वैदेशिक रोजगारी ठगी किन घट्दैन ?

वैदेशिक रोजगारीमा ठगिने क्रम अत्यधीक भए पनि अधिकांश शिक्षित वर्गलाई ठगीको उजुरी गर्ने निकायबारे थाहा छैन ।
युरोपियन युनियन र युएन ओमनको सहयोगमा मानवअधिकारका लागि जनमञ्च (पिपुल्स फोरम) ले १५ जिल्लाका गरेको अध्ययनका क्रममा ७० प्रतिशतलाई ठगीको उजुरी गर्ने निकायबारे थाहा नभएको तथ्य सार्वजनिक भएको हो ।
पिपुल्स फोरमका अनुसार ठगी निकायबारे २० दशमलव ५ प्रतिशतले निकायबारे थाहा नभएको तथा ४९ दशमलव १५ प्रतिशतले गलत उत्तर दिएका थिए भने ३० प्रतिशतले मात्र सही उत्तर दिएका थिए ।
nepali-workersसमाजमा शिक्षित वर्गका रूपमा चिनिने ३३ प्रतिशत सरकारी कर्मचारीहरूका साथै १५ प्रतिशत राजनीतिक दल, ३९ प्रतिशत गैरसरकारी संस्था र १३ प्रतिशत नागरिक समाजका प्रतिनिधिहरूबीच अध्ययन गरिएको थियो । त्यसैगरी, वैदेशिक रोजगारीको ठगीमा हुने सजायबारे कसैलाई पनि थाहा नभएको र पीडितले पाउने क्षतिपूर्तिबारे चार प्रतिशतलाई मात्र थाहा भएको अध्ययनले देखाएको छ । फोरमका अनुसार वैदेशिक रोजगारीको ठगीमा हुने सजायबारे ६८ प्रतिशतले थाहा नभएको र ३२ प्रतिशतले गलत उत्तर दिएका थिए भने सही उत्तर एउटा पनि आउन सकेन । त्यसैगरी, वैदेशिक रोजगारबाट पीडित हुनेले पाउने क्षतिपूर्तिबारे चार प्रतिशतले मात्र सही उत्तर दिए । ६९ प्रतिशतले थाहा नभएको र २७ प्रतिशतले गलत उत्तर दिएका थिए । ‘सरकारी कर्मचारी, राजनीति दल, गैरसरकारी संस्था र नागरिक समाजका प्रतिनिधिबीचको अध्ययनमा समेत अत्यन्त थोरैलाई मात्र वैदेशिक रोजगारीबारे थाहा रहेछ,’ पिपुल्स फोरमका अध्यक्ष सोम लुइँटेलले सोमबार वैदेशिक रोजगारीबारे सञ्चारकर्मीहरूको अन्तरक्रियामा भने, ‘यसैको कारण हामीले समाजमा सचेत वर्गदेखि सर्वसाधारणसम्मलाई जनचेतना जगाउनका लागि कार्यक्रम गरिरहेका छौँ ।’
अहिल श्रम स्वीकृति लिएर गएका करिब २५ लाखसहित ४० लाख नेपाली मलेसियाका साथै खाडी मुलुकमा रहेको अनुमान गरिएको छ भने कतिपय वैदेशिक रोजगारीका क्रममा ठगीमा परेको घटना पनि सार्वजनिक भइरहेका छन् । अध्ययनले भने वैदेशिक रोजगारीबाट ठगिने क्रमलाई न्यूनीकरण गर्नका लागि र ठगी सकेपछि उनीहरूलाई न्याय दिलाउनका लागि सक्रिय हुनुपर्ने वर्ग नै वैदेशिक रोजगारबारे अनभिज्ञ रहेको देखाएको हो । १५ जिल्लाका हजारभन्दा बढी विदेशबाट फर्केका नेपालीलाई जनचेतना जगाउने कार्य गरिसकेको र जनचेतना जगाउने कार्य जारी रहेको परियोजना संयोजक नवीन्द्र खतिवडाले जानकारी दिए ।
०६८/६९ मा सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार ७० प्रतिशतभन्दा बढीले अदक्ष कामदार विदेश जाने गरेका छन् । वैदेशिक रोजगारीमा पुगेर ठगिने कारणमध्ये क्षमता र सीपको अभाव प्रमुख कारण हो । दैनिक १ हजार ५ सयको दरले बिदेसिरहेको नेपालमा वैदेशिक रोजगारीको कारण सकारात्मक र नकारात्मक दुवै प्रभाव परेको छ । ‘वैदेशिक रोजगारीबारे सरकारले महत्त्व दिन थाले पनि अझै जनचेतनाको स्तर उकास्नुपर्ने आवश्यकता देखिएको छ,’ युएन ओमनकी आर्थिक सशक्तीकरणविद् सरु जोशी श्रेष्ठले भनिन् ।
सुरक्षित आप्रासन राष्ट्रिय सञ्जाल एवं प्रवासी नेपाली समन्वय समितिका प्रतिनीधि सोम लामिछानेले वैदेशिक रोजगारीमा जाँदा नठगिन र ठगेर आएपछि उचित न्याय पाउनका लागि सञ्जालले सात जिल्लामा वैदेशिक रोजगारी सूचना केन्द्र स्थापना गरी जनचेतना जगाउने कार्य गरिरहेको जानकारी दिए ।
सिन्धुपाल्चोक, धादिङ, कञ्चनपुर, बर्दिया, झापा, मोरङ, सुनसरी, चितवनलगायत १५ जिल्लामा २ सय ३४ जनाबीच सो अध्ययन गरिएको थियो ।