बेल्जियमका पत्रकार सन्तोष न्यौपानेमाथि हातपात

Santosh neuबेल्जियममा सक्रिय पत्रकार सन्तोष न्यौपानेमाथि एक ब्लगमा समाचार लेखेकै रिसमा आक्रमण भएको छ । न्यौपाने नेपालको उज्यालो ९० नेटवर्क रेडियोका लागि समेत बेल्जियमबाट रिपोर्टिङ गर्छन्। केही दिनअघि उनले आफ्नै देशका कलाकारलाई आयोजक र त्यहाँका नेपालीले बेवास्ता गरेकोबारे माइसंसारमा एउटा ब्लग लेखेका थिए। त्यहाँ लेखिएका कुरा अतिरंजित भएको भन्दै एकथरि बेखुश थिए ।
त्यही पृष्ठभूमिमा सोमबार साँझ हातपातको घटना भयो । त्यो ब्लग किन लेखिस्, तँ कानूनी पत्रकार होस् ? भन्दै न्यौपानेलाई तथानाम गाली गर्दै जीवन शर्मा नामका एक स्थानीयले हातपात गरे । उनले पुलिस बोलाउने चुनाैति दिँदै दाहिने आँखामा ड्याम कि ड्याम हान्दै घाँटी अँठ्याएर कुटेका थिए ।

बेल्जियमको ब्रुजमा तिनै कलाकारहरुलाई बोलाएर दोस्रो पटक एभरेस्ट नेपाली समाजले सांगीतिक कार्यक्रम आयोजना गरेको थियो । त्यसैको रेडियो रिपोर्टका लागि कार्यक्रमस्थल पुगेका पत्रकार न्यौपाने कार्यक्रम स्थलमा रहँदै गर्दा समाजका सल्लाहकार शर्माले हातपात गरेका बताइएको छ । केहीले रोकेपछि न्यौपाने बँचेका भए पनि उनलाइ चोटपटक लागेको छ । माइसंसारको ब्लगमा भने शर्माको नाम उल्लेख भएको थिएन ।
आक्रमणकारी शर्माका बारेमा प्रहरीमा नजान त्यहाँका नेपाली समुदायले दबाब दिएपछि प्रहरी रिपोर्ट भएको छैन । लेखेकै आधारमा पत्रकार पिटिने र ‘बेल्जियन प्रशासनसमक्ष नेपाली समुदायको इज्जत जोगाउन’ आक्रमणकारीलाइ उन्मुक्ती दिने काम भएको छ ।
यसैबीच, सो घटनाको नेपाल पत्रकार महासंघ युरोप शाखाले घोर निन्दा गर्दै युरोपमा कार्यरत नेपाली पत्रकारहरु उपर अन्तरराष्टिय पत्रकार महासंघको सहयोगमा सम्वन्धीत देशको कानुनअनुसार कानूनी कारवाही अगाडी बढाउन कुनै पनि कसर बाँकी नराख्ने जानकारी गराएको छ ।