नेपालीको सम्मान र हितका निम्ति काम गर्नेछु: खड्कबहादुर केसी, बेल्जियन सँसदका उमेदवार

10260022_10200858055132341_2746841700401751823_nनेपालको पर्वत जिल्ला घर भै बिगत १६ वर्षदेखि बेल्जियम बसोवास गर्दै आउनुभएका  खड्कबहादुर केसी बेल्जियमको आसन्न संसदीय निर्वाचनमा फ्लेमिश ग्रुन पार्टीबाट निर्वाचन लड्दै हुनुहुन्छ | बेल्जियमको राजनीतिमा चर्चित नेपालीभाषी अनुहार केसी गत स्थानीय निर्वाचनमा समेत लुभेन नगरपालिका सदस्यको रुपमा भाग लिनु भएको थियो र सम्मानजनक मत प्राप्त गर्नुभएको थियो । बेल्जियमको भाषा र गतिबिधिबारे परिचित केसी क्याथोलीक विश्वविद्यालय अन्तर्गत भेलो कम्पनीमा कार्यरत हुनुहुन्छ| विगत ४ वर्षदेखि ग्रुन पार्टीसम्बद्ध रही कार्य गर्दै आईरहनु भएका केसी सामाजिक गतिविधिमा सक्रिय हुनुका साथै साँग्रिला समाज बेल्जियमको अध्यक्ष समेत हुनुहुन्छ| उहाँसँग निर्वाचनको सन्दर्भमा पत्रकार दीपकज्योति पौडेलले  गरेको कुराकानी:

१) बेल्जियमको संसदीय निर्वाचनको उम्मेद्वारीलाई कसरी लिनु भएको छ?

– यो आफैमा नेपाल र नेपालीप्रतिको सम्मानका लागि, नेपाल र नेपालीलाई चिनाउने सुनौलो मौकाका साथै नेपालीहरुको लागि गौरवको विषय पनि हो| यसलाई मैले यहि रुपमा लिएको छु| यो  नयाँ पिढीको लागि मार्गदर्शनको साथै नेपाली समाजको लागि महत्वको विषय पनि हो|

)निर्वाचनमा बिजयी हुनुभयो भने के गर्नु हुन्छ?

– पार्टीको एजेन्डा नै मेरा एजेन्डा हुन्| पार्टीका नीति नियमलाई पालना गर्नेमा कटिवद्ध रहने छु| दुई देश बिचको पारस्परीक सम्वन्ध र साँस्कृतिक एकता अझै दरीलो बनाउन तर्फ अग्रसर हुँदै काठमाण्डौमा बेल्जियन दूतावास खोल्न पहल गर्नेछु| सँगसँगै नेपालीहरुको हितमा सधैँ अग्रसर हुनेछु| प्रवासमा नेपाली भाषा र संस्कृतिको प्रवर्द्वनको साथै नेपालीहरुमा पर्ने विभिन्न किसिमका समस्या समाधानको साथै बिभिन्न अवसरलाई सदुपयोग गर्ने पहल गर्नेमा प्रतिवद्धता जाहेर गर्न चाहन्छु| आप्रवासीलाई पर्ने हरेक समस्यालाई सहजीकरण गर्न ब्यक्तिगत रुपमा हरसंभव प्रयास गर्ने छु|

Khadga KC2३)ग्रुन कस्तो किसिमको राजनैतिक दल हो ? यसमा मुख्य उद्वेश्य कस्ता छन ?

– यो एक प्रजातान्त्रिक समाजवादी पार्टी हो| यसका मुख्य उदेश्यहरुमा गरिबी निवारण, आम्दानीका आधारमा कर निर्धारण, प्रजातन्त्र तथा मानव अधिकारको ग्यारेन्टी, सबैको लागि समान सामाजिक अधिकार, स्वास्थ्य तथा स्वच्छ बाताबरण, बृद्वा-बृद्वको लागि बिशेष व्यवस्था, सुलभ रोजगारीको अवसर प्रदान गर्ने यसका मुख्य उदेश्य रहेका छन्| सन् २००३ बाट ग्रुनका नामले परिचित यो राजनैतिक दल आफ्ना एजेन्डाका कारण प्रत्येक चुनाबमा यसको स्थान बढ्दै गएको छ| बेल्जियम फ्लेमिश क्षेत्रमामा चौथो ठूलो राजनैतिक दलका रुपमा रहेको यो राजनैतिक दलले युरोपियन संसद, बेल्जियन संसद र संघिय संसदका साथै संघीय सरकार ब्रसेल्समा प्रतिनिधित्व गर्दै  आफ्ना यिनै एजेन्डा लागू गर्न महत्वपूर्ण भूमिका खेल्दै आईरहेको छ|

४) आप्रवासीप्रति ग्रुन पार्टीको धारणा कस्तो छ?

