साहित्यकार तीर्थ श्रेष्ठ बेल्जियममा सम्मानित

deepakसाहित्यकार तीर्थ श्रेष्ठ बेल्जियममा सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले सोमवार बेल्जियमको लुभेनमा आयोजनागरेको एक कार्यक्रममा सम्मान गरेको थियो ।
कार्यक्रममा सम्मान ग्रहण गर्दै कवि श्रेष्ठले प्रवासमा रहने नेपालीहरुको हृदयमा नै राष्ट्रियता रहिरहने तथा भाषाको संरक्षणले साँस्कृतिक पहिचानलाई जीवन्त तुल्याउने हुदा  विदेशमा नेपालीहरुको भाषाप्रतिको सचेतना तथा सक्रियताको प्रशंसा गरेका थिए । 
 कार्यक्रमका अतिथी एनआरएन बेल्जियमका अध्यक्ष गँगाधर गौतमले साहित्यकार तथा भाषासेवीहरु राष्ट्रका सम्पत्ति हुने हुँदा संसारमा जहाँ पुगेपनि सम्मानित हुनुपर्ने संस्कारको विकास जरुरी रहेको उल्लेख गरे । विदेशी माटोमा सर्जकहरुको उपस्थितिले आफूहरुलाई देशप्रतिको जिम्मेवारीप्रति थप जागरुक तुल्याएको बताउदै उनले उपस्थिति सधै प्रेरणाप्रदः रहने बताए। 
 सभापतिको आसनबाट अनेसास बेल्जियमका अध्यक्ष दीपकज्योति पौडेलले अनेसासको विकासक्रम र सक्रियतावारे चर्चा गर्दै कवि श्रेष्ठलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रम निवर्तमान अध्यक्ष दीपेन्द्र के.सी.को स्वागत र महासचिव परमानन्द सापकोटाको सँचालनमा सम्पन्न भएको थियो । 
 सोही अवसरमा संरक्षण कविता आन्दोलन यूरोपको तर्फबाट पनि कवि श्रेष्ठलाई संयोजक दीपेन्द्र के.सी, सदस्य सचिव विष्णु सापकोटा, एनआरएन बेल्जियम अध्यक्ष गँगाधर गौतम, कवि—मुक्तककार बिमल गिरीले संयुक्त रुपमा सम्मान पत्र प्रदान गरेका थिए। कार्यक्रममा बेल्जियमस्थित विभिन्न संघ सस्थाका प्रतिनिधिहरु सहभागी थिए ।
दीपेन्द्र केसी