राफ्टिङ् गरेर चितवन जाने र गैँडा हेर्ने

चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ जनावर हेर्ने र नदीमा राफ्टिङको रोमाञ्चकारी यात्राको अनुभव सँगसँगै लिन खोज्नेहरुलाई यो अवसर चाँडै जुट्दै छ । नारायणी नदी किनारमा रहेका पश्चिम चितवनका चार वटा सामुदायिक वनले पर्यटकलाई आकर्षित गर्न नौलो कार्यक्रम ल्याएका छन् ।

raftingमंगलपुर र गुञ्जनगर गाविसमा रहेका ज्ञानेश्वर, सेतीदेवी, सिद्धि गणेश र मझुवा सामुदायिक वन दुर्लभ वन्यजन्तु गैँडाको राम्रो वासस्थल हो । यी ठाउँका गैँडा हेर्न जाँदा नारायणीमा राफ्टिङको मज्जा पनि लिन सकिने भएको छ । चारवटा सामुदायिक वनको संयुक्त समितिले नारायणगढदेखि मंगलपुरसम्म राफ्टिङ र त्यसपछि जङ्गल घुम्ने कार्यक्रम निर्माण गरेका छन् । नारायणी नदीमा सञ्चालन गर्ने राफ्टिङ कार्यक्रमको सोमबार उद्घाटन पनि गरियो । चारवटा सामुदायिक वनले आठ सय हेक्टर क्षेत्रफल ओगटेका छन् । यी जङ्गलमा कम्तीमा पनि १७ गैँडा छन् । ‘गैँडा मात्रै होइन, यहाँ हरिणका बथानहरु छन्, चराहरु पनि धेरै नै छन् । मजुरका हुल देख्न पाइँन्छ’, ज्ञानेश्वर सामुदायिक वनका अध्यक्ष वसन्तकुमार थापाले भने । नारायणगढबाट जम्मा सात किलोमिटर टाढा रहेको छ सो ठाउँ ।

र्याफ्टिङ गरेर जाँदा बढीमा दुई घण्टामा त्यहाँ पुगिन्छ । राफ्टिङ र वन्यजन्तु अवलोकनका लागि गरेर तीनदेखि चार घण्टासम्मको कार्यक्रम बनाउन सकिने थापाले बताए । ‘राफ्टिङको रोमाञ्चक जलयात्रा र दुर्लभ वन्यजन्तु हेर्न पाउने अदभूत जङ्गल पदयात्रा एकै ठाउँ गर्न पाइने अवसर योभन्दा अन्यत्र छैन’, सेतीदेवी सामुदायिक वनका अध्यक्ष दीपक अधिकारीले भने । सो ठाउँ नेपालको केन्द्र नारायणगढ बजार र प्रख्यात पर्यटकीय क्षेत्र सौराहानजिकै छ । ‘त्यसैले यहाँको राम्रो प्रचारप्रसार हुने हो भने पर्यटकहरु आउन कुनै कमी हुने छैन’, चितवन पर्यटन विकास समितिका महासचिव विश्व सुवेदीले सुझाव दिए । सो क्षेत्रको सम्भावनाको बारेमा चारैतर्फ जानकारी गराउने योजनामा वन समितिका पदाधिकारी रहेका छन् । ‘¥याफ्टिङ र जंगलयात्राको एक जनासँग कति पैसा लिने, थप सुविधा के कति दिने, के कसरी सेवा उपलब्ध गराउने भन्ने बारेमा सल्लाह परामर्श हुँदैछ । चाँडै नै प्याकेज र मूल्य तय गर्नेछौँ’, ज्ञानेश्वर सामुदायिक वनका अध्यक्ष वसन्तकुमार थापाले भने । वन समितिहरुलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको सौराहा कार्यालयले यसका लागि सहयोग गरेको छ ।

चितवनका गैंडाबजार क्षेत्र पुग्न सहज हुने भएकाले तत्कालका लागि ठुला होटल र लज खोल्ने योजना भने नरहेको ज्ञानेश्वरका अध्यक्ष थापाले बताए । गाउँमा होमस्टेहरु राख्न सहयोग गर्ने उनको भनाइ छ । सेतीदेवी सामुदायिक वनका उपभोक्ताले शरणपुर गाउँका तीन वटा घरमा १२ जनासम्म अटाउन सक्ने होमस्टे निर्माण गरेका छन् । ‘पर्यटन फस्टाउँदा संरक्षणमा असर पार्न हामी दिदैनौं । पर्यटन विकासले स्थानीयलाई कसरी फाइदा दिन सक्छ त्यो पनि ख्याल राख्छौं’, ज्ञानेश्वरका अध्यक्ष थापाले भने । संरक्षणले स्थानीयको जीवनमा समृद्धि पनि ल्याउँछ भन्ने देखाउन पर्यटनमार्फत आर्थिक स्रोत जुटाउने योजनामा लागेको उनले जानकारी दिए ।