नेपाल र नेपालीको सर्बोपरी हितका लागि केन्द्रित रहनेछौँ : सोम सापकोटा,सह-संयोजक एनआरएन, युरोप

गैर आवासीय नेपाली संघ (एन.आर.एन.) को सातौँ युरोपियन क्षेत्रिय बैठक तथा पाँचौ महिला भेला आगामी जुन ७ र ८ मा स्पेनको बार्सिलोनामा सम्पन हुन गैरहेको छ । भेलाको सरगर्मीसँगै चर्चा परिचर्चा चलिरहेको छ ।

कुन कुन विषयमा छलफल हुँदैछ ? तयारी  कुन अवस्थामा पुगेको छ ? somसम्मेलनका के कस्ता उद्देश्यहरु रहेका छन् भन्ने सन्दर्भमा आधारित रहेर गैरआवासीय नेपाली संघ युरोप सह-संयोजक सोम सापकोटासंग युरोपियन भेला अन्तर्गतको  रिपोटर्स एवं ब्रोडकाष्टिङ उप-समितिले गरेको छोटो कुराकानी –

* गैरआवाशिय नेपाली संघ युरोप क्षेत्रको  सातौ युरोपियन  क्षेत्रिय बैठक तथा पाँचौ महिला सम्मेलन जुन ७ र ८ मा  स्पेनको बार्सिलोनामा हुन गैरहेको छ । छलफल के के कुरामा केन्द्रित रहने छ ?

-गैर आवासीय नेपाली संघ युरोप क्षेत्रको सातौ युरोपियन क्षेत्रिय बैठक तथा पाचौ महिला सम्मेलन जुन ७,८  स्पेनको बार्सिलोनामा  हुदैछ । नेपाली नागरिकताको निरन्तरता, युवाहरुको शसक्तिकरण, ज्ञान र सिपको हस्तान्तरण, गैर आवासीय नेपालीद्वारा गरिएका र गरिने कल्याणकारी कार्यहरु, नेपाली उत्पादनको  युरोपमा बजार प्रवर्धन , प्रवास  तथा नेपालमा  सामुहिक लगानी, गैरआवासीय नेपालीले बिदेशमा सिकेका सिपलाई नेपालमा हस्तान्तरण , युरोपमा बैदेसिक रोजगार तथा सुरक्षित आप्रवाशमा रहेका समस्या र समाधान, गैर आवासीय  नेपाली संघ युरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषदद्वारा गरिएका, गरिने योजनाको प्रस्तुति र मुल्यांकन, युरोपका साझा समस्याहरु र समाधानमा संघको भूमिका, पत्रकारहरु तथा पत्रकार महासंघ युरोप शाखासंग छलफल, संघको बिधान र रक्तदान अनि पाचौ महिला सम्मेलनमा बैठक केद्रित रहने छ ।

* यो  भेला पहिलाको  भन्दा किन विशेष हुन्छ र कुनै नयाँ विषयमा विशेष छलफल हुँदैछ कि  ?

-गैर आवासीय  नेपाली संघ गठन भएको एक दशकपछि यसलाई नेपाल सरकारले बिधिवत रुपमा दर्ता गरि मान्यता दिएकाले पनि  यो वर्षको युरोपेली भेला विशेष हुनेछ । यो वर्षको भेलामा सकेसम्म न्युन रकम खर्च गर्ने र  सबै खर्च कटाएर बचेको रकमले नेपालमा सामाजिक कार्य गर्ने योजना रहेको छ ।युरोपका राष्ट्रिय समन्यव परिषदका बिचको एकता र गैर आवासीय नेपालीका पछिल्लो पिढी वा युवा वर्गलाई कसरि  नेपाल र नेपालीसित निकट राख्ने, आफ्नो भाषा र संस्कृतिमा एकाकार गराउने र तिनले सिकेको सिपलाई नेपालमा कसरि पुर्‍याउने भन्नेमा यस पटक विशेष छलफल हुँदैछ । विशेष रुपमा उठ्न लागेको अर्को मुद्दा हो “सुरक्षित आप्रवास ” । बिना सिप, भाषा र आफू जाने मुलुकको संस्कृति  र पद्दती नबुझिकनै कामको खोजिमा बिदेश जाँदा अनेक समस्यामा पर्ने गरेका छन् नेपालीहरु । यो भेलामा युरोपमा बैदेसिक रोजगार तथा सुरक्षित आप्रवाश रहेका समस्या र समाधान गम्भीर रुपमा  छलफल गर्ने छ ।

 * कार्यक्रमको तयारीका  बारेका केहि बताईदिनु हुन्छ कि ?

