राजनीतिमा मौलाएको ठेक्कापट्टा र गुण्डागर्दी हट्नु पर्छ: नारायणकाजी श्रेष्ठ (भिडियो अन्तरवार्ता)

पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दलहरुले ठेक्कापट्टा र कमाइ धन्दाको पेशा राजनीति बनाएकाले नै नेपालको आज यस्तो अबस्था भएको बताएका छन्। माओवादी केन्द्रका अन्तराष्ट्रिय ब्युरो प्रमुख समेत रहेका नेता श्रेष्ठले युरोप भ्रमणको क्रममा एक अन्तरबार्ताको क्रममा यस्तो बताएका हुन्।

narayankaji with basantaउनले भने,” ठेक्कापट्टा, बन्द ब्यापार, उद्योग धन्दा, पेशा वा कमाइ धन्दा ठानेर तपाई राजनीतिमा आउनुभएको हो कि जनताको सेवाका लागि साधान र माध्यमका रुपमा समर्पित भएर राजनीतिमा आउनुभएको हो ? यो प्रश्न धेरै गम्भिर छ।  नेपालमा सबै दलहरुमा यस्तै नराम्रो गतिबिधि मौलाएको हुँदा मुलुकले प्रगती गर्न सकेको छैन।”

उनले कुनै पनि हालतमा बैशाख ३१ गते स्थानीय चुनाव र २०७४ माघ महिना भित्र तीनवटै चुनाव सरकारले सम्पन्न गरी छाड्ने बताए। असन्तुष्ठ मधेशी मोर्चालाई चुनावमा ल्याउँन अन्तिम समयसम्म पनि प्रयास गर्ने तर कदमकदाचित मोर्चाले भाग नलिए पनि सरकारले निर्बाचन गरी छाड्ने दाबी गरे।

श्रेष्ठले भने,” चुनाव गर्ने बारे कुनै दुबिधा नै छैन, दुबिधा राख्नु भनेको चाहिँ चुनाव नहुने खतरा पैदा गर्नु हो, त्यो भनेको देशमा संबैधानिक संकट उत्पन्न गर्नु हो।र संवैधानिक संकट उत्पन्न गर्नु भनेको, अहिलेका सबै उपलब्धिहरु गुम्ने खतराको घण्टी बजाउनु हो।”

पछिल्लो क्रममा झन् मुलुकमा बाह्य हस्तक्षेप बढेको भन्दै,भारतीय सशस्त्र सीमा बलको गोली लागेर कञ्चनपुरमा नेपाली युवाको मृत्यु भएको घटनालाई उनले हस्तक्षेपकारी र नेपालीलाई अपमूल्यन गरिएको घटना भनेका छन्। उनले घटना पछि तत्काल नेपाल सरकारले लिनु पर्ने अडान बारे चर्चा गर्दै भने,”प्रारम्भमा सरकारको प्रतिक्रिया जुन ढंगले आउनुपर्थ्यो, त्यो ढंगले आएन भन्ने जनतामा गुनासो छ, त्यसलाई अन्यथा लिनु हुँदैन। तर, पछि सरकारले त्यसलाई सच्चाएको छ।”

श्रेष्ठले घटनापछि तीन वटा कुरामा भारत स्पष्ट हुनुपर्ने पनि बताए।  यो बारे चर्चा गर्दै भने, “ पहिलो कुरा भारत सरकारलेमाफी माग्नुपर्छ,दोस्रो जसले गोली चलायो, त्यसलाई भारत सरकारले कारबाही गरेर नेपाललाई जानकारी दिनुपर्छ। र तेस्रो सहिदको परिबारलाई भारत सरकारले भरणपोषणका लागि आर्थिक सहयोगको घोषणा गर्नुपर्छ।” माओबादी केन्द्रका उच्च तहका नेता श्रेष्ठले मुलुकको पछिल्लो क्रमको बारेमा खुलेर चर्चा गरेका छन्।

पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग पत्रकार बसन्त रानाभाटले लिएको पुरा अन्तरबार्ता: