यु–१९ क्रिकेट टोली स्वदेश फिर्ता

उन्नाइस वर्षमुनिका खेलाडीहरु सम्मिलित आइसिसी यु–१९ विश्वकप छनोट प्रतियोगिताको विजेता बनेको नेपालले u 19 cricket teamसातौँपटक विश्वकप भिड्ने भएको छ । साथै, नेपाली राष्ट्रिय टोलीले अबको चार महिनापछि बङ्गलादेशमा हुने विश्वकप प्रतियोगिताबाट विजयी हुने प्रण पनि गरेको छ ।

मुलुकको क्रिकेट खेलको इतिहास रचना गर्दै फर्केको नेपाली टोलीका कप्तान राजु रिजालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देशवासी, खेल पदाधिकारी एवम् क्रिकेटका शुभेच्छुक र सञ्चारकर्मीमाझ भने, ‘टीमको कडा मेहनत र एक अर्काको सहयोगले यो नतिजा प्राप्त भएको हो ।’

प्रतिस्पर्धा कडा भए पनि नेपाली टोलीको आपसी सहयोग र कडा मेहनतका साथ खेलेकाले अहिलेको सफलता आएको भन्दै उनले विश्वकपमा राम्रो नतिजा ल्याउन अझै कडा मेहनत चाहिने बताए । बाहिर गएर अभ्यास गर्न पाएको खण्डमा ब्याड्सम्यान र बलरलाई राम्रो गराउन सकिन्छ, कप्तान रिजालको भनाइ छ ।

नेपाली टोलीका प्रशिक्षक जगत टमटाले नेपाली टोलीका लागि अहिले राम्रो अवसर छ, अझै राम्रो अभ्यास गरेर गएको खण्डमा जित अवश्य नेपालको पक्षमा आउने बताए ।  ‘अहिलेको टीमका खेलाडीमा गुणस्तर छ, उनीहरुलाई नेपाली जनता, सरकार र राष्ट्रिय खेलकुद परिषद्ले अवसर दिन्छन् भने दुई वर्षमा राष्ट्रिय टोलीमा जान सक्छन् यिनका लागि ‘एक्सपोज’ चाहिन्छ,’ उनले भने ।

प्रशिक्षक टमाटाले छनौट चरणको पाँचवटा प्रतियोगितामा आयरल्याण्ड टप प्रतियोगी भएपनि नेपाली टीमले राम्रो खेलेको भन्दै बलिङ ६०, ब्याटिङ ४० प्रतिशत रहेको बताए । उनले ब्याटिङमा सुधार गर्न जरुरी रहेको र विश्वकप चुनौतीपूर्ण भएकाले बाँकी अवधिमा अन्तराष्ट्रियस्तरको अभ्यास गर्न जरुरी भएकाले यसलाई क्रिकेट सङ्घले ध्यान दिने विश्वास व्यक्त गरे ।

छनोट चरणमा पाँच टीम नेपाल, आयरल्याण्ड, अमेरिका, युगाण्डा र पपुवा न्युगिनीले प्रतिस्पर्धा गरेका थिए । मलेसियाको राजधानी क्वालालम्पुरमा बिहीबार विश्वकप छनोट प्रतियोगिताको अन्तिम खेलमा आयरल्याण्डलाई तीन विकेटले पराजित गर्दै नेपाल विजेता टोली बनेको थियो ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज मध्याह्न आइपुगेको टोलीलाई नेपाल क्रिकेट सङ्घका पदाधिकारी तथा कर्मचारीले स्वागत गरेका थिए । रासस