मिडिया हाकिमलाई उपहारस्वरूप पत्नी प्राप्त

दक्षिण अफ्रिकामा एउटा अनौठो घटना प्रकाशमा आएको छ । सरकारी प्रशारण संस्था ‘साउथ अफ्रिका ब्रोडकास्टिङ कर्पोरेशन’ (एसएबीसी) का प्रमुखले उपाहारस्वरुप पत्नी प्राप्त गरेको खबरले दक्षिण अफ्रिकामा हल्लीखल्ली मच्चिएको छ ।
सो खबरलाई देशको लैंगिक समानता सम्बन्धी आयोगले समेत पुष्टि गरेको छ । आयोगका अनुसार एसएबीसीका प्रमुख मोत्सेएनेंगविरुद्ध उजुरी दर्ता भएको छ । उजुरीमा उनले उपहारस्वरुप पत्नी प्राप्त गरेको तथा यसले लैंगिक समानताको सिद्धान्तलाई उल्लंघन गरेको आरोप लगाइएको छ ।
wife-giftसरकारले पनि सो घटनाप्रति खेद प्रकट गरेको छ । तर मोन्सेएनेंगेले भने यसबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् । विभिन्न समाचार एजेन्सीहरुका अनुसार मोन्सेएनेंगेले देशको उत्तरी प्रान्त लिम्पोपोको भ्रमणका क्रममा यस्तो अवसर पाएका थिए । स्थानीय भाषामा अधिक कार्यक्रम चाहना राख्ने स्थानीयवासीसँग उनको भेट भएको र उनीहरुको माग पुरा गरेका कारण मोन्सेएनेंगेलाई उपहारस्वरुप एक युवतीलाई पत्नीका रुपमा जिम्मा लगाइएको बताइन्छ । स्थानीय एक अखबारले सो घटनाको विवरण प्रकाशित गर्दै त्यतिबेला मोन्सेएनेंगेलाई करिब १० युवती देखाइएको र तीमध्ये उनले एकलाई रोजेको दाबी गरिएको छ ।
यद्यपी सबै युवतीका आमाबुवाले यो प्रक्रियामा स्वीकृती जनाएको बताइएको छ । सो अखबारका अनुसार मोन्सेएनेंगेले २३ वर्षीया एक युवतीलाई मन पराएका थिए जो मानव संशाधन प्रबन्धन विषयकी छात्रा हुन् । ती युवतीको साथमा उनलाई एउटा गाई र बाच्छासमेत उपहार दिइएको बताइएको छ ।
दक्षिण अफ्रिकाको सांस्कृतिक मन्त्रालयले यसलाई सांस्कृतिक मूल्यको दुरुपयोग भनेको छ । ‘कुनै पनि महिलालाई उपहारका रुपमा प्रयोग गर्नु लोकतन्त्र, स्वतन्त्रता र खासगरी महिलाहरुको योगदानको अपमान हो,’ मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ । (एजेन्सी)