– बेल्जियममा रहेका राजनैतिक दलहरुमध्ये ग्रुन आप्रवासीको लागी निकै लचिलो राजनैतिक दल हो| मानव अधिकारको माग गर्दै यहाँ बसोवास गरीरहेका बिभिन्न देशका नागरिकलाई यथोचित रुपमा सम्बोधन गर्नुका साथै क्षमताका आधार भएका तथा अन्यलाई बिभिन्न तालिमका माध्यमबाट  बिना भेदभाव रोजगारीमा समान  अवसर प्रदान गरीनु पर्छ भन्ने यस पार्टीको धारणा रहेको छ| एक अर्काले भाषा र संस्कृतिको सम्मान गर्दै समाजलाई सामाजिक रुपमा आदर्श बनाउनु पर्छ भन्ने पनि यस पार्टीको उद्देश्य रहेको छ|

५ ) नेपालीहरुप्रति  यस पार्टीको मूल्यांकन कस्तो पाउनु भएको छ ?

-सबै आप्रवासी प्रति यस पार्टीको धारणा समान रहेको छ| पार्टीका कतिपय वर्तमान उम्मेदवारहरु नेपाल र नेपालीप्रति निकै निकट रहेरका छन् भने केहिले नेपालमा समेत परोपकारी कार्य गर्दै आईरहेका छन् | उनीहरुले नेपालीहरुलाई अत्यन्तै ईमान्दार र कडा मिहिनेतीको साथै समाजमा छिटै घुलमिल हुने नागरिकको रुपमा लिएको पाएको छु|

६ ) चुनावको प्रचारप्रसार कसरी गर्दै हुनुहुन्छ ?

– सबै भन्दा पहिले यो उम्मेदवारी नै प्रचारको पहिलो आधार हो| बिकसित मुलुक बेल्जियममा पार्टीका नीति, नियम र उद्दे श्य नै प्रचारका प्रमुख साधन हुन्| उद्देश्य हेरेर मत दिने बेल्जियमका नागरिकहरुको दृष्ट्रिकोण रहेको मैले पाएको छु| बेल्जियन सँचारमाध्यमले हाम्रो पार्टीलाइ राम्रो स्थान दिइरहेका छन् ।

यसै शिलशिलामा नेपाली मिडियाका साथीहरूले पनि मप्रति सद्भाव राखिदिँदा नेपाली समुदायमा राम्रो छाप परेको छ । बेल्जियमबाट संचालित इन्फोमालाका साथै नेपालको लोकप्रीय कान्तिपुर अनलाईन पत्रीकाले प्रकाशित गरेको समाचारलाई आधार मानि अन्य अनलाईन पत्रिकाले समेत मेरो उम्मेदवारीवारे समाचार प्रकाशित गरीसकेका छन | यहाँस्थित बिभिन्न सँघ-संस्थाका प्रतिनिधिहरुसँग भेटघाटका कार्यक्रम भैरहेका छन्| सबैबाट सकारात्मक सुझाब पाएको छु| यसैले परिणाम मेरो पक्षमा आउनेमा आशावादी छु|

७ ) टिकट पाउन कत्तिको गाह्रो छ? हाल क्रही संचार माध्यममा राजनीतिप्रति गरीएका टिका टिप्पणीलाइ कसरी लिनु भएको छ?

– बेल्जियममा राजनीतिलाई सामाजिक सेवाको रुपमा पनि लिने गरेको पाएको छु | निर्वाचन अगावै घोषित अवधारणा पूर्ति गर्नेमा बचनबद्ध रहने परिपाटी रहेको छ | बेल्जियमको समाजमा समाहित भै सकेको र सामाजिक गतिविधिमा सक्रिय रहेका व्यक्तिहरुबाट छनौट गर्ने गरेको मैले पाएको छु| बिगत ४ चार बर्षदेखि यस राजनैतिक दलमा आवद्ध रहेर मैले निर्वाह गरेको जिम्मेवारपूर्ण भूमिकाका साथै लुभेन नगरपालीका क्षेत्रमा नेपालीहरु आप्रवासीको गणनामा छैटौ स्थानमा रहेको कारण पनि मेरो उम्मेदवारी सहज र महत्वपूर्ण रह्यो| मेरो उम्मेदवारी राजनीतिक उद्वेश्यको साथै नेपाली समाजसँग जोडिएको छ |

