बेल्जियमका प्रधानमन्त्रीको ईमेल ह्याकिङ

elio-di-rupo-बेल्जियमका प्रधानमन्त्री एलियो दि रूपोको व्यक्तिगत ईमेल खाता ह्याकर्सहरूले ह्याकिङ गरेको तथ्य सार्वजनिक भएको छ । ‘दि मोर्गन’ नामक दैनिक पत्रिकाले एक CD-ROM मा ह्याकर्सहरूबाट चोरी गरिएको इमेल प्राप्त भएको खबर छापेको छ । प्रधानमन्त्री रूपोको व्यक्तिगत ईमेल खाता Skynet.be बाट सयौँ मेल चोरी भएको हो ।
सन् २००४ देखि २००८ को अवधिमा चोरिएका ती मेलहरू ज्यादातर व्यक्तिगत रहेको पत्रिकाले जनाएको छ । सो अवधिमा रूपो फ्रेन्चभाषी सोसलिस्ट पार्टीका अध्यक्ष थिए भने झण्डै एक वर्ष फ्रेन्च समुदायको राज्य वालोनियाका प्रमुख मन्त्री थिए ।
इमेल ह्याकिङको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री रूपोले भनेका छन्- ‘हरेक व्यक्तिको नीजि जीवन हुन्छ । जुन संरक्षित हुनुपर्छ । जसले नीजि जीवनको सम्मान गर्दैन त्यो आपराधिक हुन्छ र त्यसै अनुसार कार्यवाही हुन्छ ।‘
ह्याकिङ कसले गर्यो भन्ने सवाल अहिले गम्भिर चर्चाको विषय बनेको छ । बेल्जियन प्रहरीको कम्युटर अपराधसम्बन्धी ब्युरोका प्रमुखले भनेका छन् । ‘ह्याकर समात्ने कुरा उसको कुशलतामा निर्भर गर्छ । तथापि, ह्याकर को हो भन्ने कुरा प्रायशः थाहा लाग्छ ।‘