फिफामा नयाँ विवादः नेपालीहरू दास झैं काममा

Qatar stadiumकतारमा फिफा कपको स्टेडियम निर्माणका निम्ति दास झैं काम गरिरहेका नेपालीहरूको अवस्थाप्रति विश्व जगतको ध्यान खिंचिएको छ ।

इन्टरनेशनल ट्रेड यूनियन कन्फेडरेशन (ITUC) का महासचिव शरन बुलोको आरोप छ- “कतार एक दासत्व भएको राज्य हो । विश्व कपको पूर्वाधार निर्माणका क्रममा मर्नेको सँख्या टूर्नामेन्टका जम्मा खेलाडि (७३६) भन्दा ज्यादा हुने संभावना छ ।”

महासचिव शरन बुलोका अनुसार ज्यादातर नेपाल र फिलीपीन्सबाट आएका कामदारहरू शर्मनाक सुविधा र ज्यालामा काम  गरिरहेका छन् ।  यी कामदारहरूले घण्टाको ७८ युरो सेन्ट (करिब ८६ रूपैयाँ ) पाउँछन् । पश्चिमी संसारमा यो ज्याला लज्जाजनक हो । स्मरणिय छ, कतारको प्रति व्यक्ति आय विश्व कै उच्चतम छ ।

“यी कामदारहरू सानो कोठामा बस्छन् जहाँ ५० डिग्री तापक्रम सम्ममा निस्सासिएको हुन्छ । यी श्रमिकहरू कैदी जसरी रहेका छन् । तिनको पासपोर्ट प्रायशः तिनका मालिकहरूको कब्जामा हुन्छ र कामदारलाई तिनको इच्छामा फिर्ता गर्दैनन्,” इन्टरनेशनल ट्रेड यूनियन कन्फेडरेशनले उल्लेख गरेको छ ।

आगामी हप्तामा कतारमा कामको मापदण्ड निर्धारण गर्न फीफालाई दबाब दिन ITUC  ले एक अभियान शुरू गर्दैछ । शरन बुलो भन्छिन्- “यो धेरै मान्छेको लागि जीवन र मरणको सवाल हो ।”

२०२२ को विश्व कपको लागि कतारमा नौ नयाँ स्टेडियमहरू निर्माण हुँदैछ भने थप तीन स्टेडियमहरूको जीर्णोद्धार हुँदैछ ।

सन २०२२ मा कतारमा विश्व कप गर्ने फिफाको निर्णय समेत विवादास्पद बनेको थियो । खेलस्थान छनौटका क्रममा थुप्रै देशका राष्ट्रिय कमिटीका अध्यक्षहरूलाई घूस दिइएको समाचार आएका थिए । त्यसै क्रममा नेपाल कमिटीका अध्यक्ष गणेश थापाले समेत पैसा पाएको संचार जगतमा सार्वजनिक भएको थियो ।