बच्चाको नाम: चुनौतीपूर्ण काम

Arnav D3नौ महिनाको खुशी, चिन्ता, सावधानी, खानपिनको नियम, लगाव र सपनाको दुनियाँ बिताउँदै २०१३ को सेप्टेम्बर आइपुग्यो । धेरैले हामीलाई सुझाव दिए । सचेत गरे । फेरिँदो दैनिकीका बारे अनुभव बाँडे । एक पुन्टे जन्मिन्छ भन्ने कुराले म र मेरी श्रीमति रोमांचित थियौं । तैपनि, एक अनिर्णित कुराले हाम्रो जोडीलाई घच्घचाइरहेको थियो । प्रसुतिको दिन आइपुग्न लाग्दा पनि नवजात राजकुमारको नाम हामीले निर्क्यौल गरीसकेका थिएनौं ।

थुप्रै मान्छेहरू हामीलाई सोद्धथे- ‘बच्चाको नाम के राख्दैछौ ?’
म जवाफ दिन्थें- ‘विचाराधीन छ ।‘
कति त अर्को भेटमा सिधै सोद्धथे- ‘अझै पनि निश्चित भएको छैन ?’
म किच्च दाँत देखाएर टार्थें ।

नेपालमा हिन्दू सँस्कारअनुसार बच्चा जन्मेको एघारौं दिनमा नामकरण हुन्छ । जसलाई हामी ‘न्वारन’ भन्छौं । जन्मेको पल र घडी अर्थात् समयअनुसार पण्डितको सुझावमा पहिलो अक्षर छानिन्छ र त्यही अक्षरलाई आधार बनाएर नाम राखिन्छ ।

तर, अहिले हामी पश्चिमी संसारमा बस्छौं र यहाँका मान्छेहरू बच्चा गर्भमा रहँदैमा नाम दिने र बोलाउने गर्छन् । अस्पतालमा जन्मने बित्तिकै बच्चाको नाम दिनुपर्ने हुन्छ । यो उनिहरू र हामीबीचको साँस्कृतिक भिन्नता हो । उसो त, पछिल्लो पुस्तामा आइपुग्दा हामीहरूबीच पनि पहिल्यै नाम छान्ने प्रचलन बढ्दो छ ।
तैपनि बच्चाको नाम छान्ने सवालमा युरोप-अमेरिका जस्ता पाताल प्रवासमा बच्चाको नामाकरण सजिलो छैन । खासगरी, गैर क्रिश्चियन र गैर युरोपेली अभिभावकहरूलाई यो एउटा ठुलै चुनौति हो ।
हामीसँग एकातर्फ नेपालको हिन्दू वा बौद्धमार्गी उद्भव छ, अनि भाषिक उद्गम अर्कै छ । युरोप-अमेरिकाको भाषिक र धार्मिक मूल हामीसँग नितान्त फरक छ । जसले गर्दा उनीहरूको र हाम्रा बालबच्चाको नामाकरणमा कुनै मिल्ती छैन । तर यो पश्चिमी संसारमा रहँदा हाम्रा सन्तानहरूको नाम गोरेहरूको जिब्रोमा भिज्ने खालको हुनु पनि उत्तिकै महत्वपूर्ण छ, हामीलाई ।

झण्डै डेढ दशकदेखि बेल्जियममा बसीरहेको यो पंक्तिकारले दक्षिणी ग्रिसदेखि उत्तरी फिनल्याण्डसम्म घुम्दा नाम उच्चारणको थुप्रै क्षुब्ध अनुभवहरू सँगालेको छ । त्यसबाहेक, यतै जन्मेका विदेशी मूलका नागरिकहरूले समेत झेल्नुपर्ने भेदभावका थुप्रै तथ्यकथाहरू सुनेको/पढेको छ । यी सबै कुराहरू संझेर ल्याउँदा युरोपमा जन्मने नेपाली अभिभावकका बच्चाहरूको नामाकरण सख्त बन्न सक्छ ।

