मदन पुरस्कार राधा पौडेललाई

शिव रेग्मीलाई जगदम्बा-श्री पुरस्कार
Radha Paudel-Shiva Regmi२०७० सालको मदन पुरस्कारबाट राधा पौडेल पुरस्कृत भएकी छन् । उनको कृति ‘खलंगामा हमला’लाई मदन पुरस्कार प्रदान गरिएको हो । यो पुस्तक नेपालयले प्रकाशन गरेको हो।

मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले २ लाख रुपैयाँ राशिको उक्त पुरस्कार पौड्याललाई प्रदान गर्ने निर्णय गरेको हो ।

जगदम्बा-श्री पुरस्कारबाट भने शिव रेग्मी पुरस्कृत भएका छन् । उनलाई साहित्यिक पत्रकारिताको खोजी-अन्वेशण गरिएको भन्दै उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि २ लाख रुपैयाँ छ ।

चितवनकी स्थायी बासिन्दा राधाले जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लामा रहेकाबेला सदरमुकाम खलंगामा तत्कालिन विद्रोही माओवादीले गरेको आक्रमणको संस्मरण पुस्तकमा उतारेकी थिइन् ।

यी पुरस्कारहरु आउँदो नौरथामा वितरण गरिनेछन्।