बालबालिकाको मानसिक विकासमा रसायनको प्रभाव

एक्काइसौँ शताब्दीका बालबालिकाको स्वभाव शताब्दीयौँ पहिलेका बालबालिका भन्दा धेरै फरक छैन । आधुनिक युगमा पनि विश्वको सबै क्षेत्रका बालबालिकामा बालसुलभ क्रियाकलाप समान खालको नै हुन्छ तर विकासको दौडमा उनीहरूलाई सुरक्षित राख्न विशेष ध्यान दिनु आवश्यक भएको छ ।
जब तपाईं यस बारेमा गहिरिएर सोच्नुहुन्छ, प्रविधिले विभिन्न पक्षबाट तपाईंको बच्चालाई नकारात्मक प्रभाव परिरहेको पाउनुहुनेछ । अचेल थाहै नपाएर कयौँ खालका रसायनबाट बालबालिका प्रभावित भइरहेका छन् । ती रसायनले वास्तवमा उनीहरूको मानसिक विकासमा गहिरो असर पार्छ ।
हालैका वर्षमा मानसिक विकाससँग जोडिएका विकार अटिज्म, अटेसन डेफिसिट हाइपरएक्टिविटी डिस्अर्डर (एडीएचडी) र डाइलेसिया व्यापक हुन थालेको छ । रोगप्रति बढेको चेतना र अत्याधुनिक जाँच पद्धतिले गर्दा रोगको निदान बढेको देखिए पनि बालबालिका जुन किसिमको वातावरणमा हुर्किरहेका छन्, त्यसले मानसिक विकासमा मुख्य रूपमा दुष्प्रभाव पारिरहेको अनुसन्धानकर्ता बताउँछन् ।
अमेरिकाको हार्वर्ड स्कुल अफ पक्लिक हेल्थ र आइक्यान स्कुल अफ मेडिसिनको अनुसन्धान टोलीले बालबालिकाको मानसिक विकासमा नकारात्मक प्रभाव पार्ने पाँचवटा औद्योगिक तत्व (रसायन)को सन् २००६ मा पहिचान गरेको थियो । ती हुन्ः सिसा, मिथायलमक्र्युरी, पोलिक्लोरिनेटेड बाइफिनायल्स, आर्सेनिक र टोल्युन । विद्युतीय ट्रान्सफर्मर, क्यापासेटर र मोटरमा पोलिक्लोरिनेटेड बाइफिनायल्सलाई प्रयोग गरिएको हुन्छ । त्यस्तै, माटो, पानी, कीटनाशक आर्सेनिक हुन्छ भने काठलाई सुरक्षित राख्न पनि यस रसायनको प्रयोग गरिन्छ । टोल्युनलाई ग्यासोलिन प्रशोधनमा प्रयोग गरिन्छ र पेट्रोलियममा आधारित अन्य उत्पादनमा पनि यसलाई हालिन्छ । पेन्ट थिनर र नङ पालिसमा पनि टोल्युन हुन्छ ।
यी सबै रसायनले हाम्रो स्नायुतन्त्रमा विषको काम गर्छन् । जसले गर्दा भ्रुण र शिशुको न्युरोन विकासमा प्रतिकूल प्रभाव पर्ने तथा स्कुले विद्यार्थीको पढाइ राम्रो नहुने, लापरबाही गर्ने, असन्तुलित मानसिक विकास हुने र आईक्यु कमजोर हुने समस्या देखिन्छ । अहिले आएर अनुसन्धान टोलीले मानसिक विकासमा असर पार्ने थप छवटा रसायनको पहिचान गरेको छ । ती हुन्ः म्याग्निज, फ्लोराइड, क्लोरपाइरिफस, डाइक्लोरोडाई फिनायल ट्राइक्लोरोइथेन, टेट्राक्लोरोइथेलिन र पोलिब्रोमिनेटेड डाइफिनायल इथर्स ।
अनुसन्धान टोलीका अनुसार पानीमा म्याग्निज पाइन्छ र यसको प्रभावले बच्चा गणितमा कमजोर हुने र ऊ चुलबुले हुने गर्छ । कहिले कहीँ पानीमा हुने तथा दाँत स्वस्थ पार्न मन्जनमा मिसाइने फ्लोराइडको प्रभाव परेमा बच्चाको आइक्यु क्षमता कमजोर हुन्छ । अन्य रसायनलाई कीटनाशकमा मिसाइन्छ । ती रसायनको प्रभावबाट बच्चामा सामाजिकीकरणको समस्या त आउँछ नै ऊ आक्रामक स्वभावको हुन्छ । एजेन्सी