नक्कली हिसिला र बाबुराम मालामाल

hisila nakkaliचर्चित हास्य टेलिशृंखला ‘तीतो सत्य’मा हिसिला यमी र बाबुराम भट्टराईको झैँ हाउभाउ, गेटअप र लबजमा अभिनय गर्ने दुइ कलाकारको चर्चा चुलिएको छ । तीतो सत्यमा नक्कली बाबुराम भट्टराई बन्ने ज्योति काफ्ले हुन भने उनीसँग अभिनय गर्ने नक्कली हिसिला हुन्- विपना बस्नेत ।

खासमा विपना ब्युटिसियन हुन् । ब्युटिपार्लर सञ्चालन गर्दागर्दै कसोकसो उनी फिल्ममा हेयर ड्रेसरका रूपमा आबद्ध हुन पुगिन् । हेयर ड्रेसर हुँदै मेकअपको काम पनि सम्हाल्ने गरेकी उनी अहिले ‘सेलिब्रेटी’ बनेकी छिन् , हिसिलाको अभिनयले। विशेषगरी, टेलिभिजनका दर्शकमा उनले आफ्नो बेग्लै शैली र पहिचान प्रस्तुत गरेकी छिन् ।
हेयर ड्रेसिङ तथा मेकअप आर्टिस्टको जिम्मेवारी वहन गर्ने क्रममा केही चलचित्रमा फाट्टफुट्ट अभिनय समेत गर्दै आइरहेकी भए पनि विपनाले अभिनय गरेर यसरी चर्चित र ‘डिमान्डेड’ हुने दिन आउला भन्ने कल्पनासम्म पनि गरेकी थिइनन् रे । ‘ममा सानैदेखि अभिनयप्रति रुचि त थियो, तर अभिनय गरेर यत्तिको चर्चित हुँला भन्नेचाहिँ कल्पनासम्म पनि गरेकी थिइनँ,’ विपना भन्छिन् ।
तीतो सत्यका निर्देशक तथा कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौला ०६९ को फागुनमा भ्यालेन्टाइन्स डेको स्पेसल एपिसोड तयार गर्ने योजनामा थिए । जसका लागि उनीहरू नक्कली डा. बाबुरामकी पत्नीको भूमिका निर्वाह गर्न सक्ने, उस्तै सक्कल भएकी महिलाको खोजीमा थिए । सोही क्रममा भेटिएकी हुन्– विपना । दीपक र दीपाले नक्कली हिसिला बनाउन सम्भावित चार महिला छानेका थिए । तर, भाग्यले विपनालाई साथ दियो ।
चर्चित नक्कली हिसिलाका बारेमा सक्कली हिसिला के सोच्दी होलिन् ? एक दिन सक्कली हिसिलाले नक्कली  हिसिलालाइ फोन गरिछन् र भेट्न चाहिछन् । उनले नक्कली बाबुरामलाइ पनि सँगै ल्याउन भनिछन् । विपना भन्छिन्- ‘हिसिला यमी रिसाइनन् । राम्रो व्यवहार गरिन् । उनका टि भी अन्तर्वार्ता हेर्न सुझाव दिइन् ।’