बेल्जियममा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन सम्पन्न

बेल्जियमको लुभेनमा दुई दिने ‘अन्तर्राष्ट्रिय साहित्य सम्मेलन’ सोमवार ६ बुँदे घोषणा-पत्र जारी गर्दै सम्पन्न भएको छ । दोस्रो दिनको सम्मेलनमा नेपाली भाषा-साहित्यसम्बन्धी विभिन्न कार्यपत्र प्रस्तुत भएका थिए भने युरोपमा भएका विभिन्न साहित्यिक गतिविधिहरूबारे चर्चा गरिएको थियो ।

Sahitya sammelan belgium 2nd dayसम्मेलनका प्रमुख अतिथि संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति सरुभक्तले साहित्यको मूल्यांकन हतारमा नहुने धारणा राख्दै पछिल्लो समयमा प्रवासमा भएका साहित्यिक गतिविधिहरू उल्लेखनीय रहेको र नेपाली साहित्य विश्वभर फैलँदै गरेको बताउनुभयो । उहाँले यूरोपमा नेपाली साहित्यप्रेमीको उत्साहजनक उपस्थितिले आफू प्रभावित भएको बताउनुभयो । ।

कार्यक्रममा एनआरएन पूर्वअध्यक्ष जीवा लामिछानेले नेपाली कृतिहरूको अनुवादको आवश्यकता औंल्याउँदै यसका निम्ति सँस्थागत रूप मै पहल गर्नुपर्छ भन्नुभयो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले संस्था स्थापनाको रजत जयन्ती मनाउने तयारी गरिएको बताउनुभयो । वर्तमान अध्यक्ष पदम विश्वकर्माले सेप्टेम्बरमा जापानमा चौथो अन्तर्राष्ट्रिय साहित्य सम्मेलन हुन लागेको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रा.डा. खगेन्द्रप्रसाद लु्इँटेलले डायस्पोरा साहित्यको योगदान बारेमा कार्यपत्र प्रस्तुत गर्दै नेपाली डायस्पोराको मानक के हो भन्ने बारेमा स्पष्ट हुनुपर्ने र डायस्पोराको साहित्यक योगदानको नेपालका विश्वविद्यालय र प्रज्ञा-प्रतिष्ठानहरूले उच्च मूल्यांकन गर्नुपर्छ भन्नुभयो ।

त्यस्तै मधुपर्क साहित्यिक पत्रिकाका सम्पादक श्रीओम श्रेष्ठ रोदनले नेपाली साहित्यमा साहित्यिक पत्रिकाहरूको भूमिका र समस्याहरूबारे कार्यपत्र प्रस्तुत गर्दै लेखकहरू स्वयंले पढ्ने बानी बसाले साहित्यिक पत्रिकारिता फस्टाउने विचार व्यक्त गर्नुभयो ।

त्यस्तै ‘प्रवासमा नेपाली भाषा-साहित्यको अमरत्व, हामी सबैको साझा दायित्व’ शिर्षकमा कार्यपत्र प्रस्तुत गर्दै बेल्जियमका उपन्यासकार पंचम अधिकारीले नेपाली भाषा-साहित्यको विकास र विस्तार विश्वब्यापी रूपमा भए पनि डायस्पोरिक साहित्यको स्तरियताको प्रश्न पेचिलो रहेको र धेरै लेखिंदै जाँदा स्तर पनि उकासिने आशा व्यक्त गर्नुभयो ।

कार्यपत्रहरूमाथि केही विद्वान सहभागीहरूले टिप्पणी गरेका थिए । त्यस्तै, पोर्चुगलको साहित्यिक डायस्पोराका बारेमा मोहन आचार्य जलद, बेल्जियमको साहित्यिक डायस्पोराका बारेमा अनेसास बेल्जियमका संस्थापक अध्यक्ष कृष्ण बजगाईं र युरोपको साहित्यिक गतिविधिहरूका बारेमा अनेसासका युरोप क्षेत्र हेर्ने उपाध्यक्ष समलकुमार गुरूंगले प्रकाश पार्नुभएको थियो ।

सम्मेलनले जारी गरेको ६ बुँदे घोषणा-पत्रमा नेपाली भाषा-साहित्यको स्तरिकरण र एकरूपताको पहल, राष्ट्रिय-अन्तर्राष्ट्रिय सँस्थाहरूमार्फत कृतिहरूको अनुवाद र प्रकाशन, डायस्पोरिक साहित्यको मानक परिभाषा, साइबर साहित्यबाट प्रचार-प्रसार, डायस्पोरिक साहित्यको अभिलेखीकरण र डायस्पोरिक कृतिहरूको नेपालमा मूल्यांकन नभइरहेको अवस्थामा त्यसका लागि पहल गरिने कुराहरू उल्लेख छन् । अनेसास बेल्जियमका अध्यक्ष दीपेन्द्र केसीको सभापतित्वमा भएको सो कार्यक्रममा अनेसास बेल्जियमका महासचिव दीपकज्योति पौडेलले सहजकर्ताको रूपमा कार्यक्रम संचालन गर्नुभएको थियो ।

यसअघि, सम्मेलनको पहिलो दिन उदघाटन सत्रमा यूरोपभरका झण्डै ५० जना साहित्यकारले रचना वाचन गरेका थिए । दुई दिने सम्मेलनमा स्रस्टा र साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागीता रहेको थियो ।