पारसलाई ठाउँ छैन ज्ञानेन्द्र निवासमा

थाइल्यान्ड बस्ने भिसा अवधि समाप्त भएकाले पूर्वयुवराज पारस शाह नेपाल आउने निश्चित भए पनि परिवारमा उनी पुनस्र्थापना हुने सम्भावना अत्यन्त न्यून देखिएको छ। नेपाल आएपछि पारसले निर्मल निवासबाहिरै बास खोज्नुपर्ने अवस्था रहेको बताइएको छ।

Paras Shahपारसको भिसा अवधि साउन २१ गते समाप्त हुने भएकाले त्यसअघि नै उनी नेपाल आउने सम्भावना छ। अहिलेको स्थितिमा उनी पूर्वराजपरिवारको निर्मल निवासमा फर्किने सम्भावना नरहेको अवस्था छ। यसबारे पारसलाई पनि जानकारी दिइसकिएको  निर्मल निवास श्रोतलाइ उद्धृत गर्दै अन्नपूर्णले छापेको छ।

पत्नी हिमानीसँगको तिक्त सम्बन्ध र थाइल्यान्डमा प्रेमिकासँगको सहवासका कारण पनि पारसको सम्बन्ध पूर्वराजपरिवारसँग सौहार्द नरहेको दाबी उनी निकटवर्तीले गरेका छन्। उनलाई पूर्वयुवराजका रूपमा नेपाल सरकारले दिने गरेको सुरक्षा सुविधासमेत कटौती भइसकेको छ। पारसका निकटवर्तीले उनको नेपाल आगमन तथा सम्भावित बसाइप्रति पनि चिन्ता व्यक्त गरेका छन्।

पारस हृदयाघातका कारण गम्भीर अवस्थामा बैंककस्थित अस्पतालमा भर्ना भएका बेला पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल परिवारका सबै सदस्यसहित त्यसतर्फ गएका थिए। स्रोतका अनुसार त्यहाँको उपचार तथा बसाइका क्रममा मितव्ययी र सामान्य खर्च परिवारबाट प्राप्त भए पनि विभिन्न कारणले पारस र ज्ञानेन्द्रको सम्बन्ध मधुर नभएको अडकलबाजी बाहिर छ।

पूर्वराजा ज्ञानेन्द्र परिवारसँग प्राय: निर्मल निवासमा, यदाकदा नागार्जुन, शिवपुरी र सिमरामा समय बिताउँदै आएका छन्। पूर्वनिर्धारित कार्यक्रमअनुसार ज्ञानेन्द्र निर्मल निवासबाट अर्को साता केही दिनका लागि नागार्जुन जाने भएका छन्।

गाँजासम्बन्धी विवादका कारण गत साता पारस थाइल्यान्डमा पक्राउ परेका समाचार पनि सार्वजनिक भएका थिए।