दिल्लीमा चकचके भाइ र महान जोश

prachanda1प्रचण्डको छिमेक भ्रमणले नेपाली राजनीति र संचार जगतमा जोडले छाल ल्याइदिएको छ । छिमेकी नेताहरूमा उनले कति छाप राखेका होलान् भन्ने कुरालाई थाँति राखेर हेर्ने हो भने देशभित्र उनले प्रशस्त हल्लाखल्ला र चर्चा पाएका छन् । नेपालभित्रको गोर्खे राजनीतिक वातावरणमा पुनः एक पटक प्रचण्डले ‘शिर्ष राजनीतिक व्यक्तित्व’ को छवी उजागर गरेका छन् । परन्तु, भिमकाय छिमेकको कुटनीतिक सन्देशहरूलाई अध्ययन गर्दा प्रचण्डको कुटनीति ‘हावा भरिएको बेलून’ जस्तो प्रष्ट देखिन्छ ।
भारत भ्रमणको उषामा प्रचण्ड भ्रमणले देशभित्र प्रशस्त ध्यान खिँच्न सफल भएको छ । प्रचण्डले आफूलाई ‘राष्ट्रको प्रतिनिधि’ भनेर हैसियत उकास्ने काम गरेका छन्, मानौं की उनी सरकार वा राष्ट्र प्रमुख हुन् । आफूलाई भावी राष्ट्रपतिको रूपमा प्रस्तुत गरेर प्रचण्डले अर्को चलाखी गरेका छन् । प्रचण्डका कुरै चर्का ।
अर्को हल्ला उनले पिटेका छन्- भारत र चिनसँग आर्थिक सहयोगको निम्ति ठुलै कसरत भइरहेको छ । प्रचण्डलाई कवि भूपि शेरचन अत्यन्त मनपर्छ । भूपिको कविता निकै मन पराउँछन्- ‘नेपाल हल्लै हल्लाको देश हो ।‘
अब, नेपालको गोर्खे राजनीतिलाई पन्छाएर हेरौं ।
जति कुरा गरे पनि नेपालमा भारत र चीनको एक नम्बरको चासो भनेको सुरक्षा हो । भारत र चीनलाई देश टुक्राउने तत्वहरूले नेपालमा खेल्ने मौका नपाउन् भन्ने चिन्ता छ । सुरक्षा चासोलाई केन्द्रमा राखेर भारतिय र चिनियाहरू आफ्नो कुटनीति चलाउँछन् । यता, नेपाली नेताहरूको केन्द्रीय चासो हुन्छ- कसरी सत्तामा पुग्ने, अर्थात् व्यक्तिगत प्राप्ती ।
यो कुरालाई नेपाली पत्रकारहरूको एउटा टोली दिल्लीमै रहेको बेला भारतिय विदेश मन्त्रालयका कर्मचारीले प्रष्टै भने । नेपालका प्रधानमन्त्रीहरूमा बिपी कोइराला, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीबाहेक अरु कुनै पनि प्रधानमन्त्रीले नेपालको हितमा भारतसँग बातचित नगरेको मान्यता तिनको छ । राजतन्त्रको अन्त्यपछि खासगरी २०४६ यताका प्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, माधव नेपाल, प्रचण्ड र बाबुराम भट्टराईको चरित्र चित्रण हो त्यो । यो घानमा राष्ट्रपति रामवरण यादव पनि होलान् । कति लज्जास्पद छ यो खुलासा !
यही सन्दर्भ केलाउँदा प्रचण्डको मुख्य चासो पनि आफैलाई राजनीतिक रुपमा स्थापित गर्नु र भोलि नेपालमा निर्वाचित नेता बन्न सहयोग पुगोस भन्ने लबिङ् नै हो । फल पाएमा विश्वासपात्र भइ काम गर्नेछु भनी कबोल गर्ने ‘सिद्राको ब्यापार’ हो यो ।
नेपालको राजनीतिक परिवर्तनमा हात नहाल्ने तर नेपालको स्थिरता एवं स्थायीत्वप्रति चासो राख्ने चीनिया कुटनीति उसको सुरक्षा स्वार्थ तिब्बतसँग गाँसिएको छ । त्यसैले चीनले नेपालमा कम्युनिष्टलाई भन्दा राजाहरूलाई विश्वासिलो देखेको हो । राजतन्त्रको अवसान भएको अवस्थामा यहाँका दलहरूसँग व्यवहार गर्नुपरेको छ । यसै सन्दर्भमा प्रचण्ड लगायतका नेताहरूलाई चीनले भ्रमणको निम्तो दिने र खातिरदारी गर्ने गरेको छ । कम बोल्ने चिनियाहरूले प्रचण्डलाई नेपालमा मौलाएको जातिय राजनीति र जातिय सँघियताको चर्चाबारे सतर्कतापूर्वक चासो र चिन्ता राखे । तर कुटनीतिक भाषा कम बुझेर हो वा महत्वाकांक्षाले निर्वाचित राष्ट्रपति ( शक्तिशाली कार्यकारी राष्ट्रपति) भए चीन सुरक्षित रहने छ भन्ने तर्क दिएर ‘कन्भिन्स’ गरेको बताए प्रचण्डले । चिनियाहरूले हल्का रूपमा त्यो चिन्ता उठाएका होलान् ? र प्रचण्डका तर्क सुनेर तिनको मन शान्त भयो भन्ने विश्वास लिउँ ?
नेपालको राजनीतिक परिवर्तनहरूमा हात जुठ्याइरहने भारतसँग प्रचण्डको ‘कुटनीति’ मुलुकका लागि नभएर आफ्नै लागि हो भन्ने स्पष्ट भइसकेको छ । खासमा, सन् २००२ मा बाबुराम भट्टराईसँग मिलेर भारतलाई बुझाएको पत्रको पृष्ठभूमिमा ‘भारतको स्वार्थबाहिर केही नगर्ने’ भन्ने प्रचण्डले देशको प्रतिनिधित्व गर्ने नैतिकता समेत गुमाइसकेका छन् ।
बेलाबखत चीनसँग नजिक हुन उनले चालेका कदमहरूको बारेका ‘चकचके भाइ’ लाई भारतियहरूले सावधान गराउन सक्छन् र यसपटकको दिल्ली भ्रमणमा उनको काँधमा थप सर्तहरु थमाइदिन सक्छन् । बदलामा, आफूलाई राष्ट्रपति बन्ने बाटोमा प्रभूको सहयोगी हात पाइयोस भन्ने प्रचण्डको माग हुन सक्छ ।
भनिन्छ, थुप्रै नेपाली नेताहरूलाई प्रचण्डले उधारोमा पद बाँडेका थिए, आफ्नो स्वार्थका लागि । त्यसैगरि, भारतले पनि नेपाली नेताहरूलाई प्रशस्त आश्वासन बाँड्छ भन्ने चर्चा चल्छ । स्वभावतः प्रचण्डले पनि आशिर्वाद पाउनेछन् । र, दिल्लीले काँधमा थमाइदिएका शर्तहरू पुरा गर्ने ‘महान जोश’ का साथ स्वदेश फर्कनेछन् ।