संविधानको मस्यौदामाथि बेल्जियमका नेपालीबाट मिश्रित राय

नयाँ संविधानको मस्यौदामाथि सुझाव संकलन गर्न नेपाली दूतावास बेल्जियमले सोमवार लुभेन बेल्जियममा आयोजना सुझाब संकलन बेल्जियमगरेको कार्यक्रममा मिश्रित राय प्राप्त भएको छ। कार्यक्रममा सहभागी १३ जना मध्ये ८ जनाले आफ्नो राय व्यक्त गरेका थिए ।कार्यक्रममा एनआरएन बेल्जियमका महासचिब माधब सापकोटाले नेपालमा बहुसंख्यक हिन्दु धर्मावलम्बी भएको उल्लेख गर्दै संसारको एक मात्र हिन्दु राष्ट्र भनेर चिनिने नेपाललाई पुन धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र कायम गरिनु पर्ने, नेपालले धेरै प्रदेशहरुको आर्थिक भार थेग्न नसक्ने हुदा सकेसम्म कम प्रदेशहरुको निर्माण गरिनु पर्ने, राजनैतिक स्थिरताको लागी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने राय व्यक्त गरे।

एनआरएनका सल्लाहकार एंव एनआरएन बेल्जियमका पूर्व अध्यक्ष युवराज गुरुङले राष्ट्रिय जनावर तोक्न आवश्यक नरहेको यदि गाईलाई नै राष्ट्रिय जनावर मान्ने हो भने गाईलाई अपमान गर्नेलाई कडा दण्ड हुनु पर्ने, नेपाल सरकारको अनुमति लिएर बाहिर बसेका महिला बाट जन्मेका बच्चालाई नेपाली नागरिकता दिनु पर्ने, दलितको सट्टा अन्य सम्मानित शब्द उल्लेख हुनुपर्ने, सबै जात र क्षेत्र उल्लेख गरे पछी समानुपातिक उल्लेख गर्नु नपर्ने, नेपालको निशाना छापमा उल्लेख गरिएको ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ वाक्यांशलाइ नेपालीमा लेखिनु पर्ने राय व्यक्त गरे ।

त्यसैगरि दामोदर प्रसाद आचार्यले संविधानको प्रस्तावनामा बुद्व जन्मेको देश भनेर उल्लेख गरिनु पर्ने, राष्ट्रपति वा प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने, सभासदको शैक्षिक योग्यता स्नातक हुनुपर्ने राय व्यक्त गरे । अर्का सुझाबकर्ता दुर्गाप्रसाद सुबेदीले बलात्कारीलाई मृत्युदण्डको व्यवस्था हुनुपर्ने, पीआर प्राप्त ब्यक्तिले नेपालको राजनीतिमा भाग लिन नपाउने राय दिए।

समारोहमा एनआरएन महिला संयोजक सपिला राजभन्डारी र उप-संयोजक रजनी प्रधानले बिदेशमा एकल महिलाबाट जन्मेको बच्चाले नागरिकता पाउनु पर्ने, नागरिकताको लागी बाबु र आमा उल्लेख गरिएकोमा बाबु वा आमा हुनुपर्ने राय व्यक्त गरे।

त्यसै गरी बिरमान घर्तिमगरले  देश धर्म निरपेक्ष नै हुनु पर्ने, प्रदेशहरुको संख्या १० नै हुनुपर्ने र गैर आवासीय नेपालीहरुको बारेमा बताउदै एक पटकको नेपाली सधैको नेपाली हुनुपर्ने राय व्यक्त गरे भने अनिता लामाले पनि देश धर्म निरपेक्ष नै हुनु पर्ने राय दिएका छन।