विश्वकप फुटबलको आयोजक कतारका नेपाली दास सरह !

सन २०२२ मा गरिने विश्वकप फुटबलको आयोजक बन्ने अवसर पाएको कतारमा पूर्वाधार निर्माणका क्रममा श्रमिकहरूको शोषण भइरहेको तथ्य अन्तर्राष्ट्रिय श्रम सँगठनले उठान गरेको थियो । त्यसपछि यो विषय अन्तर्राष्ट्रिय रूपमा चर्किएको हो । शोषित श्रमिकहरूमा नेपालीहरूको सँख्या ठुलो रहेको भन्दै अन्तर्राष्ट्रिय सँस्थाहरूले आवाज उठाएका छन् । यसै क्रममा, ब्रिटेनको एउटा दैनिक पत्रिका द गार्डियनले कतारमा नेपालीहरु अहिलेको समयमा पनि दास सरह जीवन बिताइरहेको र दैनिक रुपमा एकजना नेपालीको मृत्यु हुने गरेको खोजमूलक समाचार प्रकाशित गरेको छ।

फोटो- गार्डीयन
फोटो- गार्डीयन
सन २०२२ मा आयोजना गरिने विश्वकप फुटबलका लागि आवश्यक संरचना निर्माणमा कार्यरत नेपाली श्रमिकहरुको दयनीय अवस्था पनि उक्त समाचारपत्रले चित्रित गरेको छ।
नेपालीहरुको एउटा प्रमुख गन्तब्य रहँदै आएको कतारमा नेपालीहरुले भने अनुसार तलब नपाउने, दयनीय अवस्थामा बस्नुपर्ने, कैयौं महिनासम्म तलबै नपाउने, संझौतामा उल्लेख भएको भन्दा फरक किसिमको कठिन र कष्टकर काम गर्नुपर्ने समाचार बारम्बार नेपालमा पनि प्रकाशित हुँदै आएका छन्।
कतारमा फुटबलको विश्वकप आयोजकहरुले गार्डियनको रिपोर्टमा जनाइए अनुसार आफ्नो देशमा विदेशी कामदारहरुप्रति गरिएको व्यवहारबाट आफुहरु स्तब्ध भएको बताएका छन्।
आयोजक समितिले उक्त समाचारपत्रले लगाएको आरोपहरुबारे अनुसन्धान गर्ने बताएको छ। विश्वकप आयोजकहरूमध्ये केही सदस्यहरूले यसअघि नै यसमा चासो व्यक्त नगरेका होइनन् ।
फुटबलको सर्वोच्च संस्था फिफाले श्रमिकहरु माथि गरिएको भनिएको दुर्व्यवहारबारे चासो व्यक्त गर्दै आगामी अक्टोबर ३ र ४ मा स्वीजरल्याण्डको जुरिखमा हुने कार्यकारी समितिको बैठकमा यो विषयमा छलफल गर्ने र कतारी अधिकारीहरुसँग पनि सम्पर्क गर्ने जनाएको छ। स्मरणिय छ, कतारमा विश्वकपको आयोजना गर्ने निर्णय त्यतिखेरै विवादमा परेको थियो । कतारले थुप्रै विकासशील देशका प्रतिनिधिहरूलाइ पैसा खुवाएर निर्णय प्रकृयामा प्रभाव पारेको कुरा उठेको थियो । त्यसै बेला नेपालको फुटबल सँघका प्रमुख गणेश थापाले समेत पैसा लिएको चर्चामा आएको थियो ।
कतारमा चार लाखभन्दा ज्यादा नेपाली कामदारहरु रहेको अनुमान गरिन्छ।

गार्डियन, बीबीसी र आइ. एल. अो. रिपोर्टमा आधारित