म्याग्दीको रोहोटे गाउँ: ‘मासु, मदिरा र जुवातास निषेधित’ घोषणा

समाजमा शान्ति र भाइचाराको सम्बन्ध स्थापित गर्ने तथा महिला र पुरुषबीच हुने सबै किसिमका सामाजिक विभेद अन्त्य गर्ने उद्देश्यका साथ म्याग्दीको एक गाउँका महिलाले आफ्नो गाउँलाई मांस, मदिरा र जुवातास निषेधित गाउँ’ घोषणा गरेका छन् ।
मदिरा सेवन र जुवातासका कारण घरझगडा र समाजमा कलह बढ्न थालेपछि म्याग्दीको रोहोटे गाउँका महिलाले आफ्नो गाउँलाई मांस, मदिरा र जुवातास निषेधित गाउँ घोषणा गरेका हुन् ।
बडादसैँको पञ्चमीका दिनदेखि गाउँलाई मांस, मदिरा र जुवातास निषेधित गाउँ घोषणा गरिएको र यसमा पुरुषहरुले ऐक्यबद्धता जनाउनुका साथै अबदेखि चाडबाड तथा अन्य कुनै पर्व र महोत्सवहरुमा गाउँमा मदिरा सेवन गरेर झैझगडा नगर्ने र जुवातास नखेल्ने भनेर अग्नि साक्षी राखेर प्रतिज्ञा गरेका छन् । गत असारमा यहाँका महिलाले आफ्नो गाउँलाई समान ज्याला गाउँ घोषणा गरेका थिए ।

समान काम गरेर साँझ घर फर्कंदा पुरुषले रु ५०० र आफूले रु ३०० ज्याला पाउँदा महिला दुःखी थिए । तर समान ज्याला गाउँ घोषणापछि पुरुष र महिला दुवैले बराबरी ज्याला बुझ्दा उनीहरु हर्षित भएका छन् ।

केही दिनअघि स्थानीय जमुना निउरेको नेतृत्वमा महिलाले एक समिति गठन गरेर गाउँलाई समान ज्याला गाउँ घोषणा गरी पुरुष र महिलाले गरेको श्रमको मूल्य पनि बराबर नै हुनुपर्ने र अबदेखि श्रमको पारिश्रमिक दिँदा विभेद नगर्ने निर्णय भएको स्थानीय शिक्षक तुलप्रसाद शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार महिला र पुरुष दुवैको एक दिनको पारिश्रमिक रु ५०० तोकिएको छ । यो ज्याला कृषि क्षेत्रमा गर्ने कामका लागि मात्र भएको बताइएको छ ।