नाकामा अघोषित नाकाबन्दी हटाइने र आवतजावत सहज हुने

गत दुई सातादेखि नेपाल भारत नाकामा देखिएको अघोषित नाकाबन्दी हटाउने संकेत भारतले देखाएको छ । भारतीय विदेश मन्त्रालयले शनिबार अघोषित नाकाबन्दी खुलाउन आफ्नो संयन्त्रलाई आवश्यक निर्देशन दिइसकेको छ। वीरगंज नाका सहज हुन अरु केहि दिन लागेपनि अन्य नाका भोलिदेखिनै सहज हुने बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयको ‘सहजीकरण’ पछि विदेश मन्त्रालयले सम्बन्धित भारतीय निकायहरुलाई नेपाल-भारत सीमा नाकाहरूमा आफ्नो तर्फबाट स्थिति सहज पार्न भनिसकेको अनौपचारिक जानकारी पाएको परराष्ट्रका एक उच्च अधिकारीले बताएका छन् ।

Oil_tankers-in-boarder-as_india_blockनाकाबन्दीले नेपालमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आपूर्तिमा असर परेको छ। भारतीय आयल निगम(आइओसी)ले सोमबारबाट नेपाल आयल निगमले मागेजति पेट्रोलियम दिने प्रतिवद्धता जनाएर अघोषित नाकाबन्दीबाट फिर्ता हुन लागेको संकेत दिएको हो। केन्द्र सरकारको आदेश भन्दै आइओसीले नेपाल आयल निगमलाई तेल दिन रोकेपछि अहिले राजधानी काठमाडौँ लगायतका प्रमुख सहरको सडकमा सवारी साधन कम गुडेका छन्।

भारतको विदेश मन्त्रालयका उच्च अधिकारीहरुले शुक्रबार नै अघोषित नाकाबन्दी खुकुलो गर्न आफ्ना निकायहरुलाई मौखिक निर्देशन दिइसकेका छन्। भारतीय संस्थापन पक्षले मधेशका आन्दोलनरत दलहरुलाई पनि वार्तामा बस्न सुझाव दिएको उच्च स्रोतले जनाएको छ।

तराई मधेशमा आन्दोलन गरिरहेका दलहरुको तर्फबाट तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई सरकारी पक्षसँग वार्ता गर्ने जिम्मा दिइएको छ। त्यही अनुसार उनी काठमाडौँमा बसी ‍अनौपचारिक वार्ताको संयोजन गरिरहेका छन्।