नेपाली चेली अफ्रिकी डान्स रेस्टुराँमा नचाइन्छन्

अमेरिका र युरोप लैजाने सपना देखाउँदै अफ्रिकालाई मानव तस्करीको ‘ट्रान्जिट’ बनाइरहेको गिरोहले ‘मुजुरा नाच’ देखाउन भन्दै अफ्रिकी मुलुकहरूमा नेपाली चेली ओसार्ने क्रम बढेको छ।

नेपालीका लागि ‘अनअराइभल भिसा’ दिइने अफ्रिकाका केन्या र तान्जानियामा त्यसरी ल्याइएका युवती नक्कली कागजात, ‘ओभर स्टे’ र भिसाविहीन हुँदा जेलसम्म पुग्छन् ।

Dancers_2‘केन्याको पार्कलेन भन्ने ठाउँका डान्स रेस्टुराँमा मुजुरा नाच्ने १४ नेपाली युवतीलाई कागजातहीन अवस्थामा जेलमा हालिएको थाहा भयो,’ केन्यास्थित गैरआवासीय नेपाली संघका प्रतिनिधि कुलबहादुर कार्कीले भने, ‘भारतीय मूलका केन्याली रेस्टुराँ मालिकले जनही अढाई लाख रुपैयाँ धरौटी राखेपछि ती युवती जेलबाट बाहिर आएका छन्। तर काम गर्ने अनुमतिपत्र (वर्क पर्मिट) तत्काल नबनेमा उनीहरू फेरि जेल जाने अवस्था छ ।’ कार्कीसहित हालै केन्यामा नियुक्त अवैतनिक नेपाली काउन्सेलर जिम्मी आस्करले उनीहरूलाई निकाल्न पहल गरेका थिए ।

केन्याको सीमावर्ती मुलुक तान्जानियाका डान्स रेस्टुराँमा समेत नेपाली नर्तकीको संख्या बढेको गैरआवासीय नेपाली संघका प्रतिनिधि भरत रिजालले जानकारी दिए । ‘थाहा भएसम्म दार-ए-सलामस्थित ६ वटा डान्सबारमा ९० जति नेपाली केटी छन्,’ उनले भने, ‘तर उनीहरू वर्क पर्मिट बिनै काममा छन् भन्ने थाहा भएको छ ।’

विशेषतः दक्षिण अफ्रिका र त्यहाँबाट युरोप लैजाने भन्दै तान्जनिया ल्याएर चेलीहरूलाई बाध्यकारी काममा लगाइने गरेको पाइएको छ । केही भारतीय युवतीको नियति पनि यस्तै छ । उनीहरूलाई भारतीय, पाकिस्तानी, नेपाली दलाल हुँदै स्थानीय अफ्रिकी मूलका मालिकले ल्याउने गरेका छन्। केन्या, तान्जानिया र युगान्डामध्ये कतै ‘ओभरस्टे’ हुनासाथ उनीहरू अर्को देशमा छिरेर प्रहरी प्रशासनका नजरबाट उम्कने गरेका छन्।

दारेसलामस्थित अर्का एक नेपाली प्रतिनिधिका अनुसार रेस्टुराँमा नाच्नेबाहेक उनीहरूलाई धनी र नियमित ग्राहकसँग यौन धन्दाका लागि ‘बाहिर पठाइने’ समेत गरिएको छ । यसरी बाहिर गएबापत रेस्टुराँ मालिक र ती युवतीलाई दैनिक हजार डलरसम्म थप आम्दानी हुन्छ । दिनभर बन्धक जीवन बिताउने र रातमा मात्रै भारतीय मुजुरा नाच्न रेस्टुराँ लगिने पूर्वी नेपालका ती युवती आफ्नो परिबन्दबारे भने कहींकतै बताउन चाहँदैनन् ।

हालै, केन्यामा फेरि अरू तीन नेपाली जेल पुगिसकेका छन् । ‘युरोप लैजाने भन्दै नेपाली एजेन्टले यहाँ ल्याएका सुवास गुरुङ, उमानन्द गिरी र तुलचन पुन जेल परेका छन् । नक्कली भिसा र कागजातका कारण जेल परेका उनीहरूलाई जनही ५ लाख रुपैयाँ जरिवाना तोकिएको छ,’ कार्कीले भने, ‘आगामी शुक्रबारसम्म तोकिएको जरिवाना नबुझाएमा उनीहरूलाई डेढ वर्ष जेल सजाय हुनेछ।’

नेपालको कूटनीतिक सम्बन्ध नरहेको मदागास्करदेखि कंगोसम्म मानव तस्करीको सञ्जाल उत्तिकै फैलिएको छ। गतवर्ष नेपालले मदागास्करमा अलपत्र १४ नेपालीलाई अन्तर्राष्ट्रिय आप्रवासन संगठनसहितको सहयोगमा उद्धार गरेको थियो। ‘अफ्रिकी क्षेत्रमा नेपालीको उपस्थिति पातलो भए पनि यहाँ ट्रान्जिटको रूपमा नयाँ बाटो खोज्ने र नेपाली श्रमिक अलपत्र पार्ने क्रम बढेको देखिन्छ,’ नाइजेरियावासी गैरआवासीय नेपाली संघका अफ्रिका क्षेत्र संयोजक हिक्मत थापाले भने।

केन्या, तान्जानियासहितका ७ अफ्रिकी मुलुकको सहप्रमाणीकरण हेर्ने दक्षिण अफ्रिकास्थित राजदूत अरुणप्रसाद धितालका अनुसार अदक्ष नेपाली श्रमिकलाई अनेक सपना देखाउँदै अफ्रिका ल्याएर अलपत्रै छाड्ने क्रम बढेको छ । ‘यही बढ्दो मानव तस्करीको विषय उठाउन र अफ्रिका क्षेत्रीय सहयोग संयन्त्र गठन गर्न यो क्षेत्रका गैरआवासीय नेपाली संघका प्रतिनिधिहरूको एक सम्मेलन गर्न लागिएको छ,’ उनले भने। उनका अनुसार ६ महिनायता जाम्बियाले नेपालीका लागि ‘अन अराइभल भिसा’ दिन रोक लगाएको छ । अफ्रिकाका ५४ मध्ये २० भन्दा बढी मुलुकमा नेपाली छन् । तीमध्ये ११ वटामा मात्रै गैरआवासीय नेपाली संघ छ।

अफ्रिका संयोजक थापाका अनुसार युगान्डामा हजार, केन्या ४ सय, तान्जानिया २ सय, नाइजेरिया २ सय, दक्षिण अफ्रिका २ सय तथा दक्षिण सुडान, रुवान्डा, जाम्बिया, मोजाम्बिक, मरिसस, मदागास्कर, कंगोसहितका हरेक मुलुकमा सय हाराहारीमा नेपाली छन्।
(यो समाचार कान्तिपुरमा देवेन्द्र भट्टराईले लेखेका हुन्)