फिरन्ते राउटेका तिन मुखिया

जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायले नयाँ मुखिया चयन गरेका छन्। सुर्खेतको साटाखानी–१ पीपलटाकुरामा बस्दै आएका राउटे समुदायले पहिलो पटक नयाँ परम्पराअनुसार शुक्रबार मुखिया चयन गरेका हुन्।

rautesपहिलो पटक राउटे समुदायका तीनवटै गोत्रबाट तीन समानान्तर मुखिया चयन भएका हुन्। राउटे समुदायमा रास्कोटी शाहीको बाहुल्यता भएकाले पहिलो मुखियामा सूर्यनारायण शाही (रास्कोटी) चयन भएका हुन्। १ सय ४३ जनसंख्यामध्ये रास्कोटीको ७० प्रतिशतभन्दा बढी जनसंख्या छ। सूर्यनारायणले शुक्रबारदेखि कार्यभार सम्हालेका छन्।

यस्तै दोस्रोमा वीरबहादुर शाही (कल्याल) चयन भएका छन् भने तेस्रोमा स्ववंशी गोत्रबाट दिलबहादुर शाही चयन भएका छन्। राउटे समुदायको अनुसन्धान गरिरहेका सुर्खेत क्याम्पसका प्राध्यापक शेरबहादुर रायमाझीका अनुसार चार घण्टासम्म भएको छलफलपछि नयाँ मुखिया चयन गरिएको हो।

मुखियाको मृत्यु भएपछि मात्रै नयाँ मुखिया चयन गर्ने राउटे परम्परालाई उल्ट्याउँदै पहिलो पटक प्रजातान्त्रिक प्रक्रियाबाट मुखिया चयन गरिएको हो। पहिलो नम्बरमा रहेका मुखियाले समुदायलाई एकत्रित गर्ने, समस्याका समाधान गर्ने, सरकारी निकायहरूसँग समन्वय गर्ने, बसाइसराइँको व्यवस्था मिलाउने काम गर्छ।

यस्तै दोस्रो र तेस्रो नम्बरमा रहेका मुखियाले पहिलो मुखियाले भनेको आदेशअनुसार समुदायका सदस्यहरूलाई परिचालन गर्ने, आहारविहार जुटाउने, स्थानीय समुदायसँग र स्थानीय निकायसँग समन्वय गर्ने काम गर्ने जिम्मेवारी दिइएको छ।

नेतृत्व सुम्पँदै मैनबहादुर शाहीले आफू बिरामी भएकाले जिउँदो छँदै आफ्नो नेतृत्व सुम्पिएको बताए। ‘अब म हिँडडुल गर्न नसक्ने भएको छु, आफ्नो कार्यभार सुम्पँदै मैनबहादुरले भने– ‘मेरो सम्पूर्ण जिम्मेवारी आजैका मितिदेखि नयाँ मुखियालाई सुम्पेको छु।’

नेतृत्व पाएपछि सूर्यनारायणले समुदायलाई मिलाएर लैजाने बताए। ‘ठूलाबडाको सरसल्लाहमा समुदायको उन्नतिका लागि काम गर्नेछु।’ – उनले बताए। अनुसन्धानकर्ता रायमाझीका अनुसार सूर्यनारायणले स्वार्थका लागि कुनै पनि काम गर्ने छैनन्। उनले सबै जनतालाई मिलाएर लिने प्रतिबद्धता जनाउँदै आफूले गल्ती गरेमा तत्काल हटाउन आग्रह गरे। समुदायको विपक्षमा काम नगर्ने वाचा गर्दै उनले बाहिरी समुदायसँगको सम्बन्ध विस्तार गर्ने बताएका थिए। राउटे समुदायको नेतृत्व पाएपछि तीनै जना पहिलो पटक स्थानीय निकायसँग वार्ताका लागि आइतबार वीरेन्द्रनगर आउँदै छन्।