सशस्त्र समूह र विप्लव माओवादी नै चुनावमा सुरक्षा खतरा

आगामी स्थानीय तहको निर्वाचनमा तराई मधेसका सशस्त्र समूह, सीके राउत, मधेसी मोर्चाको आन्दोलन र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधि सुरक्षाका लागि ‘थ्रेट’ रहेको सुरक्षा अधिकारीले बताएका छन् ।

voting_nepalनिर्वाचन आयोगले निर्वाचन सुरक्षाबारे चारवटै सुरक्षा निकायका प्रमुख, गृह मन्त्रालय र रक्षा मन्त्रालयका अधिकारीसँग गरेको छलफलमा पहाडमा चन्द नेतृत्व माओवादीको आन्दोलन र तराई/मधेसमा सशस्त्र समूह, सीके राउत समूह तथा मधेसी मोर्चाले गरिरहेको आन्दोलन मुख्य सुरक्षा थ्रेट भएको बताएका हुन् । मधेसी मोर्चासँग राजनीतिक संवाद भइरहेकाले सकारात्मक निष्कर्ष निस्कने विश्वास भने सुरक्षा अधिकारीहरूले व्यक्त गरेका छन् ।

आयोगले निर्वाचन बिथोल्नसक्ने आपराधिक चरित्रका शंकास्पद व्यक्तिलाई प्रहरी निगरानीमा राखी आवश्यकताअनुसार नियन्त्रण गर्न गृह मन्त्रालयलाई बिहीबार नै निर्देशन दिइसकेको बताइएको छ ।

छलफलमा गृहसचिव लोकदर्शन रेग्मीले गृह मन्त्रालय र अन्तर्गतका सम्पूर्ण सुरक्षा निकाय स्थानीय तहको निर्वाचन सुरक्षा तयारीमा निरन्तर लागिरहेको र तुरुन्तै समग्र सुरक्षा खाका तयार गर्ने जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले एकै चरणमा सञ्चालन गर्न लागिएको स्थानीय तहको निर्वाचनलाई भयरहित सञ्चालन गर्न सुरक्षाकर्मीले उच्च मनोबल तथा जिम्मेवारीसाथ काम गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि लाठी, भाला, खुकुरीजस्ता हातहतियार लिएर हिँड्ने र प्रदर्शन गर्ने काम रोक्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।