीमतीहरुका आशँकाहरुको लयबद्ध चित्र प्रस्तुत गरे, डिल्ली अम्माईले समाज परिवर्तनका प्रगतिवादी धारको अगुवाईको कविता वाचन गरे, मोहन खत्रीले दिनभरीको थकानयुक्त कामबाट अल्पविरामका साथ कार्यक्रमको मध्यभागमा हतारो हतारो पदार्पण गरेर यहाँको काम र त्यहाँ हुने भेदभावको पीडादायी पोको फुकाए कविताका हरफमा । पँचम अधिकारीले छोटो कवितामा महाकविको विराट व्यक्तित्वलाई श्रद्धाञ्जलि दिए । दीपेन्द्र के.सी.ले आत्मावादी चिन्तनको दार्शनिक कविता वाचन गरे र राजकुमार पुडासैनीले राष्ट्रभक्तियुक्त कविता सुनाए ।
अन्त्यमा सभापति विमल गिरीले रसिलो मुक्तक सहित कार्यक्रमको विसर्जन गर्नुभयो ।
लामो समयको अन्तरालपछि मन फुकाएर कवितावारे चर्चा, महाकविको स्मरण र कविता सुन्ने र सुनाउने गज्जवको समारोह बन्यो बुधवार ०६ नोभेम्वर २०१३ लुभेन शहरको १०५ औं लक्ष्मी जयन्ती ।
त्यहाँ पनि महाकविको यात्री, पागल र मुनामदनको धेरै चर्चा भयो । लाग्यो हामी पनि मदन जस्तै भोट (प्रवासमा) महाकविको स्मरण गरिरहेछौं । धन्य लाग्यो त्यो दिन ।
कविताको धीत मारेर फुरुङ्ग हुँदै वाहिर निस्कदा अझै सिमसिमे पानी परिरहेको थियो । दिन अँध्यारै भए पनि मन उज्यालो थियो । सरासर गाडीतर्फ अगाडी बढें । घर पुग्न अव १५० किमी राजमार्ग छिचोल्नु थियो । यात्राभरी गुञ्जिरहे महाकविका हरफहरु —

क. जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !

ख. म शब्दलाई देख्दछु !
दृश्यलाई सुन्दछु !
बास्नालाई स्वाद लिन्छु !
आकाशभन्दा पातला कुरालाई छुन्छु !
ती कुरा,
जसको अस्तित्व लोक मान्दैन
जसको आकार संसार जान्दैन !
म देख्दछु ढुङ्गालाई फूल !
जब, जल–किनारका जल–चिप्ला ती
कोमलाकार पाषाण,
चाँदनीमा,
स्वर्गको जादूगर्नी मतिर हाँस्दा,
पत्रिएर, नर्मिएर, झल्किएर,………………

– दीपेन्द्र के.सी., ओस्टण्डे (बेल्जियम)