नेपाल बेल्जियम दौत्य सम्वन्धको ५० औ वर्षगाँठ मनाईयो |

embassy_of_nepal_in_londonनेपाल बेल्जियम सम्वन्धको ५० औ वर्षगाँठ नेपाली दूतावास बेल्जियमले  ब्रसेल्समा एक सेमिनारको आयोजना गरी मनायो|यूरोपियन इन्स्टिच्युट अफ एसियन स्टडीज(EIAS)सगको सहकार्यमा ‘नेपालमा लगानीका अवसरहरु’ बारेमा आयोजित सेमिनारमा नेपालमा हाईड्रोपावरमा लगानीको सम्भाव्यता र पर्यटन प्रवर्द्वन सम्वन्धमा छलफल गरीएको थियो|

कार्यक्रमका अध्यक्ष ईआइएएसका उपाध्यक्ष डिक गुप्वेलले नेपालको प्राकृतिक,सामाजिक तथा सांस्कृतिक सुन्दरताको चर्चा गर्दै जलश्रोत र पर्यटनमा लगानीका सम्भाव्यताहरु प्रसस्त भएकोले यस्ता किसिमका सेमिनारहरु सान्दर्भिक हुने बताए|

कार्यक्रममा ईयु तथा बेनेलक्सका लागी नेपाली राजदूत राममणि पोखरेलले नेपालमा जलबिधुत र पर्यटनमा प्रशस्त लगानीका संभावना रहेको उल्लेख गर्दै बिदेशी लगानी प्रवर्द्धन गर्न नेपाल सरकार प्रतिवद्ध रहेको जानकारी गराए|उनले नेपालमा लगानी गर्न आब्हान गर्दै लगानीकर्ताका लागी दूतावासले सक्दो सहजीकरण तथा सहयोग गर्ने समेत जानकारी गराए|

नेपाल राष्ट्र बैंकका बोर्ड अफ डिरेक्टरद्वय प्रोफेसर डा.श्रीराम पौडेल र डा.रामहरी अर्यालले लगानी र पर्यटन बिषयमा जानकारी गराएका थिए|पौडेलले नेपालमा लगानीका अवस्था बारे प्रष्ट पार्दै नेपालमा ठूला परियोजनामा गरीने लगानीलाई सरल र सहज बनाउन दुई बर्ष अघि लगानी बोर्डको गठन गरेको जानकारी गराए|त्यसैगरी अर्यालले नेपालको पर्यावरणीय सुन्दरताको साथै पर्यटनको बारेमा जानकारी गराए|उनले ख्यातीप्राप्त अन्तर्राष्ट्रिय संचारमाध्यम तथा अन्य सर्वेक्षणहरुले समेत बिभिन्न दृष्ट्रिकोणबाट नेपाललाई उत्कृष्ठ गन्तब्यस्थल ठहराएको उल्लेख गर्दै पर्यटकीय हिसाबले नेपालको भ्रमण अत्यान्तै आनन्ददायी र रमाईलो हुने बताए|

शुक्रवार यूरोपियन यूनियनको नेपाल हेर्ने महाशाखा प्रमुख मारिया कास्तिलो फेर्नान्देज,ग्लोबल वाटर इन्स्टिच्युटका अध्यक्ष प्रो.वलेरी नदरुज़नियेब्रसेल्स स्थित भुटानी राजदूत सोनाम त्शहोंग,बेल्जियमको फ्लान्दर्स प्रान्तका मध्य तथा दक्षिण एशिया लगानी तथा व्यापार व्यवस्थापक कारिन द भ्लीस्चोउवेर उपस्थित कार्यक्रममा नेपालको भौगोलिक अवस्था,जैविक श्रोत,जलश्रोत तथा श्रमलगायतका श्रोतहरुको पर्याप्त उपलब्धता,आन्तरिक तथा बाह्य बजारको यथेष्ठ उपलब्धता,सूचना तथा प्रबिधि,दक्ष जनशक्ति लगायत लगानी मैत्री नियम कानुन र सरकारको लगानी प्रवर्द्वन गर्ने नीति जस्ता कुराहरु जानकारी गराइएको थियो|

नेपाल र बेल्जियम बीच सन् १९६३ अगस्त १९ मा दौत्य सम्वन्ध कायम भएको थियो|बेल्जियम नेपालको लागी दातृराष्ट्रको रुपमा नरहे पनि बिभिन्न एनजीओहरु मार्फत नेपालमा सहयोग गर्दै आईरहेको छ|नेपालको परराष्ट्र मन्त्रालयको सन् २०११ को तथ्यांक अनुसार बेल्जियमबाट ५,१९७ जना पर्यटकहरु नेपाल भ्रमणमा गएका थिए|