ब्लफ कलको पछि लाग्दा कोठीमा बेचिनुपर्‍यो

अहिलेको हाइटेक दुनियाँमा युवा पुस्ता जतिबेला पनि मोबाइलमा झुम्मिन्छन्। मोबाइलले सम्बन्ध र नाता जोडिदिने र टुटाइदिने मात्र होइन, कहिलेकाँही यही मोबाइलले कल्पनै नगरेको जोखिममा जीवनलाई धकेलिदिन्छ।

विराटनगरकी एक युवतीको जीवनमा मोबाइल अभिषाप सावित भएको छ। मोबाइलबाटै संवाद र सम्बन्ध बढाउँदा उनी भारतको वेश्यालयमा बेचिन् पुगिन्। मोबाइलमा आएको ब्लफ कल उठाउँदा उनले सोच्दै नसोचेको दुर्घटनामा जीवनमा बेहोर्नुपरेको छ। भारत नयाँ दिल्लीको चाँदनी चौकस्थित वेश्यालयमा बेचिएकी उनी दिल्लीमै काम गर्ने एक जना नेपाली युवकले उद्धार गरिदिएपछि विक्षिप्त अवस्थामा असार १ गते घर फिरेकी छिन्।
मोबाइलमा आएको ‘ब्लफ कल’ रिसिभ गरेर सम्बन्ध बढाउँदा ती युवती वेश्यालयमा बेचिन पुगिन्। संखुवासभा स्थायी घर भई विराटनगर-१६ बस्ने २१ वर्षीया सविना भण्डारी (नाम परिवर्तित) वेश्यालयमा बेचिएपछि पाँच महिनासम्म ‘यौनकर्मी’ बन्नु पर्यो। नेपाल प्रहरीले सीमासम्म पुगेर ती युवतीलाई उद्धार गरी विराटनगर ल्याएको हो।

womanवेश्यालयको झ्यालबाट हाम फालेर चाँदनी चौक बाहिर रोइरहेको भेटेपछि नेपाली युवकले जोगबनी सीमानासम्म ल्याइदिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्वराज पोख्रेलले जानकारी दिए। ‘शारीरिक र मानसिकरुपमा पनि उनको अवस्था दयनीय छ,’एसपी पोख्रेलले भने,’ब्लफ-कल रिसिभ गरेर सम्बन्ध बढाउँदा उनी दलालको शिकार भइछिन्।’ असार १ गते उद्दार गरिएकी ती युवतीलाई आफन्तको जिम्मा लगाइएको पोख्रेलले बताए। बेचबिखनमा संलग्न चारजना पक्राउ परेका छन्।
वेश्यालयमा रहँदा आफूलाई गुदा र मुखमासमेत अप्राकृतिकरुपमा मैथुन गराउने , एकैदिन दशजनासम्म यौनसम्पर्क गर्नु परेको, सहन नसकेर बेहोसभई ढल्ने गरेको र योनी तथा गुदाबाट अत्याधिक रक्तश्राव हुँदासमेत वेश्यालय सञ्चालिकाले जबरजस्ती सम्पर्क गर्न लगाउने गरेको ती युवतीले प्रहरीसमक्ष बयान दिएकी छन्। एसपी पोख्रेलले युवतीलाई उदृत गर्दै भने,’ बेहोस भएपछि फेरि पानी छम्केर उठाएर ग्राहकसँग जान भन्थे। नमान्दा पिट्थे। चुरोटले पोलिदिन्थे। एकछाक मात्र रोटी र दाल खान दिन्थे।’

यसरी फसिन् युवती
भण्डारीको मोबाइलमा आठ महिनाअघि अपरिचित नम्बरबाट फोन आयो। स्वर महिलाकै थियो। उनी थिइन् झापा दमक १० की मिना तामाङ। अभिभावक नभएकी उनलाई तामाङले आमाजस्तै माया दिनेसम्मको आश्वासन दिन सफल भइन्। युवती पनि झुक्किइन्। आफ्नै ज्वाईं नविन राई र छोरी सृजनालाई परिचालित गरी मिनाले युवतीलाई पूर्वका विभिन्न रमाइला ठाउँ घुमाइन्। उनलाई फसाउने काममा बाबा भनिन बिष्णु तामाङ पनि खटिए।

गत पुस १५ गते मिनाले नै युवतीलाई घुमाउन भन्दै हेटौंडा पु:याइन्। त्यहीं होटेलमा राखिन्। तीनदिन पछि उनी बेपत्ता भइन्। अनि होटेलमै हेटौंडाका एकजना युवक र नबिनले युवतीलाई सामुहिक बलात्कार गरे। बलात्कारपछि हेटौंडाकै युवकको सहयोगमा युवतीलाई दिल्ली लगेर एकलाख ५० हजार भारतीय रूपैंयाँमा बिक्री गरे। युवतीले प्रहरीसमक्षको बयानमा भनिन्,’हामीजस्तै अरु तीनजना नेपाली युवतीहरू पनि बन्धक बनाएर राखेका छन्।’ पक्राउ परेका जिल्ला झापा दमक १० गोर्खाली टोल बस्ने वर्ष ४५ की मिना तामाङ, वष की बुने भन्ने सृजना तामाङ,वर्ष २० की बाबा भन्ने बिष्णु तामाङ र ४. वर्ष २५ को नविन सुनुवार राईविरुद्ध मानव बेचबिखन तथा ओसार पसारसम्बन्धि मुद्धा चलाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
– कुमार लुइँटेल