राष्ट्रिय साहित्य सम्मेलन तनहुँमा हुने

आगामी भदौ २ गते राष्ट्रिय साहित्य सम्मेलन तनहुँको आँबुखैरेनीमा हुने भएको छ । पहिलो पटक हुन लागेको आँबुखैरेनी महोत्सवमा राष्ट्रियस्तरको साहित्य सम्मेलन हुन लागेको हो ।
हाम्रो sahityaसम्मेलनमा ‘मोफसल साहित्य’ को विषयमा राष्ट्रिय तथा स्थानीय साहित्यकारले छलफल गर्नेछन् । मोफसल के हो ? साहित्यमा मोफसल हुन्छ की हुँदैन, राजधानी र मोफसलको दूरी, साहित्य सीमान्तकृत छ की छैनजस्ता सवालमा साहित्यकारले बहस गर्नेछन् ।
देशका विभिन्न जिल्लाका साहित्यकार आँबुखैरेनीमा १ गते नै भेला भएर सांस्कृतिक झाँकीहरुको अवलोकन गर्ने छन् भने २ गते साहित्य सम्मेलन हुने आँबुखैरेनी स्रष्टा समाजका अध्यक्ष तथा साहित्य विभाग संयोजक अनिल श्रेष्ठले जानकारी दिए । सम्मेलनमा काठमाडौँ, चितवन, गोर्खा, लमजुङ, पोखरा, तनहुँ, नवलपरासीलगायतका जिल्लाबाट साहित्यकार सहभागी हुने श्रेष्ठको भनाइ छ ।
सम्मेलनमा साहित्यकार खगेन्द्र सङ्ग्रौला, श्यामल, तीर्थ श्रेष्ठ, सरुभक्त, डा कृष्णराज अधिकारी, भूपिन, राजकुमार बानियाँ, ईश्वर कँडेल, ईश्वरमणि अधिकारीलगायत करिब ५० जना साहित्यकारले समसामयिक साहित्यको विषयमा चर्चा गर्नेछन् भने बृहत् रचना वाचन पनि हुने आयोजकले जनाएको छ ।