मुस्लिमहरूको ‘रोजा’ के हो ?

मुसलमानहरूको महान् धार्मिकग्रन्थ कुरान अवतरण भएको महिना रमजान पर्व आज सोमबारदेखि सुरु भएको छ ।

एक महिनासम्म चल्ने रमजानमा मुसलमान धर्मावलम्बीले उपवास बस्नुपर्छ, जसलाई ‘रोजा’ भनिन्छ । सूर्य उदाउनुभन्दा लगभग दुई घण्टाअगाडि केही खानेकुरा (सेहहरी) खार्ई सुरु हुने रोजा सूर्यास्त भइसकेपछि अवतारिक गरी रोजा खोल्नुपर्छ । रोजाको समयमा मुसलमानहरू निराहार बस्नुपर्छ ।

रोजाजस्तो कठिन व्रत गर्ने व्रतालुले यस महिनालाई पवित्र महिनाका रूपमा लिएको पाइन्छ । रोजा अशक्त, बिरामी र बालबालिकाबाहेक सबैलाई अनिवार्य छ । ३० दिनको यो रमजान महिनालाई अल्लाहले तीन भागमा बाँडेका छन् । पहिलो १० दिनको अवधिलाई बरक्कत (फलिफलाप), दोस्रो १० दिनको अवधिलाई रहमत (दयामाया) र अन्तिम १० दिनको अवधिलाई मगफिरत (अल्लाहबाट माफी) पाउने मुसलमानहरूले यी तीन कुरा प्राप्त गर्न अल्लाहको आदेशलाई पालना गर्न रोजा बस्ने गर्छन् ।

रोजा बस्ने धर्मावलम्बीले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नुका साथै रातमा थप तरावीको नमाज पढ्ने गर्छन् । रमजान महिना गरिब, दीनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाका लागि विशेष व्यवस्था गरेका छन् ।

यसमा प्रत्येक मुसलमानले जनही एक किलो ७५० ग्राम गहुँको मूल्य फित्तरा निकाल्नुपर्छ भने साढे सात तोला सुन र ५२ तोला चाँदीभन्दा बढी हैसियत भएका मुसलमानले आफ्नो सम्पत्तिबाट अढाइ प्रतिशत जकात (कर) निकाल्नुपर्छ, यस्तो फित्तरा र जकात गरिब, असहाय र दीनदुःखीलाई बाँड्नुपर्छ । फित्तरा र जकात इदुलफित्र अर्थात् इदको नमाज पढ्नुभन्दा अगावै निकालि सक्नुपर्छ ।

यो नियम नेपालको मुसलमानका लागि मात्र नभई संसारभरिकै मुसलमानमा लागू हुन्छ । अल्लाहका लागि त्याग, समर्पण र बलिदानको भावना जागृत भएर आउने रमजान महिनामा मुसलमान आस्था र विश्वासलाई अझ दृढ बनाउन मद्दत गर्छ ।

रोजाको अवधिमा शारीरिक रूपमा दुब्लाए पनि मानसिक रूपमा निकै गौरवान्वित ठान्ने मुसलमानले इस्लाम धर्मका पाँच आधारभूत सर्त कलमा, रोजा, नमाज, जकात र हजअन्तर्गत हजबाहेक सबै आधारभूत सर्तहरू पूरा गर्ने अवसर प्राप्त गर्छन् ।

तीस दिनको रोजा पूरा गरिसकेपछि इदको चाँद अर्थात् चन्द्रमा हेरेर भोलिपल्ट इदगाहमा गएर पुरुष मुसलमानले सामूहिक रूपमा नमाज पढी इदुलफित्र मनाउँछन् । एकले अर्कोलाई अँगालो मारेर इद मुवारक एवम् बधाई साटासाट गरी घरमा गएर मीठो–मीठो खानेकुरा खाने गर्छन् । यो क्रम तीन दिनसम्म चल्ने गर्छ ।