भूकम्पका कारण १४ जिल्लाका ६० प्रतिशत विद्यालय प्रभावित

गत बैशाख १२ गतेको महाभूकम्पका कारण बढी प्रभावित १४ जिल्लाका ६० प्रतिशत भन्दाबढी सामुदायिक विद्यालय प्रभावित भएका छन् । शिक्षा बिभागका अनुसार १४ जिल्लाका ५ हजार ७ सय ९४ सामुदायिक विद्यालयमध्ये ३ हजार ५ सय ७ विद्यालय प्रभावित छन् ।
गोरखाका एक हजार ३ सय २३ विद्यालय भवनका ५ हजार ३ सय ७५ कक्षाकोठामध्ये २ हजार ९ सय ६५ कक्षाकोठामा पूर्णरुपमा क्षति पुगेको छ । त्यसपछि सिन्धुपाल्चोकका २ हजार २ सय ३७ र धादिङका २ हजार ५६ कक्षकोठा पूर्णरुपमा क्षति भएको बिभागले जनाएको छ ।
शुक्रबारसम्मको प्रारम्भिक विवरण अनुसार सिन्धुपाल्चोकका ७ सय ३८ कक्षाकोठामा गम्भीर क्षति पुगेको र ७ सय ७९ कक्षाकोठामा सामान्य क्षति पुगेको जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले जानकारी दिए । उनले भने, ‘हामी क्षतिको विवरण संकलन गर्ने क्रममैं छौं । जिल्लाका ५ सय ५५ वटा सामुदायिक विद्यालयका ६ हजार ३५ कक्षाकोठामध्ये ३७ प्रतिशतभन्दा बढी कक्षाकोठा पूर्णरुपमा क्षति भएको छ । जिल्ला शिक्षा कार्यालयमा समेत सामान्य क्षति पुगेको छ ।’
भूकम्पका कारण गोरखा, सिन्धुपाल्चोक, धादिङसहित काभ्रेपलाञ्चोक, नुवाकोट, ओखलढुङ्गा, ललितपुर, रसुवा, सिन्धुली, मकवानपुर, रामेछाप, काठमाडौं, भक्तपुर र दोलखाका ११ लाख भन्दाबढी विद्यार्थी प्रभावित भएको शिक्षा बिभाग सानोठिमी भक्तपुरले जनाएको छ । १४ जिल्लामा भूकम्पको बढी प्रभाव परेपनि ४१ जिल्लाका विद्यालयमा प्रभाव परेको छ ।
nepalchild-after-earthquake५ हजार एक सय ३१ विद्यालयका १३ हजार ३ सय १२ कक्षाकोठा पूर्णरुपमा ध्वस्त भएका छन् । ५ हजार १० कक्षाकोठामा गम्भीर क्षति र ६ हजार ५ सय २५ कक्षकोठामा सामान्य क्षति पुगेको छ । शिक्षा विभागका अनुसार विद्यालयका पूर्ण ध्वस्त भएका ती कक्षाकोठा कुनै पनि गतिविधि गर्न नमिल्ने अवस्थामा छन् । भूकम्पले ३२ जना शिक्षक २ सय २७ विद्यार्थीको मृत्यु भएको छ ।
४१ जिल्लाबाट एकहजार ६ सय ४३ शौचालयमा क्षति पुगेको तथ्याङ्क प्राप्त भएको र यसको विवरण संकलन हुने क्रम जारी रहेको शिक्षा बिभागले जनाएको छ । भूकम्पका कारण सामान्य क्षति पुगेका कक्षाकोठा सामान्य मर्मत सम्भार गरेर चलाउन सकिने अवस्थामा रहेका छन् ।
सरकारले आगामी जेठ १ गतेदेखि विद्यालय सञ्चालन गर्ने तयारी गरे पनि पूर्णरुपमा क्षति भएका विद्यालयमा कक्षा सञ्चालन गर्न कठिन देखिएको छ । भूकम्पका कारण भएको क्षतिकबो विवरण अद्याबधिक गर्ने र जिल्ला शिक्षा कार्यालय मार्फत विवरण आउने क्रम जारी रहेको बिभागले जनाएको छ ।
बिभागले जारी गरेको विवरणमा सिन्धुलीका एकसय ५५ विद्यालय प्रभावित भएको उल्लेख गरिए पनि कति कक्षाकोठामा क्षति पुगेको छ भन्ने बारेमा खुलाइएको छैन । त्यस्तै अधिकाँश विद्यालयका शौचालयमा क्षति पुगेको कुरा सञ्चार माध्यममा आइरहेको भए पनि अधिकाँश जिल्ला शिक्षा कार्यालयले शौचालयमा भएको क्षतिको विवरण पठाएका छैनन् ।
थोरै क्षति पुगेको भनिएका जिल्लाका प्रभावित विद्यालयको विवरण समेत संकलन हुन बाँकी रहेको बिभागले जनाएको छ ।