मेलामा ‘धरहरा’ को आकर्षण

बुटवलमा जारी लुम्बिनी एक्स्पो, अन्तर्राष्ट्रिय व्यापार मेला अवलोकन गर्ने अधिकांशलाई मेलास्थल बुटवल मण्डपमा बनाइएको ‘धरहरा’को प्रारुपले भूकम्पको सम्झना गराएको छ ।

गत वैशाख १२ गतेको भूकम्पले धरहरालाई खण्डहरमा परिणत मात्र गराएन, त्यसमा चढेका कयौंँको ज्यान समेत लिएको थियो । धरहराको खण्डहरलाई भूकम्पको चिन्ह मान्ने धेरैछन् । भूकम्पले ढलाएको यही धरहराको झल्को मेटाउन मेलास्थल बुटवल मण्डपमा त्यसको प्रारुप निर्माण गरी राखिएको छ ।

मेलामा आउने अधिकांशले धरहरा प्रारुपको अवलोकन गर्ने गरेको मेला आयोजक मूल समितिका संयोजक रुपन्देही व्यापार सङ्ङ्घका अध्यक्ष श्रीकृष्ण पोखरेलले बताउनुभयो । धरहारसँगै शान्तिदीपको प्रारुप पनि निर्माण गरिएको छ । यो शान्तिदीपले लुम्बिनीको झल्को दिएको छ । मुख्यद्वार मायादेवी मन्दिरको प्रारुपमा बनाएका आयोजकले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले शान्तिदीपको झल्को पनि मेलास्थलमा दिएका हुन् ।

ऐतिहासिक र धार्मिक महत्व बोकेका प्रारुप एकै ठाउँमा पाएपछि मेला अवलोकनकर्ताको भीड धरहरा र शान्तिदीपमा लाग्ने गरेको हो । यी प्रारुपमा फोटो खिच्नेको तछाडमछाड नै हुनेगरेको छ ।

धरहरा र शान्तिदीप परिसरमा ‘सेल्फ’ खिच्नेको उत्तिकै भीड हुन्छ । हातमा अत्याधुनिक प्रविधिका मोबाइल बोकेका सेल्फी लिन पालो पर्खिने गर्छन् । तिलोत्तमा नगरपालिकाका शिव गौतमले मेलामा धरहरा र शान्तिदीप अत्यन्त सुन्दर ढङ्गले बनाइएको बताउनुभयो ।
मेलास्थलमा राखिएको फोटो, चित्र तथा मूर्तिकला प्रदर्शनीस्थलमा पनि अवलोकनकर्ताको भीड लाग्ने गरेको छ । लुम्बिनी अञ्चलका धार्मिक, सामाजिक, ऐतिहासिक क्षेत्रका तस्बीर प्रदर्शनीका लागि राखिएका छन् । रासस