दस वर्षमा करोड नेपाली विदेश

अहिले युवाहरुको पहिलो रोजगारीको छनोट बनेको छ, विदेश। ६२–६३ को जनान्दोलनपछि रोजगारीको लागि विदेशिने क्रम ह्वात्तै बढेको देखिन्छ, मानौं ६२–६३ को विसाल परिवर्तनको जनान्दोलन रोजगारीको लागि विदेश जान पाउँ भन्न मात्र भयो, जसपछि विगत ७ वर्षमा आधिकारिक रुपमा २४ लाख नेपाली विदेशिएका छन्।
वार्षिक ४ लाख युवा नेपाली श्रम बजारमा प्रवेश गर्ने भनिन्छ तर गत वर्षमात्र लगभग भारतबाहेक ४ लाख ५० हजार नेपाली रोजगारीको लागि विदेशिएको तथ्यांक छ। यस अर्थमा पनि के भन्न सकिन्छ भने अब नेपाली श्रम बजारमा प्रवेश गर्ने युवा शक्ति रोजगारीका लागि विदेशिन थालेका छन्।
Nepali_women-migrant-workerवैदेशिक रोजगारी युवाहरुको अन्तिम विकल्प हुनुपर्थ्यो तर विडम्बना नेपालमा कुनै अवसरको खोजिबिनै विदेशिने क्रम सुरु भएको छ। साथीभाइ विदेश गएको देखेर जागिर खान विदेश जानुपर्ने रहेछ भन्ने मानसिकता देखिन थालेको छ। यसरी नेपालमा रोजगारीको अवसर नै नखोजी वा आफै स्वरोजगार नभई पहिलो प्राथमिकता नै विदेश जानु हुँदा विदेशिनु बाध्यता नभई विदेशिने लहर चलेको भन्न सकिन्छ।
विदेशिने नेपालीको संख्या भारी रुपमा बृद्धि हुँदै जानुको अर्को कारण नेपालमा कामको सम्मान नहुनु पनि हो। हामी विदेश गएर जेजस्तो काम गर्न पनि तयार हुन्छौं तर त्यही काम देशमै बसेर गर्नुपर्यो भने हामीलाई लाज हुन्छ, कारण अरु देशमा सबै पेसालाई समान रुपमा हेरिन्छ तर हाम्रो देशमा सबै पेसालाई हेरिँदैन।
हुन त वैदेशिक रोजगारीको सकारात्मक पाटो पनि देखिएका छन्। वैदेशिक रोजगारीको अवसर नभएको भए सायद आज नेपालमा जागिरको लागि द्वन्द्व नै चल्थ्यो होला। वैदेशिक रोजगारीले गर्दा नै ग्रामीण क्षेत्रको जनताको जीवनस्तर सुधार्न उल्लेख्य सहयोग गरेको, देशमा गरिबी घट्दै जानुको प्रमुख कारण बिप्रेसण नै भएका तथ्यहरु सार्वजनिक भएका छन्।
लगभग देशको कुल बजेट बराबर नै देशमा बिप्रेसण भित्रनु पुग्न खोज्नु यो सुखद पक्ष हो तर देशको कुल बजेट बराबर नै देशलाई व्यापार घाटा छ भन्ने तथ्यले जो कसैको मन खिन्न हुन्छ। त्यसैले नेपालीले खाडी मुलुकमा पसिना बगाएर पठाएको पैसा फेरि विदेशबाट आयातीत बस्तुमै खर्च गरी फेरि
उतै पठाइन्छ भने बिप्रेसणको बढ्दो अंकमा गर्व गर्नुको कुनै औचित्य हुने छैन।
योसँगै वैदेशिक रोजगारीको नकारात्मक पाटो धेरै देखिन थालेका छन्। आज गाउँघर युवाबिहीन हुँदै छ। खेती गर्ने मान्छे पाइन छाडिसक्यो, जसले गर्दा १ दिनको मेलोलाई २–४ दिन लगाएर सक्नुपर्ने अवस्था छ। धान रोप्ने खेत बाँझो बसेको चैँ मैले अहिलेसम्म देखेको छैन तर गाउघरमा धेरै कोदे, मकैबारी घाँसेमैदानमा परिणत हुँदै गरेको देखेको छु। न फेरि त्यो घाँसको नै प्रयोग गरिएको छ।
