भूकम्पपीडित रोजगारीको लोभमा बेचबिखनको उच्च जोखिममा

गत वैशाखमा गएको विनाशकारी भूकम्पपछि रोजगारीको लोभमा महिलाहरु पश्चिमी सीमा नाकाबाट हराउने तथा बेच्ने mahila bechabikhanक्रम बढ्न थालेका छन् । भूकम्पपछि दलालहरुले ललाइफकाई रोजगार दिने बहानामा महिलाहरु हराउने तथा बेच्ने क्रम बढेको मानव बेचबिखनविरुद्ध कार्यरत सङ्घसंस्थाले बताएका छन् ।

मानव बेच बिखनविरुद्ध कार्यरत माइती नेपाल कञ्चनपुरको तथ्याङ्कअनुसार मानव तस्करको ट्रान्जिट कञ्चनपुरका गड्डाचौकीलगायतका अन्य नाकाबाट सन् २०१५ मा २१६ महिला हराएका छन् । मोबाइल फोन, प्रेम सम्बन्धका कारण महिला हराउने तथा बेचिने क्रम बढेको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार गड्डाचौकीबाट हराएकामध्ये ११ जनाको मात्रै उद्धार गरिएको छ ।

उद्धारका लागि २२७ को निवेदन परेको थियो । सन् २०१४ मा २१४ हराएकामा २० मात्रै फेला परेका थिए । तथ्याङ्कअनुसार गतवर्षको तुलनामा हराउने बेपत्ता हुनेको सङ्ख्या यसवर्ष बढेको हो । पोखराबाट सिधै दिल्ली बस सेवाका कारण पनि मानव बेचबिखन जोखिम बढेको माइती नेपाल कञ्चनपुरका संयोजक भट्टको विश्लेषण छ ।

हराएकामध्ये अधिकांश सुदूरपश्चिमका पहाडी जिल्लाका महिला छन् । खुला सिमानाले मानव बेचबिखन नियन्त्रण हुन नसक्दा यस क्षेत्रका महिलाको बेपत्ता हुने क्रम बढेको संयोजक भट्टको भनाइ छ ।

घरेलु हिंसा, खुला सीमा र मानव बेचबिखनका कारण गड्डाचौकी नाकाबाट सुदूर र मध्यपश्चिमका ३१ जिल्लाका किशोरी तथा महिला बेचबिखन तथा ओसारपसारको सिकार हुने गरेको तथ्याङ्कमा उल्लेख छ ।

यसवर्ष कञ्चनपुरका सीमा क्षेत्रबाट बेचिन लागेका छजनाको उद्धार गरिएको छ । ८२ जनालाई सीमामा रोकथाम गरी घर फर्काइएको छ । गरिबी, देखासिकी प्रेम सम्बन्ध, मजबुरी र वैदेशिक रोजगारको महत्वाकाङ्क्षाका कारण १४ देखि १८ वर्षका किशोरी बेचबिखनको जोखिममा छन् । यसबाट सबैभन्दा बढी कञ्चनपुर जिल्ला प्रभावित रहेको माइती नेपालले जनाएको छ ।

यसवर्ष माइती नेपाल कञ्चनपुरले अदालतमा मानव बेचबिखनका दुई मुुद्दा दर्ता गरेको छ । मानव बेचबिखनविरुद्ध सङ्घसंस्था तथा सुरक्षा निकायको सक्रियताले बेचबिखनको मुख्य नाका गड्डाचौकीबाट भारत जाने महिला घटे पनि अहिले बेलौरी र दोधारा–चाँदनीको नाका बढी प्रयोग भइरहेको उहाँले जानकारी दिनुभयो ।

मुद्दाहरु अदालतमा विचाराधीन अवस्थामा छन् । खोजतलासका निवेदन बढी मात्रामा दर्ता भएको र बेपत्ता महिला न्यून मात्रामा फेला परेकाले उनीहरु बेचिएका हुन सक्ने आशङ्का गरिएको छ । रासस