भरतपुर अब उपमहानगरपालिका, चितवनमा ५ नगरपालिका भए

सरकारले चितवनसहित देशभर ७ उमहानगरपालिका र ६१ नयाँ नगरपालिका घोषणा गर्ने तयारी गरेको छ । जिल्ला स्तरिय नगरक्षेत्र निर्धारण तथा सिफारिश समितीबाट नगरपालिकाहरुलाई उपमहानगरपालिका गठन गर्न सरकारलाई सिफारिश गरेको हो ।
Chitwan_mapजस अन्तरगत चितवनमा एक उपमहानगरपालिका र दुई नयाँ नगरपालिका सिफारिस गरिएको छ ।सिफारिस समितिले चितवनको भरतपुर नगरपालिकालाई उपमहानगरपालिका बनाउन सरकारलाई सिफारिस गरेको हो । उमहानगरपालिका बनेपछि अब भरतपुरको क्षेत्रफल २४२.३ वर्ग किलोमिटर हुनेछ । त्यस्तै १३ वडाबाट थप भएर अब २९ वडा उपमहानगरपालिकामा हुनेछ । भरतपुर नगरपालिकामा मंगलपुर, शिवनगर, गीतानगर, पटिहानी र फुलबारी गाविसलाई समावेश गरिएपछि भरतपुर उपमहानगरपालिका बन्ने आधार खडा भएको हो । अब भरतपुरको जनसंख्या एक लाख ९९ हजार ८ सय ६७ रहनेछ । वि.स २०३५ चैत्र २५ गते भरतपुरलाई सरकारले नगरपालिका घोषणा गरेको थियो ।
यस्तै माडी र नारायणी गरि दुई नगरपालिका थपिने भएको छ । माडीका चार गाविस बघौडा, गर्दी, अयोध्यापुरी र कल्याणपुर समावेश गरि माडी नगरपालिका बनाउन सरकारलाई सिफारिस गरेको छ । माडी नगरपालिकामा १२ वडा हुनेछन् । माडी नगरपालिकाको केन्द्र बघौडा–३ बसन्तपुर बजारलाई तोकिएको छ । माडीको जनसंख्या ३७ हजार ६ सय ८३ रहेको छ भने २ सय १८ वर्ग किलोमिटर क्षेत्रफल रहेको छ ।
त्यसैगरि पश्चिम चितवनका शुक्रनगर, मेघौली, जगतपुर र पार्वतीपुर गाविसलाई गाभेर नारायणी नगरपालिका बनाउने सिफारिस गरिएको छ । नारायणी नगरपालिकाको केन्द्र शुक्रनगरको अमृतनगरटाँडीलाई तोकिएको छ । यस नगरपालिकामा पनि १२ वडा रहनेछन् । ३९ हजार ९ सय ७ जनसंख्या रहने यस नगरपालिको क्षेत्रफल ७२.६ वर्ग किलोमिटर रहेको छ । सरकारले यसअघि चितवनमा दुई नगरपालिका थप गरेको थियो । गुञ्जनगर र शारदानगर गाविसलाई गाभेर चित्रवन नगरपालिका र खैरहनी, चैनपुर र कुमरोज गाविसलाई गाभेर खैरहनी नगरपालिका घोषणा गरेको थियो ।
यीसंगै अव जिल्लामा ५ नगरपालिका बनेका छन् । भटाभट नगरपालिका घोषणा गरिएसंगै ३६ गाविस रहेको चितवनमा अब १८ गाविस मात्र रहेका छन् । जसमा पहाडी इलाकाका ९ र तराई क्षेत्रका ९ गाविस मात्र बाँकी छन् ।