-बैठकको  तयारीका कार्यहरु द्रुत गतिमा अगाडी बढिरहेका छन । राष्ट्रिय समन्वय परिषद अन्तर्गत बनेका सबै उप समितिहरुले तयारीका लागि  आफ्नो कार्य लगभग पुरा  गरिसकेका छन् ।  हामी कार्यक्रम  हुने दिनको प्रतिक्षामा छौ । यसमा भाग लिनको लागि नेपालबाट परराष्ट्र मन्त्री, परराष्ट्र सचिव, युरोप क्षेत्रका राजदुतहरू , माथिल्लो स्तरका उधोगी  र ब्यापारीहरुलाई आमन्त्रण गरिसकिएको छ । आथित्यताका लागि १५० जना भन्दा बढीलाई आमन्त्रण गरि  पत्र पठाइएको छ । युरोपका २७ वटै देशका गैर आवासीय नेपाली  संघका पदाधिकारीहरु ,सदस्यहरु ,केन्द्रिय सदस्य,  पूर्व केन्द्रिय अध्यक्षहरु, केन्द्रिय स्तरका पदाधिकारी  लगायत गैर आवासीय नेपाली संघका अभियन्ता संगै अन्य माथिल्लो तहका ब्यक्तिहरुको उपस्थिति रहने छ ।समग्रमा कार्यक्रमको तयारी अन्तिम अवस्थामा पुगेको छ ।

*  यत्रो महँगो ठाउँमा कार्यक्रम गर्दै हुनुहुन्छ । खर्च कसरी जुटाउनु हुन्छ ?

-हामी गैरआवासीय नेपालीहरुबाटै यो खर्च जुटाउछौ । जस्तै दर्ता,गैर  आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको सहयोग र गैर आवासीय नेपाली संघ केन्द्रिय पदाधिकारी लगायत अभियान्ताहरुको सहयोग नै कार्यक्रमको खर्चको श्रोत  हो।

 * कार्यक्रममा  कति खर्च हुने अनुमान गर्नु भएको छ ? र बचेको रकम के गर्ने योजना छ?

-कार्यक्रम सकेसम्म कम खर्चमा सम्पन्न गर्नु नै हाम्रो पहिलो  प्राथमिकता हो । लगभग ३० देखि ३५ हजार युरो खर्च हुने अनुमान गरिएको छ भने २० हजार  युरो जति सहयोगका लागि आस्वासन पाईएको छ र २० हजार युरो  दर्ताबाट उठने अनुमान गरिएको छ | अझै १० हजार उठाउने  लक्ष्यसहित ५० हजार सम्म पुग्ने अनुमान गरिएको छ ।

*सधै जति उठायो त्यति खर्च गरिन्छ भनेर आलोचना खेपिरहेको अवस्थामा बचेको रकमलाई के गर्ने विचार गर्नु भएको छ त ?

-हामीले खर्चमा मितव्ययिता अपनाएर सके सम्म केहि रकम बचाउने प्रयासमा छौ र बचेको रकम युरोपियन  भेलाका  तर्फबाट तत्काल नेपालमा देखिने र भोगिने गरि कल्याणकारी कार्यमा खर्च गरिनेछ ।

  * अन्तमा केहि भन्न चाहनु हुन्छ कि ?

-विशेष गरि युरोपमा रहेका नेपालीका जल्दाबल्दा समस्याका  विषयमा यो भेला केन्द्रित रहने हुनाले पनि सम्पूर्ण युरोपवासी गैर आवासीय नेपालीलाई कार्यक्रममा सहभागी हुनको लागि हार्दिक अनुरोध गर्दछु ।p s