‘युरेसियाको स्पर्श’ लण्डनमा सार्वजनिक

    Krishna Bajgai लन्डनको स्पिकर्स कर्नरमा साहित्यकार कृष्ण बजगाईंको नियात्रासङ्ग्रह युरेसियाको स्पर्श सार्वजनिक गरियो । साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक  डोलिन्द्र शर्माले उक्त पुस्तक सार्वजनिक गरेका हुन् । अभिब्यक्ति स्वतन्त्रताका लागि कानूनद्वारा संरक्षित ऐतिहासिक स्थल स्पिकर्स कर्नरबाट पुस्तक सार्वजनिक गर्न पाउँदा आफूलाई खुशी लागेको कुरा शर्माले बताए  ।    
    बेलायतका नेपालीहरुको साहित्यमा रुची देखेर प्रशन्नता ब्यक्त गर्दै आगामी दिनमा साझा प्रकाशनले बेलायती स्रष्टाहरुका कृति प्रकाशन गरिदैं जाने कुरा बताए ।
         नेपाल बेलायतको दौत्य सम्बन्ध कायम भएको द्विशतवार्षिकीको अवसरमा नेपाली दूतावास लन्डनमा आयोजित पुस्तक प्रदर्शनीमा साझा प्रकाशनका दुइसय शिर्षकका तीनहजार थान पुस्तकको लिएर महाप्रबन्धक शर्मा बेलायत आएका हुन् । लन्डनमा जारी पुस्तक प्रदर्शनी फलदायी रहेको बताउँदै साझा प्रकाशन बचाउन बेलायतमा रहेका नेपाली स्रष्टाहरुबाट सहयोगको अपेक्षा राखेको कुरा बताए ।
           लामो समयदेखि बेलायतमा रहेर कथा, लघुकथा, नियात्रा, कविता आदि विधामा कलम चलाउँदै आएका साहित्यकार बजगाईंको सातौं कृतियुरेसियाको स्पर्श साझा प्रकाशनले बजारमा ल्याएको हो । चीन, जर्मनी, बेलायत, फ्रान्स, बेल्जियम तथा लक्जेम्बर्गका सत्रवटा यात्रानुभूति उक्त पुस्तकमा रहेका छन् ।