संविधान जारी गर्दा राष्ट्रपतिले सम्बोधन गर्ने

ram_baran_yadavसंविधान जारी गर्ने अवसरमा आइतबार साँझ ५ बजेपछिको राष्ट्रिय समारोहमा राष्ट्रपति रामवरण यादवले सम्बोधन गर्ने भएका छन्। यसअघि उनलाई सम्बोधन गर्न नदिने गरी कार्यक्रमको तयारी भइरहेको समाचार सार्वजनिक भएका थिए। समारोहमा राष्ट्रप्रमुखलाई सम्बोधन गर्न नदिने तयारीको सबैतिरबाट आलोचना भएपछि राष्ट्रपतिलाई सम्बोधन गर्न दिने कार्यक्रम बनेको हो।

राष्ट्रपतिको सम्बोधनको पूर्ण पाठ भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्दैछ। सामान्यतः राष्ट्रपतिले गर्ने सबै कामको अनुमोदन मन्त्रिपरिषद्ले गरेको हुन्छ ।

प्रस्तावित कार्यक्रम

सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार कार्यक्रमको सुरुमा राष्ट्रपति डा यादवलाई सभाध्यक्ष नेम्वाङले पारित संविधान पेस गर्नेछन्।

सभासद्को हस्ताक्षर र अध्यक्षले प्रमाणीकरण गरेको नेपाली कागजमा मुद्रित संविधानको अन्तिम पृष्ठ अर्थात् पृष्ठ ३५० मा राष्ट्रपति डा रामवरण यादवले हस्ताक्षर गरी संविधान जारी भएको घोषणा गर्नेछन्।

सचिवालयले समारोहस्थलको सरसफाइ र सजावट तथा अन्य व्यवस्थापन गरिसकेको छ। सोका लागि सुरक्षा व्यवस्था पनि मजबुत बनाइने भएको छ।

“संविधानसभाबाट पारित एवम् संविधानसभाका अध्यक्षद्वारा प्रमाणित भई प्रस्तुत नेपालका संविधान असोज ३ गतेदेखि प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्दछु ” भन्ने बेहोरामा राष्ट्रपति डा यादवले हस्ताक्षर गर्दै त्यसको घोषणा गर्नेछन्। योसँगै उनले सम्बोधन गर्नेछन्।