‘नमेटिएका चित्रहरू’ लाई उत्तम शान्ति पुरस्कार

नेपाली साहित्यिक पत्रकारिताको इतिहासमा ‘शारदा’ साहित्यिक पत्रिकापछि ‘रूपरेखा’को प्रकाशन निकै चर्चित रह्यो। उत्तम कुँवरको सम्पादनमा निस्केको स्तरीय साहित्यिक पत्रिका जोगाउन शान्ति कुँवरले पनि संघर्ष गरेकै हुन्।

दुवै जना बिते, अब छोरी अनामिकाले उत्तम कुँवर स्मारक पुरस्कार गुठीको संरक्षक रहेर ‘उत्तम शान्ति पुरस्कार’को नियमितताका लागि सक्दो समय दिएर योगदान गर्दै छिन्। भर्खरै मात्र काठमाडौंमा ‘उत्तम शान्ति पुरस्कार’ले कवि तथा नियात्राकार दामोदर पुडासैनी ‘किशोर’लाई रु. ३०,००१।– नगदसहित सम्मानपत्र दिएर सम्मान गरियो। कवि नयनराज पाण्डेको उद्घोषणमा शुरु भएको उक्त कार्यक्रमको सभापतित्व गुठीका अध्यक्ष पार्थिवेश्वर तिमल्सिनाले गरे।
Uttam shanti puraskar
नमेटिएका चित्रहरू’ नियात्रामा दामोदर पुरस्कृत भएको उक्त कार्यक्रममा समालोचक राजेन्द्र सुवेदीले नियात्राकारका नियात्रा लेखाइ अत्यन्त प्रखर र सुन्दर रहेको चर्चा गरे।

यसै गरी समालोचक ठाकुर पराजुलीले दामोदर पुडासैनीका गद्यलेखनमा आफ्नै पन छ र उनी स्थापित नियात्राकार रहेको टिप्पणीसमेत गरे। पुरस्कार प्राप्त गरेपछि दामोदरले ऊर्जा थपिदिएकोमा गुठीलाई आभार प्रकट गर्दै यात्रामा साहित्य टिप्न मन लाग्छ, म जहाँ पुग्छु यात्रामार्फत् साहित्य टिप्छु भन्दै ‘नमेटिएका चित्रहरू’ को लेखन सम्बन्धमा आफ्नो विचार प्रकट गरे। २०४४ सालदेखि स्थापित यो पुरस्कार २७ वर्षदेखि निरन्तर प्रदान गरिँदै छ र यो पुरस्कार निबन्ध विधामा प्रदान गरिँदै आएको उत्कृष्ट पुरस्कार पनि मानिन्छ।