पूर्वराजा शुक्रबार भारत जाँदै

मुलुकमा नयाँ संविधान बनाउने विषयमा दलहरूबीच सहमति नभएको र तोकिएको समयमा संविधान बन्ने विषयमा शंका उत्पन्न भएको अवस्थामा पूर्वराजा ज्ञानेन्द्र शाह साताव्यापी भ्रमणका लागि शुक्रबार भारत जानुहुने भएको छ।
Gyanendra-Shahनयाँ बन्ने संविधानमा नेपाललाई हिन्दु राज्य बनाउनुपर्ने माग गर्दै राप्रपा नेपाल र नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको समूहले आन्दोलन चर्काउन खोजिरहेको अवस्थामा पूर्वराजाको भारत भ्रमणलाई अर्थपूर्ण मानिएको छ।
निर्मल निवासले पूर्वराजाको भ्रमणलाई अति गोप्य राखेको छ। सार्क सम्मेलन नजिकिँदै गइरहेको र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउन लाग्नुभएका बेला पूर्वराजा अचानक भारत भ्रमणमा जान लाग्नुभएको हो।
पूर्वराजा शाहको टोलीमा उहाँका निजी सचिव सागर तिमल्सिना, संवाद सचिव डा. फणीराज पाठक, निजी अंगरक्षक सशस्त्र प्रहरीका डीएसपी उद्धव रावल र शाही अर्दली हरिशरण थापा रहनुभएको छ। सार्क सम्मेलन नजिकिँदै जाँदा पूर्वराजाको टोली भारत भ्रमणमा जानुको उद्देश्यबारे कुनै जानकारी दिइएको छैन। संविधानमा हिन्दु राज्य र राजतन्त्रको विषयमा बहस अघि बढाउन पूर्वराजाको टोली भारत भ्रमणमा जान लागेको अड्कलबाजी गर्न थालिएको छ।