त्यसैले होला यो समयमा देशले वार्षिक १ खर्बभन्दा बढीको त कृषिजन्य सामानमात्र आयात गर्नुपर्ने अवस्था सिर्जना भएको छ कि कुनै बेला कृषिजन्य उत्पादन प्रसस्त मात्रामा निर्यात हुन्थ्यो। ६६ प्रतिशत नेपालीको मुख्य पेसा कृषि भनिने हाम्रो कृषिप्रधान देशको लागि यो भन्दा ठूलो विडम्बना अरु के नै हुन सक्ला र, तर ४–५ प्रतिशत जनतामात्र कृषि पेशामा निर्भर भएका कतिपय देशहरुले आफ्नो देशको आवश्यकता पूरा गरी निर्यात समेत गर्न सफल हुँदा रहेछन्।
तर के माछा, मासु र अन्य कृषि उत्पादनमा हामी आत्मनिर्भर बन्न सक्दैनौ त? नसक्ने भन्ने केही छैन। आत्मनिर्भर मात्र हैन हामी अर्बौको निर्यात पनि गर्ने सक्ने क्षमता राख्न सक्छौ। हाम्रो देशमा घाँसे मैदानको कमी छैन, खेतीयोग्य जमिन प्रसस्त मात्रामा छ। यति मात्र हो हामीले गरेका छैनौ। आज धेरै नेपाली विदेश गएर पनि कृषि पेसा नै अँगालेका छन्। नेपालीको लागि रोजगारीको आकर्षक गन्तव्य मानिएको कोरियामा पनि नेपालीले गर्ने मुख्य काम कृषि नै हो। खाडी मुलुकमा जानेहरुले पनि मरुभुमिमा तरकारीखेती गरिरहेको, भेडाबाख्रा पालिरहेको समाचार धेरै पढियो। त्यही पनि भनेको बेलामा तलब नपाउने, खानेबस्नेको टुंगो नहुने र आफ्नो देश, समाज, घरपरिवारबाट टाढा बस्नुको पीडा त छँदै छ र कतिले त विदेश गएर जेलजीवन बिताउनुपरेको छ। नेपालको परिचय नै कृषिप्रधान देशबाट सुरु हुने भएकाले नेपालमा रोजगारीको पहिलो क्षेत्र कृषि नै हो भन्नेमा दुई मत नहोला तर अहिलेसम्म पनि हाम्रो समाजमा पढेलेखेको मान्छे यस पेसामा लाग्नु हुँदैन भन्ने मानसिकता छ।
अब पढेनलेखेका नया युवा पिँढी त अब कमै मात्र होलान्। अब उनीहरुले पढेको छु भन्दै कृषि पेसा नगर्ने हो भने के हाम्रो खेतीयोग्य जमिन बाँझो राखेर– डाँडापाखाका घाँस खेर फाली अर्बौको खाद्यान्न मात्र आयात गरिरहने? यस बिषयमा अब राज्यले गम्भीर रुममा सोच्नुपर्ने बेला आएको छ। कृषि क्षेत्रको आधुनिक विकासको लागि शिक्षित युवा नै यस पेसामा नलागी हुँदैन किनकि उनीहरु अहिलेको नयाँ प्रविधिसँग जानकार हुन्छन्, इन्टरनेट मार्फतबाटै आधुनिक कृषि प्रणालीको अध्ययन गर्न सक्छन्, बाली, पशुमा कुनै रोग देखा परे इन्टरनेटको माध्यमबाट नै ती रोगको पहिचान गरी तुरुन्तै समाधान खोज्न सक्छन्, बजारको ब्यबस्था गर्न सक्छन्। राज्य पनि कृषि विकासको लागि गम्भीर नभएको देखिन्छ। सरकारले अघिल्लो आर्थिक