राष्ट्रिय युवा प्रतिभा पुरस्कार प्रदान

युवा तथा युवासँग सम्बन्धित रचनात्मक तथा प्रेरणादयी कार्य गरेका मुलुकभरका २० युवा तथा संस्थालाई युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा प्रतिभा पुरस्कार प्रदान गरेको छ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनीहरूलाई पुरस्कार प्रदान गरिएको हो। युवाको क्षेत्रमा कार्य गरेबापत पुरस्कृत हुनेमा सातजना युवा प्रतिभा तथा दुईवटा संस्था छन्।
पुरस्कृत हुनेमा चीनको राष्ट्रिय प्राकृतिक विज्ञान प्रतिष्ठानबाट अनुसन्धानकर्तामा छनोट भएर अन्तर्राष्ट्रिय युवा वैज्ञानिक उपाधि पाएका ललितपुरका डा. राजीवकुमार झा, दुई दशकदेखि रंगमञ्चमा क्रियाशील मण्डला थिएटरका संस्थापक राजन खतिवडा, सात महादेशको सात उच्च हिमाल आरोहण गर्ने प्रथम महिला तथा समावेशी महिला आरोही सगरमाथा अभियानको नेतृत्व गरेकी सुस्मिता मास्के छन्।
पुरस्कृत डा. झाले दृष्टिविहीन विद्यार्थी पढ्ने गुल्मीको विद्यालय र भिन्न क्षमताको शारीरिक अवस्था भएका विद्यार्थी पढ्ने धनुषाको विद्यालयलाई ५०-५० हजार रुपैयाँ सहयोग गर्ने बताएका छन्।
श्रमिक महिला तथा बालबालिकाको अधिकारका क्षेत्रमा क्रियाशील महिलाका निम्ति महिला मञ्चकी संस्थापक सदस्य दाङकी गोमावती पुन, युवा सशक्तीकरणको क्षेत्रमा क्रियाशील नेपाल युवा संस्था सञ्जाल (आयोन)का पूर्वअध्यक्ष सिन्धुलीका प्रदीप परियार, एक हजार आठ सयजना स्वयंसेवकमार्फत ३५ हजार मानव सागरलाई एकताबद्ध गराएर मानव निर्मित राष्ट्रिय झन्डा बनाएर विश्वभर चर्चा कमाएका काठमाडौंका भवेश खनाल पनि पुरस्कृत भएका छन्।
यस्तै ‘गीति नाट्य परम्परामा राष्ट्रकवि माधवप्रसाद घिमिरे’, ‘आधारभूत नेपाली समालोचना’ र ‘भीमनिधि तिवारीः सम्झना र समीक्षा’ नामको कृति समीक्षा गरेकी दाङकी डा. बिन्दु शर्मालाई पनि पुरस्कार प्रदान गरिएको छ।
त्यस्तै संस्थागततर्फ अपांगता भएका महिलाको क्षेत्रमा क्रियाशील नेपाल अपांग महिला संघ र युवाको क्षमता विकास तथा भूकम्प प्रभावित क्षेत्रमा युवा स्वयंसेवक परिचालन गराउन सक्रिय भूमिका निर्वाह गरेको युवा संस्था सञ्जाललाई यस पुरस्कार प्रदान गरिएको छ। पुरस्कारको राशि एक लाख रुपैयाँ छ।
कार्यक्रममा गृमन्त्री वामदेव गौतमले युवालाई मुलुक निर्माणमा प्रयोग गरिनुपर्ने बताए। उनले मुलुक संघीय राज्यमा गएपछि कार्यान्वयनका लागि युवाको भूमिका महत्वपूर्ण हुने बताए। युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले युवाको मुद्दा राज्यको मुद्दा बन्न नसकेको बताए।