फिरौती नदिएपछि मेनपावर व्यवसायीको हत्या

आफ्नै साथीको अपहरणमा परेका भैरहवाका मेनपावर सञ्चालक आकाश गुरुङको फिरौती तिर्न नसकेका कारण १५ दिनपछि नवलपरासीमा विभत्स हत्या भएको छ ।

शनिवार दिउँसो उनको शब बर्दघाट नगरपालिका – १० स्थित सामुदायिक वनमा फेला परेको हो । अपहरणकारीले गुरुङसँग एक करोड नगद माग गरेका थिए । त्यति रकम नपाएको १५ दिनपछि उनको शब जंगलमा भेटिएको हो । नचिनिने अबस्थाको शवका बारेमा जंगलमा काम गर्न गएका स्थानियले जानकारी गराएको समाचार कान्तिपुर दैनिकले लेखेको छ ।

गुरुङले लगाएको पहिरनका आधारमा मृतकको पहिचान खुलेको अनुसन्धानमा खटिएका डिएसपी हेमकुमार थापाले कान्तिपुरलाई जानकारी गराए । शव भेटिएको स्थल महेन्द्र राजमार्गको भूताहा बजारबाट करिब ४ किलोमिटर उत्तरमा रहेको छ ।

रुपन्देही सिद्धार्थनगरपालिका( ८ कैलाशपथ निवासी ३८ वर्षका गुरुङलाई अपहरणकारीले गत भदौ २८ गते अपहरण गरेर बेपत्ता बनाएका थिए ।