यही वास्तविकतालाई बुझेर यस सालको ग्रिष्ममा मैले नामकरणबारे थुप्रै लेखहरू पढेँ । वास्तवमा, नाम युरोपेली जिब्रोले सजिलै उच्चारण गर्ने खालको हुनु, नामको अर्थ यताको भाषामा खराब नहुनु र स्मरणका लागि सहज हुनु आवश्यक मानिँदो रहेछ । अनौठो र अपरिचित नाम हुँदा अनेक अवसरबाट वन्चित हुनुपर्ने वा सीमान्तीकृत बनिने संभावना पनि रहन्छ । स्कूल र साथीसंगतिमा नाम कै कारणले छेडछाड हुने, भयभीत बनाइने र उपेक्षित बन्ने अवस्था बन्न सक्छ । तसर्थ, एशियाबाट आएका कतिपयले सहजीकरणका निम्ति कामकाजमा नामै बदलेर क्रिश्चियन नाम राख्ने पनि गर्छन् ।

यस सन्दर्भमा, युरोप र नेपाल दुबैतिर प्रचलनमा रहेका नामहरू उपयोगी लाग्छन् । तर यस्ता साझा नामहरू भेटिन निकै मुस्किल हुँदो रहेछ । यसको मुख्य कारण हो, युरोपेली नामहरू अधिकांश क्रिश्चियन धर्मसम्बद्ध छन् । आफूले नअपनाउने धर्मको र कुनै पुर्ख्यौली नाता पनि नभएको नाम आत्मसात गर्नु वैचारिक दिवालयापन नै हो । पूर्विया भारतवर्ष (दक्षिण एशिया) र पश्चिमी संसार दुबैतिर मिल्दाजुल्दा धेरै थोरै नामहरू प्रचलनमा छन् । जस्तै- मिलन, अदी/आदि, किरण, अभि, देवान/देवेन/देवीन, रोहण/रोवन, बोधि, नील, माला, माया, तारा, अनिता, काली, रोमा, निना, आशा । यी नाममा पनि केही क्लासिक बनिसकेका र केही परिवार भित्रै प्रयोगमा आइसकेको सन्दर्भमा मेरानिम्ति ज्यादा सहयोगी बनेनन् । एउटा चाखलाग्दो तथ्य के रहेछ भने छोराभन्दा छोरीको नामाकरणमा संसारैभर ज्यादा विकल्प र समानता पाइन्छन् । छोरोको नाम चयनका लागि भने दुष्कर नै छ ।

नाम छनौट बाबुको मात्र चयनले हुँदैन, आमाको रूचि पनि हुनै पर्ने हुन्छ । उसो त बाजे, बज्यैदेखि मामा र फूपूहरूको सम्म चाख हुन्छ यसमा । कहिलेकाँही यो चाख खिचातानी पनि बन्छ । जे भए पनि, कम्तिमा, बाबु-आमा दुबैले मन पराएको हुनु त जरूरी नै छ । मैलै मेरी श्रीमतिको रूचिपूर्ण नाम सोधेँ । उनको एउटै सुझाव थियो- वर्णमालाको पहिलो अक्षर होस् । अ/आ अर्थात A अक्षर ।

नेपाली अभिभावकहरूको नाम दिने प्रवृत्ति हेर्दा A र S अक्षरहरू सर्वप्रिय पनि देखिन्छन् । A प्रतिको मोह युरोप, अमेरिका र क्यानडासम्म रहेछ । A बाट नाम जुरे सबै कुरामा A ग्रेड नै ल्याउला भन्ने तिनको सपना हुनसक्छ ।