अनिवार्य मतदान गर्नु पर्ने व्यवस्था रहेको बेल्जियममा जो कोहिले पनि राजनैतिक दल छनौट गर्ने अधिकार सबैमा छ| मेरो योगदान नेपाली भाषा र संस्कृतिको प्रवर्द्वनका साथै नेपालीहरुलाई पर्ने हरेक समस्याको समाधानमा सहयोग पुर्याउनेमा रहने छ| सामाजिक संजालमा मलाई  हलुका कुरा भए जस्तो लाग्दैन । यदि यदाकता भए गरेको भएमा बुझाइको कमजोरी हुनसक्छ । अनुपयुक्त वा उपयुक्त भन्नेबारे नेपाली समाजले जान्ने र बुझ्ने कुरा पनि हो| मलाई लाग्छ, सबै नेपालीहरुको सहानुभूति र सहयोग सधै मसँग रहिरहेको छ र रहिरहने छ| यो जो कोहीको लागी पनि भविष्यमा खड्किने कुरा हो|

Khadka KC 3८ ) स्थानीय चुनावमा नेपालीहरुमा विभाजन देखिएको थियो नि?

– मलाई त त्यस्तो लाग्दैन| स्थानीय निर्वाचनमा सबैको मतले मैले सम्मानजनक नजिता हासिल गरेको थिएँ|यसैको कारण आज पार्टीले पुनः मलाई उपल्लो तहको उम्मेदवार बनाएको छ| यो सबै नेपालीहरुको सहयोगको कारण संभव भएको मैले ठानेको छु|

९ ) स्थानीय निर्वाचनमा पराजित भएपछि पनि पुन संसदीय चुनावमा आशा राख्नु भयो ?कतै महत्वाकांक्षी बन्नु भएको त होईन ?

होईन, कत्ति पनि होईन | मैले पहिले पनि भनिसकेको छु- यो त नेपालीलाई चिनाउने सुनौलो मौका हो| कतिपय मलाई नचिन्ने नागरिकहरुले पनि मेरो उमेदवारको नाम सूचिमा रहेको टोपी लगाएको फोटोको कारण खड्कबहादुर केसी भन्दा पनि नेपालीभाषी उम्मेदवार रहेको भन्ने किसिमले चिनेको मैले पाएँ| यसले नेपालीहरु पनि यहाँको समाजमा समाहित हुन् चाहन्छन भन्ने संदेश दिन्छ|यो महत्वकांक्षा नभएर नेपाल र नेपालीको लागि गौरवको कुरा हो|

१० )अहिले पनि कतिपय नेपालीहरुले नेपालको राजनीतिसँग जोडेर हेर्ने गरेको देखिन्छ नि ?

– नेपालमा राजनैतिक स्थायीत्वको लागि यहाँबाट चिन्ता जनाउनु आफैमा सकारात्मक कुरा हो तर त्यसको प्रभाव यहाँ परेको छ भन्ने लाग्दैन| बेल्जियमको निर्वाचन प्रणाली अनुसार अनिवार्य मतदान गर्नु पर्ने भएकोले कुनै न कुनै राजनीतिक दललाई त छनौट गर्नु नै पर्ने हुन्छ| अहिलेको अवस्थामा नेपालीभाषीहरु राजनैतिक रुपले उपल्लो स्तरमा पुग्न सकेका छैनन्| राजनैतिक प्रभाव जुनसुकै कारणले रहे पनि भविष्यमा माथिल्लो स्तरसम्म नेपाली  पुग्नको लागि सबैको सहयोग र सद्भावको खाँचो पर्छ| मेरो प्रयास त्यसको लागि जग पनि हो ।

११) अन्त्यमा केहि भन्नु छ की ?

– सर्वप्रथम मेरा मेरो विचार व्यक्त गर्ने अवसर  दिनुभएकोमा  धन्यवाद | तपाईँहरुको सहयोग र सद्भावको कदर गर्न चाहन्छु| यसलाई मैले मेरो व्यक्तिगत उद्वेश्य भन्दा ज्यादा नेपाल र नेपालीको गौरवको रुपमा लिएको छु| बेल्जियमस्थित सम्पूर्ण नेपाली दाज्युभाई तथा दिदीबहिनीहरुले आ-आफ्नो ठाउँबाट सहयोग गर्नुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु |