परिवारको रिस साँध्न ६ वर्षे बालिकाको बलात्कार गरी हत्या

बाराको कलैयामा एक महिनाअघि ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटना रिस साध्नका लागि भएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालयले शुक्रबार बालिकको हत्या प्रकरणमा संलग्न अभियुक्तको बारेमा जानकारी दिँदै घटनाको कारण रिस साध्नका लागि भएको खुलाएको हो ।

भारतको रक्सोल घर भई कलैया नगरपालिका ७ घुसुकपुर टोलस्थित मामाघरमा बस्दै आएकी बालिका रियाकुमारी साहको गत चैत २७ गते बलात्कारपछि हत्या भएको थियो । बालिकाको हत्यालगत्तै प्रहरी निरीक्षक रामनाथ घिमिरेको नेतृत्वमा गठित अनुसन्धान टोलीले एक महिना लगाएर दोषी र कारण सार्जजनिक गरेको हो ।

स्थानीय सञ्जीवविक्रम शाहको योजनामा बालिकाको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ । बालिकाको मामाघरका सदस्यसहित आमा पार्वती साहसँग दुईतीन वर्षदेखि शाहको विवाद रहेको र सोही कारण रिस साध्न उनले बालिकाको हत्याको योजना बनाएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए ।

घटनामा शाहले स्थानीय बैजु राउत मेस्तरलाई समेत प्रयोग गरेका छन् । शाहको योजनाअनुसार मेस्तरले बालिकाको करणीपछि हत्या गर्ने काममा सहयोग पुर्‍याएको प्रहरी निष्कर्ष छ अन्नपूर्ण पोष्टबाट