नामाकरणमा अर्को एक तथ्य पनि भुल्न सकिँदैन । युरोपेली-अमेरिकीहरूमा उपनाम दिने प्रचलन ब्यापक छ । जस्तो हामीकहाँ कसैको नाम ‘देवेन’ छ भने उसलाइ प्यारपूर्वक ‘देवु’ भनिन्छ, जबकी त्यही नामलाई अँगेजीभाषीहरू ‘देव्’ उपनाम दिन्छन् । सामान्यतया, युरोपेली देशहरूमा नामको पहिलो तिन अक्षर वा त्यही तिन अक्षरमा जोडजाड गरेर उपनाम बनाउने प्रचलन छ । यस्तो उपनाम बन्दा हास्यास्पद नहुने तर्फ पनि सतर्क रहनु जरूरी हुँदो रहेछ । नत्रभने बच्चाहरू हुर्कँदा स्कूल वा साथी-सँगतिमा हाँसोको पात्र बन्न सक्छन् ।
त्यसबाहेक एक ठाउँको मिठो नाम अर्को ठाउँमा पुग्दा भद्दा पनि बन्न सक्छ । जस्तो, नेपालमा एक नाम प्रचलनमा छ– हर्ष । हर्ष अर्थात् खुशी । त्यही मिठो नाम अँग्रेजीमा पढ्दा मिठो अर्थ बन्दैन ।

जीवनभर भनीरहनु पर्ने नाम असहज र अजीबको नबनोस भन्ने कुरामा सावधान हुनैपर्छ । तर त्यसो भनेर आफ्नोपन बिर्सेर हुबहु अर्काको नक्कल गर्दैमा आधुनिक बनिँदैन ।
यही नाम खोज्ने क्रममा, मथिङ्गलमा धेरै नामहरू भुन्भुनिए । जर्मनी, फ्रान्स, बेल्जियमदेखि अमेरिकासम्म लोकप्रीय रहेका नामहरूबारे सोचविचार गर्यौँ । अन्ततः म र मेरी श्रीमतिले बच्चा जन्मिनुभन्दा केही हप्ताअघि सँस्कृत शब्दबाट आएका मनपर्दो दुई नामहरू छान्यौँ र त्यससँगै केही पश्चिमेली नामहरू विकल्पमा राख्यौँ । दिन बित्दै जाँदा हामीलाई ती सँस्कृत शब्दहरू प्रीय लाग्दै गए । प्रसूति कक्षमा बच्चा जन्मनेबित्तिकै ‘मिडवाइफ’ ले बच्चाको नाम खोजिन् । मैले नाम टिपाएँ- Arnav ।

मेरी श्रीमतिले मसँग खुशि ब्यक्त गरिन्- अन्ततः हामी दुबैको मनपसन्द नाम भयो भनेर । लामो सोचविचार र माथापच्चिसीपछि हामीले आफ्नोपन भएको नाम रोज्यौँ । युरोपेली र अमेरिकीहरूले कति मन पराउलान् भन्नेतिर मतलब गरेनौं । जुन नाम हाम्रो साथी-सर्कल र नातागोतामा नवीन थियो, तर हामीले छानेको शब्द हजारौं वर्ष पुरानो देवभाषा थियो । सँस्कृतको अर्णव (Arnav) लाई अँग्रेजी भाषा बोलिने देशहरूमा ‘आर्नव’ उच्चारण गर्छन्, जुन नाम चर्चित नभए पनि ठ्याम्मै अपरिचित पनि होइन । अनि फिरिङ्गीहरूको जिब्रोको चिन्ता गर्दा, पश्चिमी पारामा Arnav लाई Arn वा Arnie उपनाम दिन सकिन्छ, जुन Arnold को उपनाम जस्तै बन्छ । Arnav को अर्थ हुन्छ ‘महासागर’ । महासागर हुन्छ- विराट, आश्चर्यजनक, रहस्यमय र शान्त । कहिले यो बेस्करी गर्जन्छ पनि ।

भोली सेप्टेम्बर १९ मा हामी हिन्दू परम्पराअनुसार एक साधारण विधिविधानका साथ छोरोको न्वारन गर्दैछौँ । धार्मिक परम्पराअनुसार राशीको नाम विद्वान पण्डितले पात्रोबाट फुराउनु हुनेछ । न्वारनमा बाबुको नाताले मैले छोराको कानमा उसको नाम फुकिदिनु पर्छ । सारा दुनियाँको निम्ति उसको कानमा मैले भन्नेछु- Arnav. यही अपनत्व भएको नाममा हामीलाई गर्व छ । यसैमा उसको जरा अडेको छ ।
– पंचम अधिकारी