वर्षमा कृषि बीमा गर्ने घोषणा गर्यो जुन अति आवश्यक छ तर अघिल्लो आर्थिक वर्षमा सरकारले बीमा अनुदानका लागि छुट्टयाइएको २ करोड खर्च हुन् सकेको रहेनछ। कृषि विकासको लागि छुट्टाएको अरु करोडौं पैसा समयमै खर्च हुन नसकेर बसेको छ। यसो हुनुमा म राजनीतिक सरकार मात्र हैन, निजामती सरकारलाई पनि उतिकै दोषी देख्छु। यदि सबै सरकारी कर्मचारी देश र जनता प्रति जिम्मेवार भएर उपलब्ध आर्थिक स्रोतलाई समयमा पारदर्शी ढंगले सही ठाउँमा सही कामको लागि खर्च गरिदिने हो भनेमात्र पनि देशको कृषि विकासमा राम्रो टेवा पुग्ने थियो र देशमै लाखौं रोजगारी सिर्जना हुँदै जाने थियो। तर अहिले सरकारमात्र धेरैभन्दा धेरै युवाको हातमा राहदानी राख्देर राजस्व असुल्न मात्र त्तपर छ। उद्योग क्षेत्रको विकासका लागि पनि पहिला कृषिकै विकास हुनुपर्यो नि। आज नेपालमा खुलेका धेरै उद्योगहरुले भारतबाट कच्चा पदार्थ आयात गरी यहाँ प्रशोधनमात्र गरेर बेचिरहेका छन् जसको कुनै औचित्य छैन। अब सरकारले शिक्षित युवालाई कृषि पेसामा आकर्षण गर्न सक्नुपर्छ। ब्यवसायिक कृषिखेतीमा लाग्ने किसानको पहिचान गरी उनीहरुलाई पनि सरकारले सामाजिक सुरक्षा प्रदान गर्ने, आधुनिक कृषि औजार किन्न अनुदान दिने, सहुलियतमा कृषिऋण उपलब्ध गराउने कामलाई तीव्रता दिने,किसानको उत्पादित सामानको भण्डारीकरणमा पनि सरकारले नै सघाउनुपर्छ जुन काम सरकारले सजिलै त्तकाल गर्न सक्छ। बजार मूल्य र किसानले पाउने मूल्यबीच रहेको भारी अन्तरको अन्त्य गर्न सकियो भनेमात्र पनि अरु धेरै कृषि पेसामा लाग्ने र अहिले कृषिखेती गरिरहेकाहरुले पनि आफ्नो उत्पादन क्षमता बढाउँदै लाने पक्का छ। यति यसो गर्न नसकेमा सबैलेल बिचौलियाको काम गर्न खोज्छन् र नसक्ने विदेश जान्छन् अनि उत्पादन कसले गर्ने? सरकारले कति नेपालीलाई रोजगारीको लागि विदेश पठाउने हो त भनेर स्पस्ट खाका बनाउन ढिला भइसक्यो। हैन भने विदेशिने यही बृद्धिदर जारी रहने हो भने त अबको १० वर्षभित्रमा १ करोड नेपाली विदेशिने छन् अनि नेपालमा श्रम संकट उत्पन हुने छ, गाउँघरतिर बृद्ध बुढाबुढी र भुराभुरीबाहेक कोही हुने छैनन्। कृषि पेसामा श्रम संकट त अहिलेबाट देखिन थालिसकेको छ।
अहिले त्तकालै त विदेशिने क्रम ह्वात्तै रोक्न नसकिएला तर जसरी विदेशिनेको संख्या बृद्धि भइरहेको छ, यो बृद्धि क्रमलाई अब रोक्न सक्नुपर्छ। युवाबिना देशको विकास नहुने हुँदा सम्बन्धित निकायको यसतर्फ ध्यान जरुरी भएको छ। हामी युवाहरुले पनि कामलाई सानोठूलो नभनी अरुको देशमा गरिने श्रमलाई आफ्नै देशमा गर्नुपर्छ।

– भुवन थापा